नारायण बाँसकोटाको देवकोटा र वाङ्देलसँगको आत्मीयता

नारायण बाँसकोटाको देवकोटा र वाङ्देलसँगको आत्मीयता

  • शुक्रबार, जेष्ठ ६, २०७९
  • नरेन्द्रराज प्रसाई  

  • 10.8K
    SHARES

महाकवि लक्ष्मीप्रसाद देवकोटासँग बाँसकोटाको प्रेम, विश्वास र आत्मीयता

नारायणप्रसाद बाँसकोटा साहित्य, कला र संस्कृतिका पक्षपाति थिए । उनका लागि संसारमा सबैभन्दा राम्रो देश नेपाल थियो, सबैभन्दा राम्रो संस्कृति पनि नेपाली संस्कृति थियो र सबैभन्दा राम्रो विषय पनि नेपाली भाषा थियो । त्यसैले ती नेपाली भाषा, नेपाली राष्ट्रियता र नेपाली भावना बोक्ने जोकोहीलाई आफनो काधँमा बोकेर हिड्ने गर्थे । त्यही परिवेशमा उनले धेरैलाई बोके । ती धेरैमध्ये उनले आफ्नो थाप्लोमा नाम्लो लगाएर र अड्याएका दुईजना व्यक्तित्व थिए— महाकवि देवकोटा र लैनसिंह वाङ्देल ।

२००९ साल माघ १८ गते जयवागेश्वरी पुस्तकाकलयको आयोजनामा विराट् साहित्य सम्मेलन भएको थियो । महाकवि देवकोटाको सभापतित्वमा सम्पन्न उक्त सम्मेलन पनि विचित्रकै थियो । त्यसबारेको चित्रण गर्दै भैरव अर्यालले लेखेका छन्—‘शिरमा ङ्याच्याक्क पारी लगाएको मखिबुट्टे टोपी र काँधमा सपक्क राखेको कैलो गलबन्दीले उनलाई साधारणतः एक पण्डितजीको शोभा दिइरहेका थिए । त्यसमाथि सारस्वरसहित अर्थात् हात हल्लाईहल्लाई वेद पाठ गरिरहेको देख्दा पण्डित बाजेबाहेक अरू कोही ठान्ने खन्डै थिएन । केही बेरपछि बुझियो उनले पढेको वेद संस्कृतमा होइन, अङ्ग्रेजीमा थियो । तर सार र स्वर मात्र हाम्रो जस्तो । तर मखिबुट्टे टोपी ढल्काएर अङ्ग्रेजीमा वेद भट्याउने यी महापण्डित को हुन् ? भन्ने प्रश्न भने धेरै बेर प्रश्न रहेन । नजिक बस्ने भलाद्मीले बताइदिए द्यौकोटो भन्या, यही हो द्यौकोटो !’ उनले अरू स्पष्टीकरण थपे— ‘लक्ष्मीप्रसाद देवकोटा कवि भलादमीका शब्द यस्तै थिए, केही ठर्रा केही अप्ठ्यारा ।’ अनि त्यति बेला उनको परिचय गर्ने व्यक्ति चाँहि नारायणप्रसाद बाँसकोटा थिए । देवकोटाले आफ्नो मन्तव्य सकेपछि जन जिज्ञासालाई सम्बोधन गर्दै बाँसकोटाको देवकोटा जीवनकलाबारेको मन्तव्य दिए । बाँसकोटाको त्यो भाषण सुनेपछि सभा एक प्रकारले मौन भयो । वास्तवमा बाँसकोटा भन्नु देवकोटाका प्रिय पात्र मात्र नभएर देवकोटाका पैतालादेखि टुप्पीसम्मको अध्ययनकर्ता पनि थिए ।

२००८ सालमा नेपाल लेखक सङ्घको स्थापना भएको थियो । २०१२ सालमा कवि शिरोमणि, लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठको अध्यक्ष मण्डलमा यस संस्थाको नयाँ स्वरूप कायम भएको बेहोरा शिव रेग्मीले दिएका छन् । त्यस संघको कार्य निर्देशन समितिमा माधवप्रसाद घिमिरे, हृदयचन्द्रसिंह प्रधान, विजय मल्ल, ईश्वर बराल, जनार्दन सम, भीमनिधि तिवारी, गोविन्दबहादुर मल्ल गोठाले, रत्नध्वज जोशी, केदारमान व्यथित, रुद्रराज पाण्डे, भवानी भिक्षु, पूर्णबहादुर एम.ए, सत्यमोहन जोशी, धर्मराज थापा र विश्वेश्वर प्रसाद कोइराला थिए । साथै कार्य सञ्चालन समितिमा नारायणप्रसाद बाँसकोटा, देवेन्द्रराज उपाध्याय, श्यामदास वैष्णव, केशवराज पिँडाली, चित्तरञ्जन नेपाली थिए । अनि विधान संशोधकहरूमा सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, विजय मल्ल भएको सूचना पनि रेग्मीले दिएका छन् ।

देवकोटा कविता लेख्थे । उनी आफ्ना कविता सुनाउन प्रायः कोपुन्डोलमा पुग्थे किनभने नारायणप्रसाद बाँसकोटाले उनका कविता ध्यान दिएर सुन्थे । त्यसैले उनी एउटा कविता लेखेपछि साइकलमा खुर्र कोपुन्डोलको बाँसकोटा निवासमा पुग्ने गर्थे । त्यसै क्रममा पागल कविता लेखेर पनि देवकोटा कोपुन्डोलमा नै पुगे । अनि उनले नारायण प्रसाद बाँसकोटालाई भने— ‘यो पागल मेरो कवितामध्येकै मलाई राम्रो लागेको कविता हो । त्यसैले यस ‘पागल’ तपाईंकै ‘प्रगति’मा नै मलाई छाप्न मन लाग्यो ।’ अनि बाँसकोटाका लागि पनि ‘पागल’ के खोज्छस् कानो आँखो भयो । वास्तवमा देवकोटाले प्रगतिको पूर्ण अर्थ बुझेका थिए । साथै बाँसकोटा पनि देवकोटाका कविताका मात्र पारखी थिएनन् । नेपाली कविताका नै पारखी थिए ।

श्यामदास वैष्णवका अनुसार नारायणप्रसाद बाँसकोटा नभए देवकोटा पुरै पागल हुन्थे । उनलाई पागल हुनबाट बचाउन बाँसकोटाले क्याप्सुलको काम गरेका थिए । देवकोटाको ‘पागल’ कविता सर्वप्रथम प्रगति द्वैमासिक साहित्य सङ्कलन वर्ष एक अङ्क तीन (२०१० भदौ असोज) को अङ्कमा छापियो । आफ्नो पागललाई उनले खुबै मन पराए । त्यसैले त्यस कवितालाई उनले तीनपल्टसम्म पनि सम्पादन गरे । सम्पादनका क्रममा उनले पहिले लेखेका कविताका केही शब्द र वाक्य झिक्ने र केही नयाँ शब्द र वाक्य थप्ने कृत्य पनि गर्दै थिए ।

महाकवि देवकोटा र बाँसकोटा दुबै खुब मिल्थे । देवकोटालाई बुज्रुक हुँ भन्नेले पागल भन्थे तर नारायणप्रसाद बाँसकोटा उनलाई सर्वश्रेष्ठ मानव मान्थे । राजा महेन्द्र र देवकोटाको प्रेममा पनि बाँसकोटाको कतै न कतै हात रहेको थियो । बाँसकोटा राजा महेन्द्रका प्रिय पात्र थिए र देवकोटालाई पनि राजा महेन्द्रले काखी चेपेका थिए । त्यसै परिवेशमा बाँसकोटाले जब जब राजा महेन्द्रलाई भेट्थे तब तब उनी देवकोटाको गीत गाउँथे । त्यसैले पनि देवकोटा नारायण प्रसाद बाँसकोटासँग ज्यादै टाँसिएका थिए । देवकोटा भन्थे— ‘नेपालमा धेरै नारायण प्रसाद बाँसकोटाको जन्म हुन वाञ्छनीय छ ।’ वास्तवमा बाँसकोटा सकारात्मक विचारधाराका अकबरी सुन थिए ।

देवकोटालाई नारायणप्रसाद बाँसकोटाले धेरै मन पराएका थिए । बाँसकोटा पनि नेपाली भाषा साहित्य, पत्रपत्रिका र संस्कृति भनेपछि ज्यानै फाल्थे । त्यस घडीमा बाँसकोटाको सम्पादनमा प्रकाशित ‘प्रगति’ द्वैमासिक चर्चित थियो । तर आर्थिक रूपमा पत्रिका त्यति सम्पन्न थिएन । त्यसैले देवकोटाको नेतृत्वमा प्रगति ग्राहक अभियान नै चल्यो । प्रगतिलाई सक्षम बनाउने हेतुले उनीहरू सर्वप्रथम पशुपतिनाथको मूलढोकामा पुगे र त्यहाँ आफ्नो अभियानको तुल टाँगे । २०१२ सालको हरिशयनी एकादशीको दिन पारेर त्यो आयोजना गरिएको थियो । किनभने ठूली एकादशीका दिन पशुपतिनाथको दर्शन गर्न धेरै मान्छे आउँछन् भन्ने उनीहरूलाई थाहा थियो । त्यति बेला पशुपतिनाथको दर्शनमा गएका थुप्रै भक्तजनहरू देवकोटाको मुख हेरेर प्रगतिको ग्राहक बने । विश्वमणि आचार्य दीक्षित पनि त्यसै बखत पशुपतिको मूल ढोकामा आइपुगे । उनलाई पनि देवकोटाले प्रगति चम्काउनका निम्ति ग्राहक बनिदिन अनुनय विनय गरे । त्यति बेला देवकोटालाई दीक्षितले भनेका थिए— ‘नेपाली भाषा बाँच्दैन, हिन्दीले राज गर्छ ।’ तर त्यो क्षुद्र उक्तिलाई देवकोटाले थेग्न सकेनन् र उनी दीक्षितलाई काटुँला कि मारुलाँ झै उग्र भएर अघि सरे । त्यति बेला देवकोटा रिसले आगो भए । यसै प्रसङ्गमा जनकलाल शर्माले भनेका छन् — ‘रिसमा कसले वेद पढ्छ ? झण्डै पुग्यो देवकोटाको हात उनको कठालोतिर । देवकोटाले पुलिसको लौरो लिएर झण्डै बुढाको टाउको फोरेको ।’ विश्वमणि आचार्य गोरखा व्याकरण बोध, नामक कृतिका लेखक पनि हुन् ।

पशुपतिनाथको नारायणप्रसाद बाँसकोटाको ‘प्रगति’को घटनाले राजधानीको बौद्धिक टाउको थर्कमान भयो । त्यसै दिनदेखि नारायणप्रसाद बाँसकोटाले पनि देवकोटालाई नेपाली भाषाको टोपी माने । देवकोटा पनि नेपाली भाषाप्रतिको सम्मानको सम्मोहनले तानिएर बाँसकोटाका घरमा घरि घरि पुग्ने गर्थे । उनी हप्तामा झन्नै तीनचार पटक बाँसकोटा निवास कोपुन्डोल पुग्ने गर्थे ।

नारायण प्रसाद बाँसकोटा र लैनसिंह वाङदेलको मिलन, प्रेम र सद्भावना

लैनसिंह वाङ्देल र उनकी पत्नी मानु वाङ्देलका लागि नेपाल सपनाको देश थियो । त्यसमाथि राजधानी काठमाडौँ उनीहरूका लागि तीर्थ झैँ मानिन्थ्यो । तर त्यही तीर्थस्थल आइपुग्न उनीहरूका लागि कष्टकर समय थियो । त्यस घडी वीरगन्जबाट काठमाडौँसम्म कुद्ने थोत्रा बसमा उनीहरूको सवार थियो ।

लैनसिंह वाङ्देल र उनकी पत्नी मानु वाङ्देल कतिखेर काठमाडौँ पुगिन्छ भन्ने हतारोमा थिए । वीरगन्जबाट बिहानदेखिको यात्रापछि वाङ्देल दम्पती चढेको बस रातको आठ बजे काठमाडौँको धरहरा आइपुग्यो । धरहरामा बसले विश्राम लिएपछि उनीहरूलाई हलुङ्गो भएको महसुस भयो । एकातिर नेपालको राजधानीमा पुगेको र अर्कातिर बसको कठिन यात्राबाट मुक्ति पाएका कारण उनीहरूमा बेग्लै उमङ्गको सिर्जना भएको थियो । उनीहरू बसबाट ओर्लदा त्यस बेला सिमसिम पानी परिरहेको थियो, अनि त्यो दिन थियो २०१६ सालको चैत ५ गते । बेलायतबाट डुल्दै फिर्दै हिँड्दा वाङ्देल दम्पतीलाई काठमाडौं आइपुग्न झन्डै एक महिना लागेको थियो ।

वाङ्देल दम्पती बसबाट ओर्लदा बाहिर निस्लोट अँध्यारो थियो र त्यतिखेर सिमसिमे पानी पनि परिरहेकै थियो । उनीहरू कुन होटल जाने हो भन्ने तरखरमा उभिइरहेका थिए । त्यतिखेर नै एक जना मानिस वाङ्देलका छेउमा आएर बोलेका थिए— ‘यहाँ वाङ्देलजी हुनुहुन्छ ?’ त्यो संवाद सुनेर वाङ्देलले ठूलो छाती पारेर जवाफ दिएका थिए— ‘म वाङ्देल हुँ, मेरा साथमा मेरी पत्नी मानु पनि छिन् ।’ त्यसपछि ती मानिस फेरि बोले— ‘म नारायणप्रसाद बाँसकोटा हुँ, म तपाईहरूलाई लिन यहाँ आएको हुँ । मेरो घर यहीँ कोपुन्डोलमा छ ।’ ती संवादले वाङ्देल झनै खुसी भए । वाङ्देलका लागि त त्यतिखेरको बाँसकोटाको उपस्थिति अपार खुसी प्रदान गर्ने कुरो थियो । हुन पनि कहाँ जाने के गर्ने भन्ने अनकन्टार अवस्थामा नारायणप्रसाद बासकोटाको उपस्थितिले वाङ्देल दम्पतीको निकै ठूलो समस्याको समाधान भएको थियो । त्यस समयका बाँसकोटाका कुरामा मानु वाङ्देल पनि दङ्ङ परेकी थिइन् । त्यतिखेर तीनै जना मिलेर बाँसकोटाले ल्याएको जिपमा वाङ्देल दम्पतीको माल सामान हाल्न थाले । सबै सामान चढाएपछि उनीहरू पनि सोही मोटरभित्र पसे ।

नारायणप्रसाद अति सहयोगी थिए । त्यसैले उनको त्यो भावनाले लैनसिंह वाङ्देलको भाग्यमा पनि साथ पायो । बाँसकोटाकै सल्लाहले वाङ्देलले राजधानी आएको भोलिपल्टै राजालाई एउटा बिन्तीपत्र लेखे । त्यो विन्तीपत्र श्री ५ महेन्द्रका बाहुलीमा चढाउन उनले राजदरबारमा दर्ता गराए । राजालाई आफू नेपाल आएको बारे बिन्तीपत्र राजदरबारमा दाखिल गरेर उनी सरासर आफ्नो डेरा आए । उनले आफ्नी पत्नीसँग बिन्तीपत्रका बारेमा छलफल गरिरहे— ‘राजाका बाहुलीमा कहिले बिन्तीपत्र पर्ने हो ? राजाले के सोचिबक्सने हो ? राजाबाट के निगाह हुने हो ?’ त्यस समय उनका मनमा अनेक कुरा खेलिरहे । वाङ्देलका मनमा आफ्नो जीवनको भविष्यका कुराहरू आज खेले, भोलि खेले र पर्सि खेले । उनी विभिन्न तर्कवितर्कमा जोतिँदा जोतिँदै एक हप्ता बित्यो, अनि काठमाडौ टेकेको ठिक नौ दिनका दिन राजदरबारबाट उनीहरूका डेरामा एउटा खबर गयो— ‘आज साँझ सरकारबाट वाङ्देल दम्पतिलाई राजदरबारमा दर्शनभेट बक्सेको छ ।’ त्यस खबरले वाङ्देलका मनमा आशाका नयाँ पालुवाहरू पलाउन थाले । वास्तवमा संसारमा काम कारबाही यसरी छिटो र छरितो हुँदो रहेछ भन्ने पनि वाङ्देलले बुझ्न थाले । राजा महेन्द्रले उनीप्रति सद्भाव गहिरो भएको बेहोरा पनि उनका लागि प्राप्त त्यस खबरले छनक प्रस्तुत गरिसकेको थियो ।

वाङ्देल दम्पति आफ्नो डेराबाट नारायणप्रसाद बाँसकोटा साथमा कोपुन्डोलबाट तोकिएको समयमा राजदरबार पुगे । जनरल शेरबहादुर मल्लमार्फत उनीहरू सरासर राजाका सामु परे । उनीहरूले आदर, सत्कार र सश्रद्धा राजाको दर्शन गरे । त्यस भेटमा राजा महेन्द्रले खुट्टैखुट वाङ्देलको लन्डनदेखि काठमाडौंसम्मको यात्रा विवरण सोध्न थाले । वाङ्देल दम्पतीले राजाको लन्डन सवारी भएताका त्यहाँका नेपालीहरू राजासँग ज्यादै खुसी भएको कुरा पनि सुनाए । साथै राजधानीमा कहाँ बसेको भन्ने बेहोरा पनि राजाबाट सोधनी भयो । वाङ्देलले आफ्ना मित्र नारायणप्रसाद बाँसकोटाका घरमा आफूहरू बसेको बिन्ती जाहेर गरे । बाँसकोटालाई राजाले पनि राम्ररी चिनेको बेहोरा उनीहरूले त्यसै बेला चाल पाए । राजासँग करिव बीस मिनेट जति दर्शनभेट गरी उनीहरू बिदा भए ।

यस बेला राजदरबारमा गएका वाङ्देल दम्पतीलाई पर्खेर नारायण प्रसाद बाँसकोटा आफ्ना घरमा बसिरहेका थिए । वास्तवमा बाँसकोटालाई वाङ्देलप्रति ठूलो सद्भाव थियो । त्यसैले बाँसकोटालाई भेट्ने बित्तिकै वाङ्देलले पनि दर्शनभेटका सबै बेहोरा वर्णन गरे । राजासँगको वार्ताको निष्कर्ष निकालेर त्यसै बेला बाँसकोटाले वाङ्देललाई भनेका थिए— ‘लौ वाङ्देलजी अब तपाईहरूको दिन आयो ।’ बाँसकोटाका कुरा सुनेर वाङ्देल दम्पतीलाई त्यो समय नपाउनुको खुसी प्राप्त भयो । त्यस दिन पनि बाँसकोटा र वाङ्देल दम्पतीले राजा महेन्द्रको महानताको गुणगान गरेर नै आत्मसन्तुष्टि ग्रहण गरे ।

वाङ्देल दम्पतीले श्री ५ महेन्द्रलाई भेटेको केही दिनपछि नारायणप्रसाद बाँसकोटाका घरमा एउटा चिठी आयो । त्यो चिठी चाहिँ श्री ५ को सरकारबाट बाँसकोटालाई लेखिएको थियो । त्यही चिठी अनुसार बाँसकोटा श्री ५ को सरकारको सूचना विभागको निर्देशक भएका थिए । वाङ्देलका अनुसार श्री ५ महेन्द्रकै निगाहबाट बाँसकोटाले पनि जागिर पाएका थिए । यस विषयमा वाङ्देलले पछिसम्म भनिरहे—‘राजा महेन्द्र दूरदर्शी होइबक्सन्थ्यो ।’ कुन मान्छे कुन ठाउँका लागि योग्य छ भन्ने बेहोरा राजा महेन्द्रलाई थाहा थियो ।

लैनसिंह वाङ्देल नेपाल भित्रिएको दुई हप्तापछि शङ्कर लामिछानेको सौजन्यमा वाङ्देलका लागि एउटा स्वागत समारोह सम्पन्न भयो । त्यो समारोह नयाँ सडकको पारस होटलमा आयोजित थियो । त्यस दिन त्यहाँ नेपालको सांस्कृतिक फाँटका एकसे एक मान्छेहरूको भेला गराइएको थियो । त्यहाँ उपस्थित सबैसंग बाँसकोटा र लामिछानेको पालैपालो परिचय गराएका थिए । त्यसै क्रममा दुबैले वाङ्देलको साहित्य र कलाको विषयमा गतिलो प्रकाश पारेका थिए । एकातिर बाँसकोटाको भरथेग र प्रेम अर्कातिर शङ्कर लामिछानेको आत्मीयताबाट वाङ्देललाई नेपाल एकथोपै बिरानो जस्तो आभास भएन । वास्तवमा नारायणप्रसाद बासकोटा जस्ता सहृदयी र सहयोगी मान्छेको न्यानो स्पर्शमा काठमाडौंमा बस्नु र शङ्कर लामिछाने जस्ता परोपकारी र शुभचिन्तकको स्नेही व्यवहार पाउनुबाट वाङ्देलका मनभरि उत्साहका रङ्गहरू उर्लिरहेका थिए ।

नारायणप्रसाद बाँसकोटा सूचना विभागको निर्देशक भएपछि उनी पनि आफ्नो कामका घोटिन थाले । त्यस बेला उनले वाङ्देलको पनि सहयोग लिए । बाँसकोटाले पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र राजा महेन्द्रको ‘हे वीर हिँड अगि सरी’ शीर्षक कविताको ह्याङ्गर पोस्टर छाप्ने योजना बनाए । बाँसकोटाले त्यो पोस्टर वाङ्देलकै सहयोगमा भारतबाट छपाएर ल्याउने मनसाय राखे । अनि त्यसैसन्दर्भमा बाँसकोटाले वाङ्देललाई भने बाँङ्देलजी पृथ्वीनारायण शाह र राजा महेन्द्रको पोस्टरको ह्याङ्गर बनाउने मलाई विचार आयो । तपाईलाई कोलकातामा यस विषयको धेरै ज्ञान पनि छ । यो श्री ५ को सरकारको पनि राम्रो काम हो, यो काम तपार्इंबाटै सम्पादन होस् । वाङ्देलले पनि विनासर्त बाँसकोटाको आग्रहलाई माने अनि उनी सूचना विभागको काम लिएर कोलकाता गए । त्यहाँ उनले दश वर्षपछि आफ्ना साथीभाईलाई पनि भेटे । त्यति बेला उनलै सबैलाई नेपालको वर्णन सुनाए । साथीभाइहरूको सहयोग लिएर उनले बाँसकोटाले जिम्मा दिएको काम भनेजस्तो गरी सम्पन्न गरे । उनले कोलकाताबाट राम्रा राम्रा पोस्टर छपाएर चाँडोभन्दा चाँडो काठमाडौं ल्याए । वास्तवमा त्यस बेला काठमाडौंमा ती पोस्टर मन नपराउने मान्छे नै थिएनन् । साथै ती पोस्टरहरू राजा महेन्द्रले पनि खुबै मन पराएका थिए ।

लैनसिंह वाङ्देल कोलकाताबाट काठमाडौं फर्किएताका नेपालमा रवीन्द्रनाथ ठाकुरको शतवार्षिकी उत्सव मनाउने समिति बनेको थियो । त्यस पर्वमा आयोजक समितिबाट नारायण प्रसाद बाँसकोटाको सिफारिस र आग्रहमा वाङ्देललाई ठाकुरको ठूलो तस्विर बनाउने जिम्मा दिइएको थियो । वास्तवमा त्यतिखेर वाङ्देलले काम त पाएका थिए, तर भने जस्तो तस्विर बनाउनका लागि उनलाई समयचाहिँ पर्याप्त थिएन । यति हुँदाहुँदै पनि वाङ्देलले आफ्नो काम पूर्ण निष्ठाका साथ गर्न थाले र उनले सो कार्य ठिक समयमा नै सम्पन्न गरेका थिए । साथै नेपालमा प्रवेश गरेपछि वाङ्देलले बनाएको प्रथम औपचारिक तस्विर पनि त्यही नै थियो । सो समारोह काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मनाइएको थियो । सो समारोहको आयोजक चाहिँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान थियो । त्यस बेला वाङ्देललाई चित्र बनाउन हरतरहले सहयोग गर्ने नारायणप्रसाद बाँसकोटा नै थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी