बारा, २९ वैशाख। स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । तर, बारामा बुधबार राति खुलमखुला मदिरा बिक्री गरिएको भेटियो ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । तर, मादक पदार्थ बिक्री वितरण भने भइरहेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन दिएको निर्देशनविपरीतका कार्य भइरहेका छन् ।

बाराको सबै पालिकामा खुलेआम मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवन भइरहेको पनि सम्बन्धित निकाय मैन देखिन्छ । बुधबार राति ९ बजेसम्म पनि बाराका बिभिन्न ठाँउमा मादक पदार्थ बिर्की भइरहेको पाइयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बारामा १६ वटै पालिकामा हाल मादक पदार्थ निषेध भएकाले कोही कसैले उल्लंघन गरेको भए कारबाही गरिने जानकारी दिए ।

सोमबार जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ तर बारामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश कागजमा मात्रै सिमित भएको छ ।

मदिरा सेवन गरेका प्रहरीबाटै कुटिए मतदान अधिकृत, म्यादी र गाउँले
निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् ।
मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए । स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेकाे प्रत्यक्षदर्शीले बताए । म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई उद्धार गरेर मतदान अधिकृतलगायतको टोली बसेको घरमा राखिएको थियो । उनले बोकेको पेस्तोल अन्य प्रहरीले खोसेका थिए । भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन् ।
मतदान अधिकृत झाका अनुसार बुधबार राति ११ देखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको जानकारी दिए । ‘मदिरा सेवन गरेर सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुटपिट गरेछन्,’ झाले भने, ‘त्यहाँबाट प्रहरीले उद्धार गरेर हामी सुतिरहेको घरमा ल्याएपछि हामीमाथि नै कुटपिट भयो ।’
मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताए ।