पोखरा, ४ वैशाख । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जीप पल्टिएको हो ।
जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।
जीपमा ११ जना सवार थिए । तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत कोही नभएको प्रहरीले जनाएको छ ।
यता, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका(३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । गम्भीर घाइते तीनसहित अन्य पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइते तीनजनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।