काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचको मतदान देशभर शान्तिपूर्ण रुपमा भईरहेपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ ।
आज देशका विभिन्नस्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा,शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर, त्यस्तै कौडन्यामा पनि विवाद भएपछि हवाई फायर भएको छ । त्यस्तै बाजुराको बुढनन्दा नपामा हवाइ फायर भएको छ ।
दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली ६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडप भएका छन् ।बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान दुबै पक्षका एक एक जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता विष्णुकुमार केसीले झडप भएका अधिकांश स्थानको स्थिति नियन्त्रणमा आइसकेको र मतदान सुचारु भएको जानकारी दिए । उनले अहिलेसम्म झडप भएका स्थान मध्ये सर्लाहीको धनकौलमा मात्र मतदान रोकिएको जानकारी दिए ।
उता, बझाङको जयपृथ्वी नगरपालिका ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर माविमा मतपेटिका फुटाएको छ।
नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच सोही विषयलाई लिएर झडप भइरहेको छ । झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ।
यस्तै, केदारस्युँ ४ जगन्नाथ मावि ुखु केन्द्रमा पनि झडप भएको छ। मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ। झडप हुँदा मतदान रोकिएको स्थानीय शोभा भण्डारीले जानकारी दिइन्।