खोटाङ, १७ वैसाख । खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् ।
आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर जबरजस्ती करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।
यसै गरी यता काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।