असार ३१ काठमाण्डौँ । चीनले नेपालका लागि अमेरिकी प्रस्तावित राजदूत डिन थम्प्सनले संसदीय सुनुवाइका क्रममा एमसीसी बारे चीनले भ्रम फैलाएको भनि दिएको अभिव्यक्तिप्रति चीनीया दुतावासले आपत्ति जनाएको छ ।
नेपालस्थित चिनियाँ दूतावासकी प्रवक्ता गाओ वेईले शुक्रबार थम्प्सनको भनाइप्रति आपत्ति जनाएकी हुन् ।
एमसीसी सम्झौताले नेपालमा व्यापक विवाद उत्पन्न भएको कुरा उल्लेख गर्दै प्रवक्ता वेईले नेपाली संसद्बाट ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएको पनि बताएकी छिन् ।
उक्त घोषणामा नेपाल अमेरिकाको रणनीतिक, सैन्य र सुरक्षा गठबन्धनमा सहभागी नहुने कुरा उल्लेख भएको जनाउँदै दूतावासले उक्त कार्यलाई नेपालको वैधानिक कदमको संज्ञा दिएको छ ।
“राष्ट्रिय हितलाई सुरक्षित गर्दै सार्वभौमिकता तथा स्वतन्त्रताको रक्षा गर्ने नेपाल सरकार र नेपाली जनताको वैधानिक कदम हो । अमेरिकी पक्षबाट आएको टिप्पणी पूर्ण रूपमा आधारहीन छ ।” टिप्पणीमा भनिएको छ ।
नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वतन्त्रताको सुरक्षाका लागिु चीनले निरन्तर सहयोग गर्ने पनि प्रवक्ता वेईले जनाएकी छिन् ।