बैशाख २० ओखलढुंगा । नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मनिष भनिने मिलनकुमार विष्टविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पत्र पठाएको छ ।
बैशाख १६ गते जिल्ला अदालतले उनीविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको छ ।
उनीविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेको छ । यस विषयमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको छ । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरी परेको छ । भक्तपुर जिल्ला अदालतले पठाएको पक्राउ पुर्जीमा उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
थप केही प्रमाण संकलन गरेर विष्टलाई पक्राउ गरेर अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यलयले तयारी थालेको बताएको छ । नेपाली कांग्रेसको लिखु गाउँपालिकाकै अध्यक्ष पदका उम्मेदवार अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतलाई दोहोरो नागरिकता र बैंकिङ कसुरमा कालोसूचीमा परेको भनी उजुरी दर्ता गरेका थिए ।
निर्वाचन अधिकृत राजेशकुमार थापाले ‘पछि कानुनबमोजिम हुने गरी हाललाई मनोनयन पत्र खारेज गरिरहनु नपर्ने’ भनी निर्णय गरेपछि उनको उम्मेदवारी खारेज हुनबाट जोगिएको छ । तर प्रहरीले उनलाई फरार सूचीमा राखेर खोजबिन थालेको छ ।
एउटै व्यक्ति भए पनि उनकोे आयोगको मतदाता नामावली सूचीमा क्र.सं.१३६३ को मतदाता नम्बर ३७९८२९२ र क्र.सं.२१७४ को मतदाता नं. १७७६४४३० मा उनको नाम मिलनकुमार विष्ट र होमबहादुर विष्ट भनेर उल्लेख गरिएको छ । उनले २०४७ मा ओखलढुंगा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टका नाममा नागरिकता लिएका छन् । त्यसैगरी २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिएको पाइएको छ ।