भदौ ५, बेलका । उदयपुर क्षेत्र नं १ बाट पटक पटक सांसद जितेका र हाल परराष्ट्रमन्त्री रहेका डा. नारायण खड्कालाई स्वागत गर्न स्कुलका साना साना बालबालिकालाई घण्टौँ लाईनमा उभ्याएको पाईएको छ ।
उदयपुरको बेलका ५ मा नवनिर्मित एक पुलको उद्घाटन गर्न पुगेका मन्त्री खड्काको स्वागतमा १० वर्ष मुनिका बालबालिकालाई बाल अधिकार उलंघन हुने गरी प्रयोग गरिएको हो ।
मन्त्री खड्का अझ कार्यक्रममा ढिलो पुगेपछि बालबालिकालाई टन्टलापुर घाममा घण्टौँ सम्म असिन पसिन हुने गरी उभ्याईएको थियो ।
जनहसभागीता कम देखिएपछि काँग्रेसका स्थानीय कार्यकर्ताले स्कुलबाट बिद्यार्थी भेला पार्न लगाएका थिए ।

पुल उद्घाटन गर्दा ती बालबालिका देख्दा पनि मन्त्रीले उनीहरुको बारेमा दुई शब्द नखर्चिएको एक सहभागीले बताए ।
पटक पटक चुनाव जितेका मन्त्री खड्का यस पटक पनि उदयपुर १ बाट चुनाव अन्तिम पटक भन्दै लड्ने तयारी गर्दैछन् । तर उनीसँग यस पटक काँग्रेस भित्रका नेता कार्यकर्ता नै असन्तुष्ट रहेको बुझिएको छ ।
