पोखरा, ३० वैशाख। स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।
वालिङ नगरपालिका १४ शिर्घबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप पंचमुलमा दुर्घटना भएको स्याङजा प्रहरीले जनाएको छ । जीप सडकबाट करिव पाँच सय मिटर तल खसेको थियो ।
वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाको नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । निर्वाचनको दिन भएकाले प्रहरी जनशक्ति कम हुँदा उद्धारमा कठिनाइ भएको थियो ।
घाइतेलाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।थप विवरण आउन बाकी छ । -तस्बिरः सामाजिक सन्जाल