काठमाडौँ, ३२ असार । न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्न सिफारिस गरेको छ । परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार खराब आचरण र कार्यक्षमताको अभाव पाइएपछि पदमुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरिएको हो।
उनीहरूविरुद्ध परेका उजुरीमाथि अनुसन्धान र उनीहरूले गरेका फैसला अध्ययनपछि दोषी पाइएकाले पदमुक्त गर्ने सिफारिस गरिएको प्रवक्ता कार्कीले बताए ।
परिषद्को सिफारिसअनुसार कामु प्रधानन्यायाधीश कार्कीले उनीहरू दुवैजनालाई आइतबार पदमुक्त गर्ने निर्णय गर्नेछन् । नवलपरासीका अन्सारी २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यस्तै रुकुमका शाह २०४३ साउन २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भदौ २३ मा जिल्ला न्यायाधीश नियुक्त भएका थिए । करिब १३ वर्षदेखि एउटै पदमा रहेका शाह हालका जिल्ला न्यायाधीशहरूमा पुराना मध्येका हुन् ।
त्यसैगरी परिषद्ले उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने पनि निर्णय गरेको छ । उनले गरेका फैसला अध्ययनपछि कार्यक्षमताको अभावमा उनलाई सचेत गराउने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए । काठमाडौंकी उप्रेती पनि अन्सारीसँग एकैदिन अर्थात् २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् ।
परिषद्ले अघिल्लो साता उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको थियो । धनुषाकी साहले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै असार २४ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।