मान्छे आज निराश छन कसरी हो के ले बन्यो यो दशा
सोच्दैनन् अब देशको प्रति कुनै भोग्छन् बरु दुर्दशा
विहानै जब विउँझिदा शुरु भयो गाली तथा नामको
मै ठूलो अरु छन सबै अधमरा भन्छन् ति बेकामको ।। १ ।।
तताए सरी दुुधको जति कुँडे उम्लिन्छ पोखिन्छ त्यो
बक्बक मात्र गरिरह्यो यदि भने ब्यर्थै जुनी नै वित्यो
आफु मै हु ठूलो बनाउन पनि चिच्याउनु पर्छर
बार्दली तिर निस्कदै म गतिलो होलार त्यो तुच्छर ।। २ ।।
अर्काको उछितो म काट्दछु सबै मै हुँ सबै भन्दछन्
मान्छेले जति सुन्दछन् सब कुरा मज्जा लिदै हास्दछन्
यै हासो उसको छ ताकत जति देखेर चिच्याउँछ
सुन्नेले उसलाई यो अधम हो भनेर गिज्याउछ ।। ३ ।।
त्यै भो साशनमा थियो अधम क्वै चिच्याउँथ्यो बेसरी
मै हुँ मात्र भनेर तुच्छ अरु हुन् भन्थ्यो बनि निठ्ठूरी
त्यस्तै मूर्ख पुगेर हाक्छ कहिले यो देशको साशन
कस्तो दुर्गतीमा छ देश दुनिया जान्दैन सुल्झाउन ।। ४ ।।
त्यस्तै मूर्ख पछि जमात छ यहाँ चिच्याउने बेसरी
यस्तै मानिसको छ काम अहिले गर्ने सधै चाकरी
विहानै सब पुग्छन् पसलमा चिया लिदै चुस्किमा
साझैमा मदिरा पिइ म गतिलो भन्छन् पुगि भट्टीमा ।। ५ ।।
बाबाधामको कोसेली ८ श्रावण २०७९
कोटेश्वर काठमाण्डौ