वीरगन्ज, २४ वैशाख । अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीयलाई बाराको सिम्रौनगढबाट प्रहरीले पक्राउ गरेको छ ।
सिम्रौनगढ नगरपालिका ९ बसवरीयादेखि कचोर्वा जाने सडकबाट आज बिहान १० बजे सशस्त्र प्रहरीले अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जीन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको बिहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् ।
सिमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट चाइनिज पेस्तोल १ थान , त्यसमा लाग्ने २ राउण्ड गोली , १ थान म्याग्जनी २ थान , कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पेस्तोल र गोलीसहित पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।