जदौं” शब्दको व्याख्या विभिन्न दृष्टिकोणले गरेको पाईन्छ । “जदौं” शब्द अभिवादनमा प्रयोग हुने नेपाली झर्रो एवम् टर्रो शब्द हो । “जदौं” शब्द जति झर्रो वा टर्रो भएतापनि सुदूरपश्चिम प्रदेश ( मानसखण्ड ) मा बसोबास गर्ने योगी सन्यासी जातिहरुको अभिवादन गर्ने प्रचलित चलनचल्तिको शब्द हो । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने हरेक योगी सन्यासीहरुले आफ्नो सम्प्रदाय बीचमा भेटघाट हुँदा वा बिदाई हुँदा जदौं शब्द नै प्रयोग गर्दछन ।पारिवारिक भेटघाट वा छुट्टिदा वा नजिकको स्वजातीय नाता गोता तथा इप्टमित्र बीच ढोग तथा अभिवादन गर्ने शब्द नै “जदौं” हो । जदौं, नमस्कार, अभिवादन, पाउलागि वा शिर निहुराएर ढोग गरेझै परिवार नाता कुटुम्ब, वृद्ध, आमाबुवालाई अभिवादन गरिने शब्द हो ।“जदौं” शब्द योगी सन्यासी जातिहरुमा ढोग गर्न, अभिवादन गर्न, दर्शन गर्न प्रयोग गरिने संस्कार र संस्कृतिको रुपमा स्थापित भइसकेको शब्दावली हो ।
नेपाल विभिन्न जातजातिको फुलबारी हो भन्ने कुरा पछिल्लो तथ्याङ्क अनुसार नेपालमा १२५जातजाति र १३१ भाषाभाषी संख्या रहेकोबाट स्पष्ट हुन्छ। मुलुक भित्रको धार्मिक, सास्कृतिक, जातीय र भाषिक विविधता राष्ट्रका गहना र सम्पत्ति हुन । नेपाली संस्कृतिले संसारलाई चिनाउने परिवेशमा स्वदेश भित्र नै आफ्नो विविधता चिन्न नसकेका उदाहरण प्रशस्त छन् । विशेष गरी कलम चलाउने र सार्वजनिक क्षेत्रमा कामकाज गर्नेहरुले देशको विविधताको चिन्तन मनन नगर्दा एक जातिलाई सम्मान गरेको शब्दले अर्को जातिको लागि अपमान हुन पुग्दछ। नेपाली साहित्यमा विविधता सम्मान हुने गरी साहित्य सिर्जना भएको देखिदैन ।अझ कतिपय जातजातिहरुको साँस्कृतिक पहिचान हुन बाँकी नै छ । राष्ट्रिय समावेशी आयोग र भाषा आयोगले मुलुक भित्र विभेद गरिएका जातजाती र भाषाभाषिको अभिभावकत्वको भूमिका निर्वाह गर्दै विभेदकारी शब्दावलीहरुलाई खारेज गर्नको लगि नेपाल सरकारलाई सिफारिस गर्न सक्रितया देखाउनु त्यतिकै आवश्यक छ ।
नेपाली साहित्यका साहित्यकारहरुले “जदौं” शब्दलाई अभिवादनको शब्द भनी स्वीकार गरेतापनि जदौंको व्यापक दृष्टिकोणबाट चिन्तन मनन गरेको पाईदैन । सम्भ्रान्त वर्गले अभिवादन गर्दा “दर्शन” भन्छन् भने सानाले ठुलालाई अभिवादन गर्दा “जदौं” भनिन्छ । विभिन्न लेख तथा आलेखहरुको अध्ययन गर्दा “जदौं” शब्दको व्याख्या निकै सतही तवरले गर्दा सिङ्गो नाथ सम्प्रदायमा पर्न गएको अपमान तथा चोटका कारण पङ्तीकारले जदौंका बारेमा स्पष्ट पार्न खोजेको छ ।
बसन्त कुमार शर्मा नेपालद्वारा लेखिएको शब्दार्थ प्रकाशन काठमाडौं नेपालद्वारा प्रकाशन गरिएको (सोपपक्ति कोश) को पृष्ठ नम्बर २७३ मा “जदौ–(प्रा. जड्डी, ना.) कुर्नेस, कुर्णेश, पाउलागी, प्रणाम, ढोग, दण्डवत – परिक्रमा (दर्शन) प्रणाम – नमस्कार – बन्दना – स्वस्ति– कुर्नेस – सलाम – पाउलागी र जदौको क्रममा विभाजित भएको दश प्रकारको ढोग मध्ये एक ढोग, तल्लो वर्गले माथ्लो वर्गलाई गरिने प्रणाम वा दर्शन।” भनेर उल्लेख गरेको पाइन्छ ।प्रस्तुत पुस्तकमा लेखकले सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने योगी सन्यासी जाती समुदाय एवं सम्प्रदायहरु सम्म ध्यान पुर्याउन सकेको देखिदैन ।
नमस्कार वा अभिवादन (नमस्ते, पाउलागि, ढोग, प्रणाम आदि) लाई नेपालका विभिन्न भाषामा भएको प्रयोग संस्कृत : नमस्कारम् ! खसभाषा :जदौं ! सुदूरपश्चिमका योगी सन्यासी : जउद वा जैदेउ ! गोरखनाथ सम्प्रदाय : आदेश ! आदेश : जैदेउ ! शिवमार्गी : जय भोले ! माझी : सेवाढोग ! नेवारी : ज्वज्वलपा, तारेमाम ! राजवंशी : बन्दगी ! लिम्बु : सेवारो ! चाम्लिङ राई : सेमुना ! धिमाल: सेउपाखा ! भुजेल : सेवानुङ ! शेर्पा : टासी देलेक ! गुरुङ : छ्याज्यलो, फ्याफूल ! मगर : मिझोर, झोर्ले ! पूर्वेली थारु : अछा सक्ले, गोड्लाग्छुन ! ताजपुरीया : बंङ्गी ! क्षेत्री : दर्शन ! मारवाडी र पश्चिम थारु : रामराम ! मैथली : प्रणाम ! तामाङ : ल्यासो, फ्याफूल्ला ! तीन गाउँले थकाली : या फ्यासी मु: ! इस्लाम धर्मावलम्वी : सलाम, अलेकुम ! इसाइ धर्मावलम्बी : जय मशिह: ! कृष्ण प्रणामी : प्रणाम ! वैष्णव: राधे राधे ! श्री वैष्णव : श्रीमन नारायण ! श्रीश्री रविशंकर मार्गी (जीवन जिउने कला) : जय गुरुदेव ! ओशो सन्यासी :जय ओशो ! साइ भक्त : साइराम ! निम्वार्गी वैष्णव : राधे श्याम ! अन्तर्राष्ट्रिय कृष्ण भावनावृत्त (इस्कोन) : हरेकृष्ण ! रामानन्दजी वैष्णव : जय सियाराम ! सिद्धाश्रम योगसाधक : हरि ओम ! ब्रह्मकुमारी राजयोग केन्द्रका अनुयायी : ओम शान्ति ! सदानन्द तत्वज्ञानी : जय प्रभु सदानन्द जी ! पतञ्जली योग समितिका अनुयायी : ॐ ! नेपाल प्रहरी : जय नेपाल ! नेपाली सेना : छड्के सलाम ! नेपाल कम्युनिष्ट पार्टी : लाल सलाम ! नेपाली काँग्रेस : जय नेपाल ! मधेशवदी दल : जय मधेश ! ( नमस्ते विकिपिडिया/ ne.m.wikipedia.org)
नेपालमा “जदौं” शब्दको साकारात्मक पक्षलाई आम मानिसहरु तथा पाठक एवं श्रोताहरु बीच नेपाल रेडियोका माध्यमबाट प्रस्तुत गरिने साहित्य संसारका प्रस्तोता साहित्यकार तथा वरिष्ठ रेडियोकर्मी स्वर्गीय यज्ञनिधि दाहाल (दाहाल यज्ञनिधि, ८ साउन २०१० – २५साउन २०७५ ) लाई लिइन्छ ।जदौं शब्दलाई नेपाली समाजमा हेपिएकाहरुले प्रयोग गर्ने शब्दको रुपमा गलत अर्थ लगाइएको बुझिएकोले जदौं अभिवादनलाई हेपिएकाहरुको समर्थनमा र सामन्ति चिन्तन तथा संस्कार विरुद्ध जदौं शब्दलाई स्व. यज्ञनिधि दाहालले नै चिनाउनु भएको थियो । सो शब्दलाई चिन्नु पर्ने र बुझ्नु पर्नेहरुले सकारात्मक रुपमा नभई नकारात्मक रुपमा बुझेको पाईन्छ भन्ने कुरा सानाले ठुलालाई तथा सानो जातिले ठुला जातिलाई अभिवादन गर्दा प्रयोग हुने शब्दको रुपमा लिएको पाईन्छ ।जदौं शब्दलाई कतिपय विद्वान साहित्यकारले गलत अर्थको रुपमा अर्थ्याइएको पाइन्छ । शब्दको गहिराई र औचित्य नबुझि वास्तविकता बुझ्नुले नाथ सम्प्रदायमा समेत ठुलो चोट पुग्न गएको छ । “जदौं” शब्द हाल आएर साना जातकाले ठुला जातकालाई अभिवाद गर्ने शब्दको रुपमा मात्र अर्थ्याउनु समग्र मानव तथा सभ्य समाजप्रति गरेको बेइमानी एवं निकृष्ट कार्य हो । यस किसिमको तुच्छ प्रकृति र प्रवृतिको पराकाष्ठ हो । आफुलाई सम्भ्रान्त वर्ग ठान्नेहरुले साहित्यकार स्व. श्री यज्ञनिधि दाहाललाई सम्झेर वहाँप्रति गरेको खिसीट्यूरी खेदपूर्ण छ ।जनवादी साहित्यकार स्व.दाहाल यज्ञनिधि प्रति योगी सन्यासी जातिय सम्प्रदायको तर्फबाट कोटी कोटी जदौं ! हार्दिक श्रद्धासुमन !
वास्तवमा “जदौं” शब्द सानाले ठुलालाई वा साना जातिले ठुला जातिलाई अभिवादन गर्ने शब्द मात्र होइन भन्ने सजीव उदाहरण सुदूरपश्चिम प्रदेशको योगी सन्यासी जातिहरुबाट बुझ्नु जरुरी छ ।योगी सन्यासी बस्ती बस्तीमा गएर एक पटक अध्ययन, अवलोकन र अनुसन्धान गर्दा जदौं शब्दको शिष्टाचार कतिको महान छ नकि ठुलालाई सानाजातिले गरिने जदौं (अभिवादन) को संकुचित अर्थ छैन रहेछ भनेर जीवन्त रुपमा अवगत हने छ । जदौंको शब्दार्थ वा परिभाषा लेख्ने विद्वानहरुले सूर्यलाई हत्केलाले छेके जस्तो संकीर्णताबाट ओतपोत भई अर्थ्याइएको सजिलै अनुमान गर्न सकिन्छ । विविध संस्कृति र चिन्तनका बीच सहिष्णुता, उदारता र गुणग्राहिता हुनुको तात्पर्य सम्बन्धित सम्प्रदायको कमजोरीको रुपमा बुझ्नु कदापि पनि विद्वता हुन सक्दैन ।
नेपाली समाजमा जातभात नभएको भनिएको तर उच्च जातको स्थान भोगचलन गरेका सन्यासी (विश्वभक्त दुलाल- आहुति ) वा मानसखण्डमा बसोबास गर्नेसमाजमा उच्च मानप्रतिष्ठा भएपनि सन्यासी जाति सरह पनि पहिचान नै नभएका गुरु गोरखनाथ सम्प्रदायका बाह्रपन्थी नाथ योगीजातिका आम मानिसहरुले आफ्नो सम्प्रदाय भित्र अभिवादन गर्ने शब्द जउद, जैदेउ, जदौं लाई गलत अर्थ लगाउनुले यी जातीहरुको लागि पिडामाथि थप पिडा बाहेक अरुकेहि हुन सक्दैन । एकातिर अन्य जातका मानिसहरुको थरबाट आफ्नो परिचय दिनु पर्ने र अभिवादनको रुपमा प्रयोग गर्ने सम्मानार्थी शब्द लागि गलत अर्थ लगाइनुले नाथ सम्प्रदायको पिडाबाट मुक्तिको लागि जदौं शब्द लाई एक अस्त्रको रुपमा प्रयोग गर्नु अपरिहार्य भएको छ ।
घरपरिवारभित्र नातिले हजुरवा लाई अभिवादन गर्दा जौंद हजुरबा वा जौंद बाजे र हजुर आमालाई अभिवादन गर्दा जौंद हजुरआमा भन्ने प्रचलन अहिलेसम्म नाथ सम्प्रदायमा छ । त्यसै गरी बुवालाई अभिवादन गर्दा जौंद बा वा बुवा र आमालाई अभिवादन गर्दा जौंद आमा वा जौद इज्या भन्ने गरिन्छ । त्यसै गरी दाजुभाईमा दिदी बहिनीमा सबैले सबैलाई जौंद शब्दले नै अभिवादन तथा ढोगभेट गर्दछन् । त्यसै गरी सम्दी सम्दी, सम्दिनी सम्दिनी,मामा भाञ्जा र ज्वाइ जेठान बीच जसैले जसैलाई जौद भनेर अभिवादन गर्ने प्रचलन रहेको छ ।
सुदुरपश्चिम प्रदेशमा बसोबास गर्ने योगी सन्यासी जातिका अग्रजहरुका अनुसार जदौं शब्दको उत्पत्ति गुरु गोरखनाथ देखि नै चलाएको मानिन्छ ।नाथ सम्प्रदायमा चलनचल्तिमा रहेको जदौं शब्दको प्रथा परम्पारागत संस्कृतिको रुपमा स्थापित भई सकेको छ ।जदौं शब्द मानवखण्डमा बसोबास गर्ने योगी सन्यासी जातिहरुले अभिवादन गर्ने मौलिक प्रिय एवं सम्मानीत शब्द हो ।जदौं शब्द कुनै सानो जातले ठुला जातका मानिसलाई अभिवादन गर्ने शब्द मात्र नभई गुरु गोरखनाथका अनुयायी एवं गोरखनाथ सम्प्रदायका बाह्रपन्थी नाथ योगीहरुले आफ्नो सम्प्रयादय भित्र तथा विवाहवारी चल्ने दशनामी सम्प्रदाय (गिरि, पुरी, भारती, सरस्वती, सागर, पर्वत, अरण्य, तीर्थ, वन, आश्रम ) बीच अभिवादन गर्ने शब्दावलीको रुपमा रहेको छ ।जैदेउ, जदौं गुरु गोरखनाथको अति प्रिय शब्द एवं “आदेश” शब्दको प्रयायवाची शब्द हो । “जदौं” शब्दलाई सानो जातका मानिसले ठुला तथा उच्च जातका मानिसहरुलाई अभिवादन गर्ने शब्द हो भनि परिभाषित गर्नु भनेको गुरु गोरखनाथप्रतिको अपमान भएकोले सम्पूर्ण गुरु गोरखनाथ सम्प्रदायका अनुयायी एवं शुभ चिन्तकहरु विभेदपूर्ण तवरले गरेको व्याख्यालाई खारेज गर्दछन् ।गुरु जी आदेश ! आदेश !
हाम्रो मुलुकको विविधतायुक्त समाजलाई चिन्तन मनन गरी “जदौं” शब्दको वास्तविकतालाई आत्मसात गरौं । सभ्य मानव, सभ्य समाजको पहिचानलाई दिगो बनाउनु हामी सबैको कर्तव्य हो । असल नागरिकले मात्र असल समाज निर्माणमा योगदान पुर्याउन सक्दछ ।नागरिक कर्तव्यको पालना गर्नु हामी सबै नेपाली नागरिकहरुको कर्तव्य हो ।असहिष्णुता, असमानता एवं भेदभावलाई सबैले सधैं तिरस्कार गरौ ! भेदभाव रहित समाजको सिर्जनामा टेवा पुर्याऔं ।हामी सबैमा नेपाली समाजमा स्थापित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतियुक्त समाजको बोध हुनु अपरिहार्य छ ।
जदौं ! !
जिर्या ! बाचिर्या !