पोखरा, १६ जेठ।
मुस्ताङको थासाङमा तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ ।
दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।
दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइनेसमेत उनले बताए । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका २ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन् ।
कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।
पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ । पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेको बताईएको छ ।
यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।
सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो ।
पोखरा–जोमसोम उड्ने विमानहरु म्याग्दी–मुस्ताङ सीमावर्ती घाँसा क्षेत्रको २ हजार ८ सय मिटर अग्लो स्थानमा कालीगण्डकी नदीलाई देब्रे पारेर उडान भर्छन् । पोखरा–जोमसोम रुटमा उड्ने विमान म्याग्दीको घोरेपानीदेखि मुस्ताङको घाँसासम्मको क्षेत्रमा करिब ५ मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छन् । यो विमान बफर जोन क्रसगरी जोमसोम विमानस्थलको टावरमा सम्पर्कमा आएपछि बेपत्ता भएकोले मुस्ताङको लेते, कोवाङ क्षेत्रलाई आधार मानेर खोजी गरिएको थियो ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाइन ९ एन–एइटी भएको ट्विनअटर विमान आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए ।