बैशाख १६ चितवन । कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिएनन् ।
उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए ।
पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन् । उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आएका थिए । तर, पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाडौ फर्किएका छन् ।
पौडेलले उम्मेद्धारी फिर्ता नलिएपछि साझा उम्मेद्धार रेणु दाहालमाथि केही दबाब बढेको महसुस गरिएको छ । काँग्रेसको आधिकारीक समर्थन दाहाललाई रहे पनि भावनात्मक रुपले काँग्रेसी कार्यकर्ता जोडिएकाले उनले केही मत पाउने निश्चित छ ।
त्यो स्थितिमा सांगठनिक रुपमा तेस्रो स्थानमा रहेको माओवादीले दाहाललाई जिताउन थप मेहेनत गर्नु पर्ने देखिएको छ । दाहालले जित्नेमा भने आशावादी रहेको बताएकी छन् ।
एमालेले पनि विजय सुवेदीलाइ उम्मेद्धार बनाएको छ । उनको सामाजिक प्रभाव पनि राम्रै रहेको र एमालेको संगठन पनि बलियो रहेकाले कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ ।
गएको पाँच वर्षमा रेणु दाहालले गरेको कामले उल्लेख्य प्रशंसा बटुलेको छ । उनले व्यक्तिगत रुपमा थुप्रै मत तान्न सक्ने आंकलन गरिएको छ । माधव नेपालसँगै आएको एमालेको मत, जसपा र जनमोर्चाको केही मत र काँग्रेसको आधा भन्दा बढी मत आएमा जित्न सकिने माओवादी नेताहरुको आँकलन छ ।
तर बिजय सुवेदीलाई जिताउन राप्रपा पनि लागिपरेर तालमेल गरेकाले प्रतिस्पर्धा कडा हुने निश्चित देखिएको छ ।