बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा बचतकर्ताहरु धरानका मेयर हर्क साम्पाङ विरुद्ध आक्रोशित बनेका छन् ।
छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्दै जङिगएको भन्दै पीडितहरु आक्रोशित बनेका हुन् । मेयर सामपाङ बिरुद्ध नाराबाजी गर्दै उनको कार्यकक्षमा पीडितहरुले तोडफोड समेत गरेका छन् ।
वार्तामा बसेका पीडितहरुको प्रतिनिधिले मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी बाहिर दिएपछि आक्रोशित पीडितहरुको समुह मेयरको कार्यकक्षमा पुगेका थिए ।
पीडितहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए ।
‘आफुखुशी सहकारीमा नियम विपरित पैसा राखेर नगरसरकारलाई हेप्ने, अधिकृत स्तरका कर्मचारीलाई दैनिक हप्काउदैं तोडफोड गर्नेलाई पख् ’ भनेर उनले स्टाटस लेखेका छन् । उनले हर्क साम्पाङ ए रिभोलुसन पेजबाट आइतबारेको घटनाको भिडियोसमेत पोष्ट गदैं पीडितको पक्षमा उभिदा, छानबिन प्रक्रिया अगाडि बढाउँदै सबै प्रक्रिया विथोल्ने र मेरो कार्यालय तोडफोड गर्नेलाई के भन्नु हुन्छ ? अव पीडितले न्याय पाउँलान त ? भनेर प्रश्न गरेका छन् ।
उनले उक्त घटना राजनीतिक षड्यन्त्र भएको बताएका छन् । उनले आन्दोलनलाई उक्साउने, तोडफोड गर्ने समुह कुनै न कुनै दलका कार्यकर्ता भएको आरोप समेत लगाए । उनले फेसबुकमा बराह पीडितलाई उचालेर तोडपलोडको अगुवाई गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई धराने जनाताको करोडौं सलाम भनेर व्यङ्गयात्मक अभिव्यक्ति पनि दिएका छन् ।
बराह ग्रुपअन्तर्गत सबै कम्पनी तथा फर्मको नाममा रहेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले निर्णय गरेको छ । धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा आइतबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यदलको बैठकले बराहको सबै सम्पत्ति रोक्का गर्नका लागि सोमबार पत्राचार गर्ने गरी निर्णय भएको उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए ।