असार २० काठमाण्डौँ । पछिल्लो समय नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरणको छलफल चलेको छ । सोमबार बसेको समाजवादीको सचिवालयको बैठकमा अध्यक्ष माधव कुमार नेपालले प्रचण्डले पार्टी एकताको प्रस्ताव राखेको जानकारी दिँदै यस विषयमा गहन छलफल चलाएका छन् ।
स्रोतका अनुसार दुई पार्टीबीच एकीकरण भए वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान समेत एकीकृत पार्टीमा सामेल हुने संभावना छ ।
त्यसै गरी प्रचण्डले बाबुराम भट्टराईसँग समेत छलफल बाक्लो बनाएका छन् ।
बाबुराम भट्टराई पनि अब उपेन्द्र यादवसँग सहयात्रा गर्न नसकिने निष्कर्षका साथ विकल्पको खोजीमा छन् ।
यही बेला मुख्यतयाः चुनाव अघि नै माओवादी र एकीकृत समाजवादीसँगै संभव भए सम्म अन्य दलहरु समेत समेटेर नयाँ पार्टी निर्माण गरेर चुनावमा जाने बारे प्रचण्डले राखेको प्रस्तावलाई समाजवादीका धेरै नेताहरुले सकारात्मक रुपमा लिएको बुझिएको छ ।
एकतावद्ध हुने बिषयमा केन्द्रीत रहेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल , वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच पछिल्लो समय सामुहिक छलफल समेत भएको थियो ।