संवत् २०२० सालको कुरा हो, त्यसै वर्ष दिदी नीराले मलाई स्कुल भर्ना गरिदिएकी थिइन् । ताप्लेजुङ हाङपाङको सरस्वती डीएसबी हाइस्कुलमा शिशु कक्षामा भर्ना हुँदा म आठ वर्षको थिएँ । त्यस बेलासम्म मैले घरमा कखग पनि कण्ठ गरेको थिइनँ । अनि मैले स्कुले जीवनमा टेकेपछि नै ठूलो वर्णमाला पढ्ने अवर पाएको थिएँ ।
मलाई आमाले भन्ने गर्थिन्— ‘म सानामा सबैको प्रिय थिएँ ।’ अनि यही कुरा मलाई मेरी दिदीले पनि भन्ने गर्थिन् । आमापछाडि मलाई माया गर्ने मेरी दिदी नै थिइन् । नीरा दिदी म भनेपछि हुरुक्कै हुन्थिन् । मलाई सानामा बोलाउँदा उनी ‘मन्त्री’ भन्थिन् । उनको मप्रतिको लगाव नै मातृवत् थियो । वास्तवमा मैले सानामा मेरी आमाको स्नेहका साथसाथै दिदीको पनि त्यतिकै गहिरो माया, मोह र प्रेम पाएको थिएँ । साँच्चै हो, मेरी दिदी नीरा करुणाकी एउटी देवी थिइन् ।
मेरी आमाको कोखकी मेरी दिदी दोस्रो सन्तान थिइन् । मेरी आमाका कोखबाट दिदीपछि जन्मेका पनि छोरा नै जन्मेका थिए जसको नाउँ थियो— ‘पद्मराज प्रसाई ।’ मेरा दाजु पद्मराज प्रसाईको धेरै दिनको विमारीले मृत्यु पनि भएछ । उनको मृत्युपछि मेरी आमा साह्रै भुट्भुटिन थालिछिन् । उनी सपना, विपना, कल्पना र एकान्तमा जहीँतहीँ पद्मराजको लेखाजोखामा लाग्थिन् । त्यस बेला मेरी आमा रुने ठाउँ दाजु विष्णुभक्त, दिदी नीरा र दाजु दीर्घराज मात्र थिए रे । हुन त पद्मराजको निधन हुँदा मेरो अर्का दाजु भरतराज ३ वर्षका भइसकेका थिए । तर उनी त्यस बेला सूझबुझ राख्ने नभएका हुँदा आमाको आँसुको मूल्य बुझ्नेचाहिँ दुई दाजु र एक दिदी मात्रै थिए ।
त्यस बेला मेरी आमाका बोलीमा ‘माइलो’ र आँखामा ‘नमोर नदी’ मौजूद रहन्थ्यो । आमाको दिलमा एक्कासि वज्र प्रहार भएपछि उनी नरमाइलो पल गनेर समय बिताउने गर्थिन् । मेरी आमा तिनै दिवङ्गत दाजु पद्मराजले मर्ने बेलामा भनेको कुरामा केन्द्रित भएर तिनै संवाद झिक्तै रुने गर्थिन्— ‘आमा ! म अब मर्दैछु तिमीले कहिल्यै नरुनू ! आमा ! तिमीले रोएर कतै नहिँड्नू है, ल ? मेरी आमा ! मैले तिमीलाई सुक्ख दिन सकिन । मलाई माफ गर है आमा ?’
बह्र वर्षीय छोरो स्वर्गीय भएपछि मेरी आमाको छाती काँक्राका चिराहरूझैँ चिराचिरा भएको थियो । आगोले पोलेको मुटु बोकेर त्यस बेला मेरी आमा रनबन चहार्ने गर्थिन् । त्यस बेला मेरी आमालाई न घरमा शान्ति थियो न बाहिर आनन्द आउँथ्यो । उनी खालि रोदनमा नै समय कटाउने गर्थिन् । तीजका दिन आफ्ना छोरालाई बिदा दिएका कारणले मेरी आमालाई २०१० सालपछाडि कहिले पनि तीज आएन । सधैँको तीजमा मेरी आमा आफ्नो ‘माइलो’ छोराको स्मृतिमा अझै रुने गर्छिन् ।
२०११ सालको कुरा रहेछ । त्यस बेला सपनामा आमाले पुनः आफ्नो माइलो छोरो देखिछन् । त्यस घडीको सपनाका विषयमा मेरी आमा बराबर भन्ने गर्छिन्— ‘‘एउटा ठूलो ढुङ्गाको चुचुरामा माइलो रोएर बसिराखेको रहेछ । मैले ए माइला ! किन रोइस् भनेपछि उसले भन्यो— ‘आमा ! मैले कतै जाने ठाउँ पाइन ।’ मैले आइज न बाबई मसँगै भनेँ । अनि ऊ मेरा ढाडमा आयो । मैले उसलाई बुई बोकेँ । मैले त्यो सपना देखेपछि नरेन्द्र मेरो पेटमा बस्यो । नरेन्द्र जन्मेपछि मैले त्यति रुन पनि परेन । यो मेरो आँसु पुछिदिने छोरो हो । त्यसपछि म सधैँ नरेन्द्रकै मायामा गाँसिएकी छु । मेरा छोराछोरीहरूमध्ये म नरेन्द्रलाई कहिल्यै आँखाबाट टाढा राख्न पनि चाहन्न । तर पनि ऊ कहिल्यै मसँग छैन ।”

नीरा सिटौलाका पाउमा ढोग्दै नरेन्द्रराज प्रसाई; पछाडि पट्टि इन्दिरा प्रसाई र गुना सिटौला ।
सानामा जति म आमाको प्यारो थिएँ अहिले पनि आमाको म त्यति नै मायालु छु । साँच्चै हो, अझै पनि मेरी आमा मेरै मात्र खोजीनितीमा लाग्ने गर्छिन् । कतै टाढाबाट म घर पुग्दा आमा मलाई भेट्ता पनि रुने गर्छिन् र म कतै हिँड्ने भएँ भने बिदा दिँदा पनि रुने गर्छिन् । साथै त्यसको प्रतिरूप मैले मेरी दिदी नीरामा पनि देख्ने गरेको छु । मेरी दिदीले पनि मलाई मेरी आमाले जत्तिकै माया दिएको बेहोराबाट म सधैँ प्रेरित छु । मैले पनि आजसम्म मेरी दिदी नीरालाई आमासरहकै दरबन्दीमा राख्तै आएको छु । मेरो व्यावहारिक कठिनाइले म दिदीभन्दा टाढा हुँला तर पनि भावनात्मक रूपमा म आफूलाई सधैँ दिदीसँग झापाको शनिश्चरे बजारमा बसिरहेको पाउँछु ।
हुन त उमेर बढ्दै गएपछि मेरी आमा र दिदीसँगको संसर्गमा म त्यति सारो रहन सकिन । यति हुँदाहुँदै पनि मेरी दिदीले मेरो जीवनका लागि लगाएको लगानी, गरेको काम र चिताएको शुभेच्छाबाट म कहिल्यै अनभिज्ञ पनि भइँन । मेरो जीवनको सम्पूर्ण भागलाई लेखाजोखा गर्दा उनको मप्रति सारै ठूलो लगानी भएको पाइन्छ । खास गरेर मेरो बाल्यावस्थामा मप्रति उनको अथाह परिश्रम थियो । पढाउन, लेखाउन डोर्याउन र हुर्काउनमा मेरी दिदीको भूमिकाले गर्दा मेरो योग्यताको बढोत्तरी हुँदै जान थाल्यो । आमा भन्छिन्— मेरो शिशु अवस्थामा म कहिल्यै दूधबिना केही खान्न थिएँ । घरमा गाईभैँसी थाक्ता मेरी दिदीले मेरा लागि लैनो बाख्रो किनेर ल्याएर पनि मलाई दूध खुवाउने गर्थिन् ।
मलाई कख सिकाउने पनि मेरी दिदी नै थिइन् । त्यस बेला उनी ठूलो वर्णमाला जान्दथिन् । जब म तीन कक्षामा पुगेँ, त्यसपछि भने मैले पनि दिदीलाई सिकाउन थालेँ । हुँदाहुँदै त्यस बेला दिदी र म एउटै घरमा बस्ता पनि चिठी लेखालेख गर्थ्यौँ । मैले जीवनमा पहिलोपल्ट चिठी पनि दिदीलाई नै लेखेको थिएँ र दिदीले पनि पहिलोचोटि मलाई नै चिठी लेखेकी थिइन् । त्यस समय हामी एकअर्काको चिठी जाँचेर एकअर्कालाई पास फेल गर्ने गर्थ्यौँ । साँच्चै भन्ने हो भने मेरो प्राथमिक पाठशालाको मेरुदण्ड नै मेरी दिदी थिइन् ।

नीरा सिटौलासँग नरेन्द्रराज प्रसाई र डा.कञ्चनजङ्घा प्रसाई ।
म सानो हुँदा दिदीसँग मेरो बिछोड पनि भएको थियो । त्यस बेला दिदीको अनुपस्थितिमा मलाई दिदीको ठूलो रिक्तमा महसुस भयो । त्यस बेला मेरी आमा घरको पिँडीमा बसेर दिदीकै नाउँमा गीत गाउने गर्थिन् । उनी गीत गाउँदागाउँदै रुने गर्थिन् र त्यस बखत म पनि आमासँगसँगै लागेर रुने गर्थें । वास्तवमा मेरी आमाको स्वर साह्रै मधुर र कर्णप्रिय थियो । अहिलेको असी वर्षीय जीवनमा पनि मेरी आमा लोकगीत, सँगिनीगीत र केही आधुनिक गीत पनि गाउने गर्छिन् । २०५४ सालको दसैँताका मैले मेरी आमाका केही गीत घरमा रेकर्ड पनि गरेको छु । मेरी आमा आफ्नी एक मात्र छोरी नीरा दिदीसँग हुरुक्क भएर माया गर्छिन् । एउटै छोरी भएका कारणले पनि होला आमाका लागि संसारमा दिदीभन्दा नजिक कोही छैन जस्तो लाग्छ । साथै मेरी आमा मलाई पनि भन्ने गर्छिन्— ‘दिदीले सबैका लागि गरेकी छे तर तेरा लागि त उसले कहिल्यै जाडोगर्मी पनि भनिन, झरीबादल पनि भनिन र भोकतिर्खा पनि भनिन ।’ साँच्चै हो मेरी दिदीलाई म मेरो जीवनका लागि मेरी आमासरहकी एउटी साक्षात् स्नेहदेवी मान्दछु ।
म मेरो जीवनको मूल्याङ्कन गर्ने क्रममा कहिलेकाहीँ घोरिएर सोच्ने गर्छु— ‘मेरो भाग्यरेखा नै मेरी दिदी हुन् ।’ यदि दिदी नभएकी भए मेरो जीवनको प्रारम्भिक अवस्था पनि गोठालोमै बित्थ्यो होला । त्यस बेला म काठमाडौँ पनि आउन सक्तिन थिएँ होला । अहिले म जे छु, जत्तिको छु र जस्तो छु त्यसको पार्श्वभूमिका नै मेरी दिदी नै हुन् । दिदीको मेरो जीवनसँग गाँसिएका अनेक प्रसङ्गहरू म सम्झने गर्छु । पहिलोपल्ट भनौँ या २०२८ सालमा म काठमाडौँ आउनाको पनि एउटा रोचक प्रसङ्ग छ ।
झापाको नक्सलाइट आन्दोलन शनिश्चरेको सालबारीबाट प्रारम्भ भएको थियो । त्यस बेला म १६ वर्षे अल्लारे थिएँ । त्यसैले त्यस बेला प्रत्यक्ष र परोक्ष रूपमा म पनि नक्सलवादीहरूसँग सम्बन्धित थिएँ । मेरी आमा, ठूल्दाजु (विष्णुभक्त प्रसाई) र दिदी मेरो त्यो हाउभाउबाट चिन्तित थिए । त्यसैले त्यस बेला दिदीले एउटा हातले डकोटा विमानको टिकट किनेकी थिइन् र अर्को हातले काठमाडौँ निवासी मेरा दाजु दीर्घराज प्रसाईलाई आकाशवाणी लेखेकी थिइन्— ‘नरेन्द्र भाइ माघ ६ गतेको जहाजबाट काठमाडौँ आउँदैछ ।’ त्यो आकाशवाणी दाजुका हातमा परेपछि दाइले प्रत्युत्तर दिँदै तुरुन्तै आ.वा. झापा पठाएका थिए— ‘भाइलाई अहिले कुनै हालतमा काठमाडौँ नपठाउनू ।’ तर त्यस घडी दाजुले पठाएको त्यस आ.वा.लाई दिदीले कसैलाई सुइँको नदिई लुकाइछिन् । त्यस बेला दिदीले मेरी आमा र ठूल्दाजुलाई पनि त्यो आ.वा.को खबर दिएकी थिइनन् र म पनि त्यो समाचारबाट टाढा थिएँ । तर म काठमाडौँ हिँड्ने अगिल्लो दिन साँझ दिदीले मलाई त्यो आ.वा. देखाउँदै भनिन्— ‘भाइ ! दीर्घराजले यस्तो आ.वा. पठाएछ । तर अब तँ जा । यो आ.वा.बारे तैँले केही थाहा नपाएजस्तै गर्नू । दाजु हो, प्यारो गर्छ । बरु फर्कनै परे पनि काठमाडौँ हेरेर फर्कनू ।’ वास्तवमा आजसम्म पनि दिदीप्रतिको यो वाचा मैले कहीँ कतै चुहाएको छैन । त्यो आकाशवाणीको कुरा हामी दिदीभाइका पेटबाट आजसम्म अन्यत्र कतै गएकै पनि थिएन ।
अहिले पनि म दिदीको मायामा त्यतिकै आबद्ध छु । अहिले पनि दिदीको सल्लाह मेरा लागि त्यतिकै शिरोधार्य छ । अनि अहिले पनि दिदीको मप्रतिको दृष्टिकोणले मलाई नै प्रेरित गरिरहेको छ । अहिले पनि मेरी दिदीले बोलेपछि उनको शब्दहरु मेरा लागि झन्डै ढुङ्गाको अक्षर नै हुन्छन्, किनभने मेरी दिदी सधैँ ठीक, उचित र समयसापेक्ष कुरा गर्छिन् । उनको व्यवहारमा सधैँ कञ्चनजङ्घा टल्केको हुन्छ ।
म बारम्बार आफैँलाई भन्ने गर्छु— ‘मेरो भाग्य रेखा नै मेरी दिदी हुन् ।’ तर आजसम्म मैले मेरी दिदीका लागि केही ठोस काम गर्न सकेको छैन । भावनाले मात्र काम दिँदैन रहेछ भन्नेको प्रमाणका रूपमा आज म आफैँ उभिएको छु । किनभने मैले दिदीप्रति अनन्त भावना राखेको छु तर व्यवहारमा मैले मेरी दिदीका सुक्ख र दुक्खका लागि एउटा सिन्को पनि भाँच्न सकेको छैन । दिदीको सेव गर्न म आफू असमक्षम भए तापनि म बारम्बार मेरो छोरा कञ्चनजङ्घालाई भन्ने गर्छु— ‘तैँले तेरी फुपूलाई तेरी आमा मान्नू ।’ सानैदेखि मेरो छोरो कञ्चनजङ्घाले पनि मेरी दिदीलाई त्यत्तिकै सम्मान गर्दै आएको छ । यसै प्रसङ्गमा उसले एक दिन छोरी निकेतिकालाई पनि भनेको रहेछ— ‘कुनै दिन मैले दुक्ख पाएँ भनेँ म फुपू भएको ठाउँमा जान्छु । फुपूले नै मलाई सबैभन्दा माया गर्नुहुन्छ ।’ मेरी दिदीको दयनीय आर्थिक अवस्था भए तापनि मेरो छोरोचाहिँ मेरी दिदीलाई धनी देख्ने गर्छ । किनभने मेरी दिदी मनकी करोडपति छिन् । उनको उदारताले सधैँ शिखर नाघिरहेको हुन्छ । जे होस्, मेरो छोराको बालविवेकमा पनि मेरी दिदीको गहिरो छाप बसेको पाउँदा मलाई अपार हर्ष लाग्छ । दुक्ख र सुक्ख भन्ने कुरासँग म कुनै अर्थ गाँस्तिन । तर समर्पणको भावना मलाई मन पर्छ । मेरा छोराको मेरी दिदीप्रतिको समर्पित धारणाले म छोराप्रति झनै गद्गद छु ।

मेरी दिदीले बाल्यकालमा मेरो टाउकामा बाटेको चुल्ठोदेखि काठमाडौँ आउने जहाजको टिकट काटेको क्षणसम्मका अनगिन्ती क्षणहरू छन् । ती घटनाहरूले गर्दा मलाई सुमार्गमा हिँड्ने प्रेरणा प्राप्त भइरहने गर्छ । मेरी दिदीले मप्रति जति लगानी लगाइन्, जति आस्था बटुलिन् र जति माया गरिन् ती सबैको निष्कर्षका रूपमा म आज हिँडिरहेको छु । मेरो जीवनमा मेरी दिदीको यति धेरै लगाव हुँदाहुँदै पनि दिदीका लागि मैले आँसु पुछ्ने कुनै काम गर्न सकेको छैन । सिद्धान्तमा मैले दिदीलाई पनि आमाकै दर्जा दिए तापनि व्यवहारमा चाहिँ उनी मेरी दिदी नै भइआएकी छिन् । मेरा तीन जना दाजु र एक जना भाइले मानेकी चेलीका झैँ रूपमा मात्र उनी मेरा लागि पनि रहेकीले म स्वयम् खिन्न हुने गर्छु । अनि घरीघरी म मेरी दिदी नीरा सिटौलालाई नै सम्झेर मेरो भाग्यरेखा हेर्ने गर्छु । मेरो भाग्यरेखामा म पुनः मेरी दिदीलाई देखिरहेको हुन्छु, मेरी दिदीलाई नै हेरिरहेको हुन्छु र मेरी दिदीलाई नै पढिरहेकी हुन्छु । तर मेरी दिदीको भाग्यरेखाचाहिँ …!
- अक्षरको प्रदर्शनी (निबन्धसङ्ग्रह : २०५५)