बैशाख १३ भरतपुर । भलै माओवादी केन्द्र सांगठिन रुपमा काँग्रेस र एमाले जतिको बलियो छैन भरतपुर महानगरपालिकामा । तर पनि आउने निर्वाचन जित्ने आत्माविस्वास उम्मेद्धार रेणु दाहालमा देखिन्छ ।
एमालेका प्रदेश सांसद विजय सुवेदी त्यो पद त्यागेर मेयरका लागि मैदानमा आएका छन् ।अबको रेणु दाहालको मुख्य प्रतिस्पर्धा सुवेदीसँग हुने आंकलन शुरु भएको छ । किन भने काँग्रेसले आधिकारीक रुपमा माओवादीलाई समर्थन गरेको छ । यद्यपि, चितवनमा काँग्रेसको जगन्नाथ पौडेलले बागी उम्मेद्धार खडा भएका छन् । उनलाई फिर्ता गराउन काँग्रेसको उच्च नेतृत्वले प्रयास गर्नेछ ।
रेणु संगठनको आधार भन्दा बढी कामका कारण भरतपुरमा लोकप्रिय भएको तथ्यहरुले देखाएका छन् । दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा उल्लेख्य र महत्वपूर्ण विकास गरेको अनूभूति धेरैले गरेका छन् । अस्पताल सेवा, किशानलाई अनुदान, बाटो , पुल, लालपूर्जा वितरण देखि विद्यालय व्यवस्थापन सम्म दाहालको कामलाई सर्वसाधारणले पार्टी भन्दा माथि उठेर समर्थन गरेको देखिन्छ । जनताबाट पाएको सोही मायालाई रेणुले जीत्ने आशाको आधार बनाएकी छन् । उनी दिनुहँ जनभेटघाट, किशानका घर देखि अस्पतालका बिरामी चाहर्न पुगिरहन्छिन् । यसले उनीप्रतिको सहानुभूति उल्लेख्य देख्न सकिन्छ अन्य उम्मेद्धारको तुलनामा ।
तर संगठन तेस्रो पोजिसनमा रहेकाले उनलाई त्यति जनसमर्थनले मात्र जितिन्छ भनेर ढुक्क हुने स्थिति छैन । यही बीचमा काँग्रेसको समर्थन, एकीकृत समाजवादी र जसपाको पनि समर्थन रहेकाले रेणुको हौसला बढेको छ । उनले गरेका काम र जनताको प्रतिकृया समेटेर हालै उनको चुनावी गीत पनि सार्वजनिक भएको छ ।
यसमा खास गरी काँग्रेसको ठूलै मतसंख्या बागी उम्मेद्धार पौडेलले काटे भने एमालेका बिजय सुवेदीले पनि बाजी मार्न सक्नेछन् । भरतपुरमै जन्मिएपनि रेणु कक्षा १० पढ्दा पढ्दै बन्दुक बोक्न हिडिँन र पछिल्लो पाँच वषमा मात्रै उनी चितवनमा केन्द्रीत बनिन् । उता बिजय सुवेदी भरतपुरमै लामो समयदेखि सक्रिय मात्र नभई चिरपरिचित पनि रहेकाले बागीले काट्ने भोट, राप्रपाको साथका कारण जित हासिल गर्नेमा आशावादी छन् ।
चुनाव जसले जितेपनि भरतपुर अहिलेको राजनीतिक चर्चाको केन्द्र बनेको छ ।
मेयरमा क-कसले दिए उमेदवारी ?
एमालेबाट विजय सुवेदी, माओवादी केन्द्रबाट रेणु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रविन काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदूर किसान पार्टीबाट हरिप्रसाद दुवाल र माक्सवादी लेनिनवादीबाट सूर्यप्रसाद रेग्मीले मेयरमा उमेदवारी दर्ता गराए ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टी (जपा)बाट संजयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोला, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट सुरेन्द्र परियार र सामाजिक एकता पार्टीबाट खेम प्रसाईंले उमेदवारी दिए ।
स्वतन्त्रतर्फबाट रुद्र प्रसाई, उद्वव अर्याल, रामकृष्ण ओझा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, जगन्नाथ पौडेल, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, शरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र हरिश्चन्द्र घिमिरेले मेयरमा उमेदवारी दिएका छन् ।
उपमेयरमा क-कसले दिए उमेदवारी ?
कांग्रेसबाट चित्रसेन अधिकारी, विवेकशील साझा पार्टीबाट पुष्पा सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमला गुरुङ, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सुस्मा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कल्पना थापा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्रीले उपमेयरमा उमेदवारी दिए ।
स्वतन्त्रबाट रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडालले उपमेयरमा उमेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गरेका उमेदवारको विरोधमा उजुरी दिन सकिन्छ ।