मृत्युमाला

मृत्युमाला

  • शनिबार, असार ४, २०७९
  • निरन्जना चन्द 'निरु'

  • 10K
    SHARES

आकाशभर उडिरहेछ मृत्यु
जमिनभर गुडिरहेछ मृत्यु
संभावित मृत्युको पर्खाइमा
आफ्नै शीरमा मृत्यु बोकेर
पत्रपत्रमा पलपलमा निमेष निमेषमा
जीवनको एउटा सुन्दर माला उनिरहेछ मान्छे।

संसारिक रङ्गमन्चका पर्दाहरूमा उपस्थित भई
अपरिमित दृश्यका परिबन्धहरूमा गाँजिएर
खेलिरहेछ मान्छे।

फगत तृष्णाका मैदानहरूमा
क्याकटसका फूलहरू फुलाएर
आफ्नै जीवनको रजतपटमा
बालुवाहरूको मरुभूमि बनाइरहेछ मान्छे ।

उत्तर आधुनिकताको साम्राज्यमा
आफ्नै पङ्ख काटेर
खुशीहरूको खरिदबिक्रीमा आफैंसङ्ग खैराँते गरिरहेछ मान्छे ।

वृक्षको उचाइसङ्गै जराहरूको गहिराई
पत्थरको कठोरतासङ्गै माटोप्रतिको निर्भरतामा
जीवन नापिरहेछ मान्छे।

आफ्नै छाती कुल्चिएर पैताला सरापीरहेछ
आफ्नै मुटु चिथोरेर औंला टोकिरहेछ
पश्चतापको भुङ्ग्रोमा रापिएर जलिरहेछ मान्छे।

नसानसाहरूमा शिरा र धमनीहरूमा
रगतका फाल्सा फाल्साहरूमा
अक्सिजनको भिख रोपिरहेछ मान्छे।

मृत्यु तर्साउन अभिशप्त दाँत कुँड्याएर
ङिच्च हाँसो हाँसेर आज
माछा पोल्न पुत्ताएको नदी छेउको आगोमा
मान्छे पोलेको भ्रान्तिमा रोइरहेछ मान्छे।

हरेक अस्ताउँदो सूर्यास्तमा
हरेक उदाउँदो सूर्योदयमा
मृत्युु मृगमरीचिकामा उभिएर
जीवनको बेलुन फुकिरहेछ मान्छे।
हल्लैहल्लाहरूमा
सल्लाका सियोझैँ पातहरूले खोपिएर
सुसाइरहेछ मान्छे।

स्वासका झोक्का झोक्काहरूमा
निद्राको चुहावटमा झस्किनुको बर्बराहटमा आफैंआफैं निश्चिन्त मुस्कुराइरहेछ मान्छे।

जीवन जगतको वास्तविक रसबाट उत्रिएर
माथिमाथी आकाशमा उडिरहेको हुचिलझैँ
सडकमा लमतन्न परेको वेवारिसे लासझैँ
गलामा मृत्युमाला पहिरिएर
आफैं आफैं समाधीमा धकेलिइरहेछ मान्छे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी