आकृतिभित्रको ‘बालनयन’

आकृतिभित्रको ‘बालनयन’

  • शनिबार, बैशाख १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका छन् ।

उनको बालनयनले त्यो चिज अरुले नै उपयोग गरिरहेका अनुभूति गराउँछ । त्यसैले पिलपिलाउँदो नजर त्यही चिजमा एकोहोरिएका हुन्छ । चारकोलका माध्यामबाट पाटन सुन्धाराकी लक्षता श्रेष्ठ सिर्जना गर्नुभएको उक्त चित्रले हाम्रो समाजको बालमस्तिष्कलाई गहिरोरुपमा छोएको छ ।

हाम्रो समाजमा पारिवारिक हिंसालगायत कारणले बालबालिका सडकमा पुग्ने गरेका र त्यसपछि उनीहरुकोे जीवनमा आइपर्ने उतारचढावलाई चित्रकार श्रेष्ठले कलाका माध्यामबाट जीवन्त देखाउने प्रयास गर्नुभएको छ । न्यूनतम आवश्यकताबाट वञ्चित बालकको आँखामा झल्किएको अपेक्षालाई उहाँले चारकोलका माध्यामबाट क्यान्भास रङ्ग्याउनुभयो ।

उक्त चित्र नवौँ वार्षिकोत्सवका अवसरमा पाटन मङ्गलबजारको द प्रिसियस आर्टस्ले नेपाल कला परिषद्मा ‘आकृति’ शीर्षकमा आयोजना गरेको कला प्रदर्शनी समावेश छ ।

सानो उमेरका बालबालिकालाई आमाबुबाको माया चाहिन्छ, यो समयमा उनीहरुको हाँस्ने, खेल्ने तथा शिक्षा आर्जन गर्ने हो । तर ती सब कुराबाट बञ्चित एक बालक कुनै एउटा डोरीको छेकबार बाहिरको छिद्रबाट चिहाइरहनु सामान्य कुरा होइन । तर उक्त चित्रले जे नहुनु थियो त्यो भइरहेको छ भनेर बालमस्तिष्कमार्फत देखाइरहेको छ ।

हाम्रो नेपाली समाजमा भइरहेका घटनालाई चित्रमा उतार्ने श्रेष्ठले भन्नुभयो, “आधारभूत आवश्यकतासमेत नपाएको बच्चालाई ती कुरा प्राप्त होस्, आम नागरिकको जस्तै जीवन चल्न सकोस् भन्ने सन्देश दिन खोजेकी हुँ ।” यसका अलावा उहाँले मण्डला, नेपाली सांस्कृति, नेपाली जनजीवनका साथै जीसस क्राइष्टकी आमा मेरी तथा शान्तिको सन्देश दिनका लागि बुद्धको आकृतिका चित्र पनि समावेश गर्नुभएको छ । पहिलो प्रदर्शनी भएकाले निक्कै खुसी लागेको पनि उहाँले सुनाउनुभयो ।

उहाँ मात्रै होइन कला क्षेत्रका नौँ विद्यार्थीका ४२ चित्र यहाँ प्रदर्शनीमा राखिएको छ । अर्का विद्यार्थी सञ्जना महर्जनले सुपरहिरोका माध्यमबाट गलत प्रवृत्तिविरुद्ध प्रहार गर्न खोज्नुभएको छ । जसरी चलचित्रमा नागरिकको जीवनरक्षामा अभिनेताको भूमिका हुन्छ, सुपरहिरोलाई पनि त्यहीरुपमा प्रस्तुत गर्नुभएको छ, उहाँले । त्यतीमात्रै होइन कुमारी, एक आमा र बच्चामार्फत सामाजिक सचेतना जगाउने प्रयास पनि उहाँको छ ।

व्यवस्थापन पढ्दै गरेकी शान्ति थापा पनि अहिले कला सिक्दै हुनुहुन्छ । उहाँले पनि संयुक्त प्रदर्शनीमा पहिलो अवसर प्राप्त गर्नुभएको छ । उहाँले मण्डला, डट आर्टका साथै महिला हिंसा विरुद्धलगायतका विभिन्न आठ सिर्जनाले क्यान्भास सजाउनुभएको छ । प्रदर्शनीमा शर्षिस तण्डुकारका दुई वटा चित्र प्रकृति संरक्षणका बारेमा छ । मानव र वनको अन्तरसम्बन्ध तथा जङ्गलको अवस्थालाई उहाँले चित्रण गर्नुभएको छ । “हामीले प्रकृतिको गति देख्न नसके पनि उसले आफ्नो गतिमा काम गरिरहेको छ, हामीले प्रकृतिलाई नदेखे पनि उसले हामीलाई देखिरहेको छ हेप्नुहुन्न, यही हो थिम”, तण्डुकारले भन्नुभयो ।

अर्का विद्यार्थी सम्प्रेशणा शाहीले चित्रमार्फत धार्मिक, पारिवारिक मायाका साथै शान्तिका सन्देश छर्नुभएको छ । उहाँका सिर्जनामा ह्वेलको माध्यामबाट सकारात्मक सन्देश र आशावादी हुन सिकाएको छ । सरोज खत्रीले परम्परागत यथार्थवादी चित्रहरु राख्नुभएको छ ।

यहाँ उहाँका चार चित्र प्रदर्शनमा छन् । नरदेवीमा भएको जात्रालाई प्रतिनिधित्व गर्दै कुमारीको आकृति अकर्षक देखिन्छ । भक्तपुरको गोल्डेनगेटको तोरणसहितको तलेजु भवानी र भैरवको आकृति पनि प्रदर्शनीमा देख्न सकिन्छ । यहाँ विद्यार्थीका अधिकांश कला सिर्जनालाई चारकोलमा रङ्ग्याइएको छ । त्यसमा खत्रीले सुनौलो रङ देखाउन एक्रेलिक मिसाएर सुन्दरस्वरुप दिनुभएको छ ।

प्रदर्शनीमा नौ विद्यार्थीका ४२ राखिएका छन् । प्रकृति, परम्परागत तथा धार्मिक सांस्कृतिक एवम् जनजीवनसँग सम्बन्धित सिर्जना यहाँ राखिएका छन् । बिहीबारदेखि सुरु भएको उक्त प्रदर्शनी सोमबारसम्म चल्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा इरिना ताम्राकार, गिरिश विक्रम राज बज्राचार्य, लक्ष्यता श्रेष्ठ, शान्ति थापा, सञ्जना महर्जन, सरोज खत्री, सर्सिस तन्डुकार, सुम्या तिमिल्सिना, सम्प्रेषणा शाही, सुरभी तण्डुकार र सचिन राज बज्राचार्यका कलाकृति समावेश छन् ।

प्रदर्शनीको अवलोकन पछि सांसद सुजिता शाक्यले भन्नुभयो, “कला राष्ट्रको गहना हो, मान, शान, गौरव पहिचान र संस्कृतिको धरोहर हो, कलाकारिता प्रकृति र मानव चेतनाको अमूल्य चिज पनि हो ।” विश्वमा आज नेपाल भनेर चिनिनुमा राष्ट्रका कलानिधिका मत्वपूर्ण योगदान रहेको उहाँले सुनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी