जेठ ३१ काठमाण्डौँ । नेकपा एमालेले तत्काल निर्वाचन सम्म कुनै पनि वाम गठबन्धन नबनाउने बताएको छ । सचिवालयको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वाम गठबन्धन संभव नभएको बताए ।
वाम एकताको हल्ला चलाएर माओवादीले काँग्रेससँग बार्गेनिगं गरेको उनको दाबी छ ।
एमालेले चुनावमा सोचे जस्तो परिणाम नआएको ठहर गर्दै आगामी निर्वाचनमा बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने योजना ज्ञवालीले सुनाए ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मुख्य रुपमा काँग्रेस, माओवादी , जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन रहेको थियो ।
एमालेले राप्रपा नेपाल, नेपाल परिवार दल लगायतका साना समुहसँग तालमेल गरेको थियो ।
कतिपय स्थानीय तहमा राप्रपा काँग्रेस माओवादीसँग मिलेको थियो भने रोल्पा, रुकुम, कालिकोट र भोजपुरका केही स्थानीय तहमा काँग्रेस र एमालेले गठबन्धन गरेका थिए ।
स्थानीय तहको निर्वाचनपछि कार्यपालिका र जिससको निर्वाचनमा कतिपय ठाँउमा एमाले, माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको देखिएको छ ।
यही पृष्टभूमिमा दुबै पार्टीका दोस्रो तहका नेताहरुबाट वाम गठबन्धनको चर्चा चलिरहेको छ ।
स्रोतका अनुसार ओलीले नै पठाएर आएको भन्दै विष्णु पौडेल सहित एमालेका नेताहरु खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्री बन्न र आगामी निर्वाचन गराउन प्रस्ताव गरेका थिए ।
तर औपचारीक रुपले भने एमालेले त्यस्तो प्रस्ताव र छलफलहरुलाई स्वीकारेको छैन । तर प्रचण्डले सार्वजनिक रुपमै आफूलाई प्रधानमन्त्रीको अफर आए पनि स्वीकार नगरेको बताएका थिए । त्यो माधव कुमार नेपालले पनि आफूलाई पनि अफर आएको बताएका थिए ।
ओलीको अफर र प्रस्ताव तत्कालै स्वीकार्ने पक्षमा भने प्रचण्ड माधव देखिदैनन् ।
सकेसम्म गठबन्धन भत्काउने रणनीति बनाएको एमालेले आधिकारीक रुपमा आफूले एक्लै लड्ने र जीत्ने घोषणा गरीरहे पनि भित्र भित्रै गठबन्धन फुटाएर काँग्रेस ईतरका शक्तिलाई मिलाउने वा यही गठबन्धन रहेमा अन्य साना शक्ति र पार्टीहरुलाई साथमा लिने प्रयासमा एमाले लागेको एक नेताको दाबी छ ।
यस्तोमा वाम गठबन्धनको चर्चा एमालेलाई गठबन्धन फुटाउने रणनीति, माओवादीलाई काँग्रेसलाई साईजमा राखेर आफ्नो प्रभाव बढाउने कायदा हुन सक्छ ।
वाम गठबन्धन हुनासाथ ७४ सालको निर्वाचन परिणामले पनि काँग्रेस निकै पछि पर्ने आगामी सरकारको नेतृत्व गर्न नसक्ने स्थितिमा पुग्ने लगभग निश्चित छ ।
भरतपुरमा स्थानीय तहको निर्वाचन अघि प्रचण्डले काँग्रेसी नेता कार्यकर्ताले गठबन्धनको निर्णय बमोजिम मत दिएमा आफूले गठबन्धन १०, १५, २० वर्ष सम्म पनि लैजाने प्रतिवद्धता जनाएका थिए ।
त्यसलाई पनि काँग्रेसीले हिशाब गरीरहेको काँग्रेसका एक नेताको भनाई छ ।
जे भए पनि एमाले , काँग्रेस माओवादी तिनै शक्ति आगामी निर्वाचनमा आफ्नो पल्ला भारी बनाएर सरकारको नेतृत्व गर्ने गरी चुनावमा प्रस्तुत हुने मनशायमा छन् त्यसका लागि उनीहरुले के के गर्नेछन् ? कस्तो गठबन्धन बनाउने छन् ? वा के के परिणाम आउने हो त्यो भने हेर्न बाँकी छ ।