बैशाख ७ पोखरा । चुनावका विषयमा अन्यौलपूर्ण निर्णय गरेको विप्लव नेतृत्वको नेकपा भित्र अब तल्लो तहमै विवाद र संघर्षले उग्र रुप लिन थालेको छ । विप्लव प्रकाण्ड भर्सेस हेमन्त ओली र धर्मेन्द्र वास्तोला समुहको रुपमा तल्लो तह सम्म समानान्तर गतिविधि शुरु भएको छ ।
यस्तो सिलसिला कास्की जिल्लामा पनि देखिएको छ । कास्की जिल्ला ईन्चार्ज रहेकी उमा भुजेलले केही दिन अघि जिल्ला सेक्रेटरी गोकुल पराजुली, बद्री अधिकारी र रमेश बास्तोलालाई निष्कासन गरेकी थिईन् ।
शिलुले पार्टीको निर्णय र नीतिविरुद्ध भ्रम सिर्जना गर्दै समानान्तर गतिविधि गरेको, अन्तरध्वंशको षड्यन्त्र गरेको, पार्टी नीतिलाई सही ढंगले कार्यान्वयन नगरेको र सामाजिक सञ्जालको प्रयोग गरी क्रान्तिविरोधी शक्तिलाई मलजल गरेको आरोप लगाउँदै उनीहरुमाथि कारवाहीको घोषणा गरेकी थिइन् ।
त्यसपछि अर्को पक्षले फेरी विज्ञप्ति जारी गरी भ्रष्ट दलालसँग साँठगाँठ गरी आर्थिक हिशाब नदेखाएको, हिटलरी शैलीमा संगठन क्षत विक्षत पारेको भन्दै शिलुलाइ नै ईन्चार्ज अस्वीकार गर्ने भन्दै कार्बाहीको विज्ञप्ति जारी गरेको छ ।
पार्टीको आधिकारीक लेटरप्याडमै विज्ञप्ति जारी गरी उनीहरुले हेडक्वार्टरलाई शिलुलार्ई कार्बाही गर्न माग गरेका छन् ।
कास्कीका नेता कार्यकर्ताहरुले शिलुले उद्योगपति, व्यापारी व्यवशायीसँग मोटो रकम असुलेको, पार्टीमा पारदर्शी हिशाब नदेखाएको र आफूले रकमको दुरुपयोग गरेकाले उनी बिरुद्ध बोल्दा कार्बाही गरीहाल्ने प्रवति देखाएको भन्दै उनलाई कास्कीमा टिक्न नदिने अठोट आफूहरुले लिएको नाम उल्लेख नगर्ने शर्तमा एक जिल्ला कमिटि सदस्यले जानकारी दिए ।
