सप्तरी, २६ वैशाख । भारतसँग सीमा जोडिएको सप्तरी जिल्लाको सम्पूर्ण सीमा नाकाहरू आज मङ्गलबारदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरण सम्पन्न गर्न मङ्गलबार राति १२ देखि शुक्रबार राति १२ बजेसम्म सीमाबाट हुने आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को परिच्छेद ६ (थ) वमोजिम मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा समेत रोक लगाइएको छ ।
स्थानीय तह निर्वाचनको मतदान कार्यका दिन शुक्रबार बिहान ५ देखि साँझ ६ बजेसम्म एम्बुलेन्स, वारुणयन्त्र, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधनबाहेक अन्य सम्पूर्ण यातायातका साधनहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै यही वैशाख २७ गते राति १२ देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ ।
यही वैशाख ३० गते सम्पत्र हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पत्र गर्न मोरङसँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यसैगरी बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका पनि आज रातिदेखि बन्द हुने भएको छ ।
भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उहाँले बताउनुभयो ।
यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ ।