भगवतीजी शुरुमै लेख्नुहुन्छ– “प्रत्येक मान्छेको जिन्दगी एक कथा हो । जीवन अनन्त सागर हो, जहाँ थुप्रै थुप्रै कथाहरू लुकेका हुन्छन् ।”
भगवतीजी लेखिकाका साथसाथै कवियत्री पनि हुनुहुन्छ । र, कवि हृदय संवेदनशील हुन्छ । अरुलाई प्रभावित नपार्ने घटनाहरूले कविको हृदय स्पन्दित तुल्याएको हुन्छ । खुशी अथवा दुःखका घटनाहरूले कवि हृदयलाई त्यही किसिमको संवेदना दिन्छ ।
भगवतीजीको एउटा गद्य कृति हात परेपछि यसलाई पढ्न थालें । कुनै पनि रचनाको सफलता केमा हुन्छ भने त्यसले पाठकलाई कतिको मुग्ध पार्छ । भगवतीजीको कथासंग्रह ‘मर्दको मायाँ’ पढ्न थालेपछि मैले यसलाई पढेर सिद्धाएपछि मात्र तल राखें । कुनै पनि रचनाको यो एउटा कसी हो, पाठकलाई कतिसम्म बाँधेर राख्न सक्छ । यस हिसाबले भगवतीजी उत्तीर्ण हुनुभएकोछ ।
नेपाली युवाहरूको नियति नै विदेसिनु भएको छ । भगवतीजी पनि नर्स या सुसारे भएर इजरायल जानुभयो । उहाँको पनि मुख्य काम भनेको नियमित रुपमा आफ्नो स्याहार आफै गर्न नसक्ने बृद्धबृद्धाहरूको स्याहार–सुसार गर्नु नै थियो । बृद्धाको स्याहार–सुसारमा लागेको चार बर्ष हुन लागिसक्यो । अशक्त भएकीप्रति माया, सद्भाव देखाउनु उनको कर्तव्य थियो । इजरायलको हाइफा शहरको एउटा घरमा बसेकी एक्ली बूढीको सेवा गर्दै बस्नु भएकी सारा नामक बूढी उनको स्याहार सुसारले गर्दा उनलाई आफ्नै छोराछोरी जस्तै माया गर्न थाल्छिन् । उनीहरू दुईको सम्बन्ध पनि गाढा भइरहेको थियो । लेखिकालाई उनको मालकिन सारालाई आफ्नो जीवन–गाथा सुनाउँछिन् । एकजनासँग प्रेम पर्छ र केही बर्ष सुखमय बैबाहिक जीवन बिताएपछि श्रीमान्ले छोडेर जान्छ, अर्कोसंग । प्रेममा धोका हुन्छ, तर साराको प्रेम सच्चा हुन्छ । उनका छोराछोरीहरू भेट्न आउँदा उनका श्रीमान् र प्रेमीको पनि हालखबर पाउने हुँदा बिदाको दिन छोराछोरीहरू कुरेर बस्छिन् । उनी भन्छिन्, “छोराछोरी आए भने उनको खबर पनि पाउँछु कि भनेर पिरिएकी हुँ । किनकि उनको खबर थाहा नपाउञ्जेल मेरो मन अशान्त हुन्छ । हिंजाआज उनैको खबर सुन्न मेरो मन ब्याकुल हुन्छ ।” सारा, मालकिनको कुरा सुनेर लेखिका घोत्लिन थाल्छिन् । भगवती बस्नेतको यस पहिलो कथाको सार यै हो ।
शीर्षक ‘बिर्सन नसकेको मायाँ’ दोस्रो कथा ‘युद्धले चुँडेको प्रेम’ मा नेपाली कामदार र एकजना भारतीय कामदार बीचको प्रेमको वर्णन गरिएको छ । नेपाली कामदार छाया र भारतीय कामदार कुलाप बेग्लाबेग्लै शहरमा काम गर्छन् । कामको सिलसिलामा दुबैजनाको एउटै शहरमा भेटघाट हुन्छ र माया बस्छ । केटा पञ्जाब (भारत)को र केटी नेपालकी हुन्छन् । त्यसबेला इज्रायल र हमास (प्यालेष्टिन) युद्ध चर्केको हुन्छ र बेलाबेलामा बमहरू शहरमा खसिरहन्छन् । एउटा बमले केटो कुलापको मृत्यु हुन्छ । प्रेमिका छायाँ भक्कानिएर रुन थाल्छिन् । “मेरो संसार उजाडियो । मेरो धडकनले मलाई छाडेर गयो। ममाथि पनि बर्सिएको हुन्थ्यो नि हमासको रकेट ।” कुलापको मृत्यु भएको पाँचौ बर्ष भए पनि छायाँ अझै पनि झुप्पाझुप्पा जैतूनका फूलहरू अपलक हेर्दै कुलापको बाटो कुरिरहन्छे ।

तेस्रो कथा रोजगारका लागि विदेशिनेहरूसँग सम्बन्धित छ । प्रेमी अमेरिका जान्छ । केही दिन त उसले खोजखबर लिन्छ पनि, पछि बिर्सिन्छ । मान्छे परिस्थितिको दास हुन्छ । प्रेमी आकासलाई पछ्याउँदै अमेरिका पुग्छे । पढ्न गएको प्रेमी भेट्टाउँदैन तर अर्कैले सहारा दिन्छ । ऊसँग स्नेह बढ्छ र बिहा पनि गर्छे । छोरी पाउँछे । एकदिन आफनो श्रीमान्लाई अर्कैको बाहुपारामा बाँधेको पाउँछे र संसारको यथार्थ बुझ्छे । केही दिन पछि प्रेमी आकासको चिठ्ठी आउँछ जसमा उसले क्षमा मांग्दै अब नयाँ जीवन शुरु गर्ने अभिलाषा व्यक्त गरेको हुन्छ । तर अंजलीले संसार र मतलबी प्रेमको अर्थ बुझी सकेकी हुन्छे त्यसैले प्रेमी आकासको प्रस्ताव अस्वीकार गर्छे । ऊ भन्छे, “अब फेरि तिम्रो मायामा फसेर आफूलाई कमजोर बनाउन चाहन्न ।” इमेल पठाएपछि छोरी उठेर रुन थाल्छे र उसलाई च्यापेर सुताउँछिन् ।
चौथो कथा ‘मर्गलित’ पारिवारिक प्रेमको कथा हो । परिवारको प्रेम कसरी फूलको माला झैं एक अर्कासँग उनिएर जोडिएको हुन्छ भन्ने देखाइएकोछ । यसमा मृत्युको बेला इज्रायलमा गरिन संस्कारको झलक दिखाइएको छ ।
पाँचौ कथा ‘यात्राको आरम्भ’ नेपाली नारीहरूको सामान्य भोगाइको कथा हो । बुहारी भएर अर्काको घर गएपछि त्यहीँको चलन गर्नुपर्ने, सासुको खटनपटनमा बस्नुपर्ने यथार्थको चित्रण गरिएको छ । यो कथा नेपाली नारीहरूको भोगाइको सामान्य कथा हो । तर पृष्ठभूमिमा लोग्नेको स्वार्थी मायाको झल्को दिन्छ । ‘काकाकुलको तृष्णा’ वर्तमान नेपालको सामाजिक, आर्थिक समस्या माथि आधारित छ ।
देशमा रोजगारीको अभावले गर्दा देशका कर्णधार युवा युवतीहरू विदेशिने क्रम बढ्दो छ । परिवारको आर्थिक अवस्था र लोग्नेको व्यभिचारले व्याकुल युवतीको कथा आजका नेपाली नारीको सामान्य अवस्था झल्काउने कथा हो ।

लेखक: दुर्गाप्रसाद श्रेष्ठ
‘असोचनीय मोड’ गरीबी र विवशताले गर्दा नेपाली नारीहरूको विदेशिने कथा हो । आर्थिक अभावका कारण छोराछोरीको लालन–पालन र शिक्षा–दीक्षाका लागि वैदेशिक रोजगारीको सहारा लिनु पर्ने वाध्यता झल्काउने यस कथामा राज्यको दायित्वविहीन भूमिका जिम्मेवार रहेको कुरा प्रष्ट्याउनु भएकोछ लेखिकाले ।
‘अदृश्य प्रेम’ लाई वास्तमा साइवर कथा भने हुन्छ । यस कथामा सूचना प्रविधिले अनुकूल पारिदिएको प्रेम कथा प्रस्तुत गरिएको छ ।
“विरहको आँसुले माला गाँसिराख है”, इमेलमा यस्ता उद्गार प्रकट गरिएकाछन् । अर्को उदाहरण–“ धेरै बेर बगैंचाको दूबोमा पल्टिएँ, सिरसिर बतासले बयेली खेल्दै मेरो कपास उडाइरहेछ…” आदि काव्यात्मक उद्गारहरू यस कथामा भरमार छन् । अर्को उदाहरण– “मेरो खुशीमा केही कीरण छर्ने यन्त्र यहीं कम्प्युटर छ….यसलाई एक्लोपनको साथी भने हुन्छ ।”
वसन्त नामक एकजना पुरुष र एकजना नारीको साइबर प्रेमको कथा हो यो । केही दिन, केही महिना म्यासेज नआउँदा मन छट्पटाउँदो रहेछ । वसन्तको म्यासेज नआउँदा ऊ सुत्न पनि सक्दिन, केही गर्न मन लाग्दैन । छ महिना पछि फेरि सन्देश आउँदा उसको मनको बर्षा ऋतुको धर्ती झैं हुन्छ । “प्रवासको यो जेजस्तो जिन्दगीमा यदि यो इन्टरनेट नहुँदो हो त कति सकस होला ।” कथाको वास्तवमा सार यै हो ।
…. ‘अनु, कृतिका र म’ कथामा वैदेशिक रोजगारमा गएका नारीहरूको आर्जन उनीहरूकै लोग्नेहरूल ठग्ने गरेको वास्तविकता उजागर गरिएको छ । गृहस्थीको दैनदिन आवश्यकता पूरा गर्न नसक्ने र सन्तानको भविष्य निर्माण गर्न नसक्ने पिताले स्वास्नीलाई वैदेशिक रोजगारीमा पठाएर आर्थिक शोषण गरेको चित्रण यसम कथामा मार्मिक ढंगले गरिएकोछ ।
… ‘अग्निको सात फेरा’ कथा हिन्दूधर्मको बिबाह पद्धतिको शाश्वत पक्षलाई पुरुष को स्वार्थले आघात पुर्याएको चित्रण हो ।
हाम्रो पितृसत्तात्मक सामाजिक संरचनाको प्रतिनिधित्व गर्ने यसा कथामा पुरुष जातिको बेइमानीका कारण यस वैदिक संस्कार माथिग कुठराघात भइरहेको कुरा कथाकारले कथाको मध्यबाट पस्किएकी छिन् । यस कथाले औंल्याउन खोजेको पितृसत्तात्मक अवगुण बारे हरेक पुरुषले मनन गर्नु सभीचीन हुनेछ ।
‘बेरंग जिन्दगी’ कथा नेपालको वास्तविक सामाजिक, आर्थिक र राजनैनिक अवस्था दिग्दर्शन गराउँछ । सुन्दर प्रकृतिले सजाएको सुन्दर नेपाल र सोझा सादा नेपालीलाई मात्र होइन देश नेपाललाई नै राजीनितिले बेरंग पारेको छ भन्ने आभास दिन्छ ।
युवाशक्तिलाई देश विकासका लागि पे्ररित नगरेर रोजगारीका लागि विदेश जान वाध्य बनाउने नीतिले देशलाई युवाविहीन बनाएको छ । उनीहरूले पठाएको ‘रेमिटेन्स’ मा देश चलिरहेकोछ । रोजगारीमा पठाउने व्यवसायको आडमा ठगी धन्दा चम्किरहेकोछ । कुनै रोकटोक, कुनै सुधारको लक्षण छैन । समग्र राष्ट्रलाई ‘बृद्धाश्रम’, ‘बालआश्रम’ र ‘अपांग आश्रम’ बनाउने षडयन्त्र चलिरहेकोछ । कथामा नेपालको वर्तमान सामाजिक अवस्था झल्किन्छ ।
‘किनाराको मन’ मन शाश्वत प्रेमको परिभाषा देखाइएकोछ । सच्चा प्रेम के हो, प्रेम शारीरिक सुख नभई आत्मिक सुखको मुहान हो भन्ने तथ्य यस कथामा उजागर गरिएको छ । सच्चा प्रेम ‘मनको तृप्ति’ मा आधारित हुनुपर्छ, ‘तनको तृप्ति’मा होइन भन्ने कुरा यस कथामा उजागर गरिएकोछ ।
‘मर्दको मायाँ’ यसको संग्रहको शिर्षक कथा हो । घरको आर्थिक अवस्थाले विदेशिनु पर्ने नारीहरुको विवशता यस कथामा पनि पस्किएको छ । सम्भवतः यस संग्रहको सबभन्दा छोटो यस कथा (जम्मा पाँच पृष्ठ) को पुस्तकको शिर्षक पाएको कारण लेखिकाले ‘मर्दको मायाँ’ निष्ठुरी र स्वार्थी हुन्छ भन्ने उद्देश्यले होला । लेखिका स्वयंले देशमा रोजगारको अवसर नहुँदा विदेसिनु परेकोले होला, उनको कथाको संग्रहको मूल केन्द्रबिन्दु वैदेशिक रोजगारको पीडा र क्लेश नै हो । जतिसुकै पैसा कमाए पनि विदेशको जीवनमा आफ्नोपन हुन सक्दैन । यस संग्रहले मूलतः यहीं सन्देश दिन्छ । गरीबी र अभावको छटपटाहटको भावनाले भरिपूर्ण यस कथा संग्रहले एक सहनशील नारीको सशक्त लेखनीबाट निस्केका उद्गारहहरु स्मरणीय छन्। पढिसकेपछि पाठक सोंच्न वाध्य हुन्छ–“के हामी नेपालीको नियति यहीं नै हो ?”
( लेखक श्रेष्ठ ‘उदय’ नेपाली साहित्यिक त्रैमासिक, वाराणसी (काशी)का सम्पादक तथा प्रकाशक हुन् ।)