गोरखा, ३० वैशाख । गोरखाको गण्डकी गाउँपालिका–६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ । माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको हो। केन्द्रको तीन सय मिटर क्षेत्रभित्र ढुंगा हानाहान हुँदा मतदान रोकिएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।
शुक्रबार बिहान ११ः१० बजेदेखि मतदान प्रक्रिया स्थगित भएको मतदान अधिकृत अनुप देवकोटाले जानकारी दिए ।
‘बाहिर ढुंगा हानाहानको स्थिति छ । मतपत्र, मतपेटिका कोठाभित्र लगेर सुरक्षित राखिएकोछ उनले भने, कर्मचारीहरु सुरक्षित हुनुहुन्छ । मतदान रोकिएको छ ।
घटनास्थलमा थप सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाको टोली समेत गएको छ । देवकोटाका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ।
सर्वदलीय बैठकबाट सहमति गरेर मतदान प्रकिया पुनः सुचारु गर्ने तयारी भएको घ्याल्चोक प्रहरी चौकी प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि मतदान केन्द्रमा पनि माओवादीले अवाञ्छित गतिविधि गरेपछि दोहोरो झडप भएको हो । झडपछि हवाई फायरिङ भएको थियो ।
ज्ञानमार्ग केन्द्र सुचारु भएलगत्तै बालकीमा झडप भएको हो ।गण्डकी गाउँपालिकाको तीनवटा मतदान केन्द्र विगतका चुनावदेखि नै माओवादी केन्द्रले कब्जा गर्ने गरेको थियो । ती केन्द्रहरुलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा राखेको छ ।