साउन २६, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर भूमाफिया इन्द्र कुमार चाम्लिङले सरकारी जग्गा हडपेर बनाएको संरचना भत्काउने तयारी गरेका छन् । यसअघि नै चाम्लिङले सरकारी जग्गा हडपेर बनाएका संरचना भत्काउने प्रयास गरेपनि पूर्व मेयर विद्यासुन्दर शाक्यका कारण भत्काउन सकिएको थिएन । उक्त सरकारी जग्गामा बनेका संरचना हटाएर सरकारकै नाममा जग्गा फिर्ता ल्याउनुपर्ने भन्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पहल गरिरहेका थिए ।
चाम्लिङले सार्वजनिक जग्गा हडपेर संरचना बनाई मासिक ५ लाख बढी भाडा खाइरहेको छन् । भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा हडपेर ५ ७ वटा घर तथा टहरा निर्माण गरेका छन् । सार्वजनिक जग्गा हडपेर बनाएको संरचनामा मोटरसाइकल ग्यारेजदेखि मःम पसलसम्मलाई भाडामा दिएर लाखौं भाडा खाइरहेका छन् ।
यस्तै देवीनगरस्थित रुद्रमति स्कुलको जग्गा हडपेर मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ युवराजले कम्पाउण्ड तथा दुईवटा सटर हालेका छन् । उनले सरकारी जग्गामा सटर हालेर भाडा खाइरहेको गुनासो आएपछि मन्त्री श्रेष्ठ उक्त स्कुलको जग्गा फिर्ता ल्याउने अभियानमा लागेका छन् ।
यसैक्रममा मन्त्री श्रेष्ठले मेयर शाहसँग उक्त सार्वजनिक जग्गामा बनेका संरचना हटाउने बारे छलफल समेत गरेका छन् । तर मेयर शाहले उक्त संरचना हटाउन सक्ला या नसक्ला यसै भन्न सकिने अवस्था भने नभएको सरोकारवालाको भनाई छ ।
यसअघि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले सार्वजनकि जग्गामा सम्झौता र नक्सापास स्वीकृत बेगर बनाएको संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएर फर्किएको भोलीपल्ट नै नयाँ सम्झौता गर्दै आफ्नै अडानबाट मेयर शाह पछि हटेका थिए । सर्वोच्च अदालतले समेत नर्भिकले बनाएको संरचना तत्काल नहटाउन आदेश दिएको छ ।
भूमाफिया हडपेको सार्वजनिक जग्गा सरकारको नाममा नै फिर्ता ल्याउने अभियान नै चलाएका मन्त्री श्रेष्ठले भने पछिल्लो समय मेयर शाहसँग को सहकार्यमा काम गर्न खोजीरहेका छन् । पूर्व मेयर विद्याशुन्दर शाक्यको असहयोगका कारण इन्द्र कुमार चाम्लिङले हडपेको सरकारी जग्गामा बनेको संरचना हटाउन नसकिएकोमा अब मेयर शाहले संरचना हटाउछन् या हटाउदैनन् भन्ने हेर्न बाकीँ नै छ ।
आज पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाहबीच चाँडै भूमाफिया इन्द्र चाम्लिङ, युवराज प्रसाई, अष्टमान महर्जनलगायतले हडपेको जग्गामा डोजर चलाउने सहमति भने भएको बताईएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार समेत उक्त भेटमा सहभागी थिए ।