आकाशभर उडिरहेछ मृत्यु
जमिनभर गुडिरहेछ मृत्यु
संभावित मृत्युको पर्खाइमा
आफ्नै शीरमा मृत्यु बोकेर
पत्रपत्रमा पलपलमा निमेष निमेषमा
जीवनको एउटा सुन्दर माला उनिरहेछ मान्छे।
संसारिक रङ्गमन्चका पर्दाहरूमा उपस्थित भई
अपरिमित दृश्यका परिबन्धहरूमा गाँजिएर
खेलिरहेछ मान्छे।
फगत तृष्णाका मैदानहरूमा
क्याकटसका फूलहरू फुलाएर
आफ्नै जीवनको रजतपटमा
बालुवाहरूको मरुभूमि बनाइरहेछ मान्छे ।
उत्तर आधुनिकताको साम्राज्यमा
आफ्नै पङ्ख काटेर
खुशीहरूको खरिदबिक्रीमा आफैंसङ्ग खैराँते गरिरहेछ मान्छे ।
वृक्षको उचाइसङ्गै जराहरूको गहिराई
पत्थरको कठोरतासङ्गै माटोप्रतिको निर्भरतामा
जीवन नापिरहेछ मान्छे।
आफ्नै छाती कुल्चिएर पैताला सरापीरहेछ
आफ्नै मुटु चिथोरेर औंला टोकिरहेछ
पश्चतापको भुङ्ग्रोमा रापिएर जलिरहेछ मान्छे।
नसानसाहरूमा शिरा र धमनीहरूमा
रगतका फाल्सा फाल्साहरूमा
अक्सिजनको भिख रोपिरहेछ मान्छे।
मृत्यु तर्साउन अभिशप्त दाँत कुँड्याएर
ङिच्च हाँसो हाँसेर आज
माछा पोल्न पुत्ताएको नदी छेउको आगोमा
मान्छे पोलेको भ्रान्तिमा रोइरहेछ मान्छे।
हरेक अस्ताउँदो सूर्यास्तमा
हरेक उदाउँदो सूर्योदयमा
मृत्युु मृगमरीचिकामा उभिएर
जीवनको बेलुन फुकिरहेछ मान्छे।
हल्लैहल्लाहरूमा
सल्लाका सियोझैँ पातहरूले खोपिएर
सुसाइरहेछ मान्छे।
स्वासका झोक्का झोक्काहरूमा
निद्राको चुहावटमा झस्किनुको बर्बराहटमा आफैंआफैं निश्चिन्त मुस्कुराइरहेछ मान्छे।
जीवन जगतको वास्तविक रसबाट उत्रिएर
माथिमाथी आकाशमा उडिरहेको हुचिलझैँ
सडकमा लमतन्न परेको वेवारिसे लासझैँ
गलामा मृत्युमाला पहिरिएर
आफैं आफैं समाधीमा धकेलिइरहेछ मान्छे ।