चैत्र २५ काठमाण्डौँ । प्रचण्डले गद्धारी गरेको, बैद्यले पनि क्रान्ति गर्न नसकेको भन्दै ७१ सालदेखि अलग्गै पार्टी बनाएर एकीकृत जनक्रान्ति गर्ने भन्दै आएको विप्लव नेतृत्वको नेकपा पछिल्लो समय विभाजनको खतरामा पुगेको छ ।
अघिल्लो निर्वाचनमा बम विष्फोट गरी बहिष्कार गरेको यस पार्टीले यस पटक चुनावमा भाग लिने औपचारीक प्रस्ताव ल्याएपछि नै पार्टी भित्र विवाद बढेको थियो ।
कपिलबस्तुको शिबगढीमा भएको बैठकमा विप्लवले चुनावमा जाने प्रस्ताव पेश गरेपछि ६८ जनामा ४४ जना केन्द्रीय सदस्यले बिरोध जनाएका थिए ।
त्यसपछि निर्णयका रुपमा चाँही चुनाव बहिष्कार पनि नगर्ने, भाग पनि नलिने भनिएको थियो ।
तर त्यो लामो समय टिक्न सकेन । सुदुरपश्चिममा एमाले नेताहरुसँग विप्लवका नेता ओम प्रकाश पुनले राष्ट्रवादी शक्ति एमाले भएको र चुनावी गठबन्धनका बारेमा छलफल भएको सार्वजनिक गरेपछि पार्टी भित्र अर्को विवाद बढ्यो ।
त्यसपछि पनि सो पार्टीका अर्का नेता प्रकाण्डले हामी चुनामा भाग लिन्छौँ दल दर्ता र छुटेका नेता कार्यकर्ताको नाम मतदाता नामावली सूचीमा दर्ता गर्नु पर्ने भन्दै प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोग सम्म पुगेर लविङ गरेका छन् ।
अहिले तत्कालै विप्लव पार्टीको उक्त माग निर्वाचन आयोग र सरकारले सुन्ने संभावना कम देखिएको छ ।
तर यदी पार्टी निर्वाचनमा जाने नै स्थिति भयो भने पार्टीबाट अलग भएर नयाँ पार्टी निर्माण गर्ने तयारी हेमन्त वली र धर्मेन्द्र बास्तोलाहरुले थालेको उच्च स्रोतको दावी छ ।
उनीहरुले केन्द्रीय सदस्य, एवं पहिला पार्टी छाडेका नेता कार्यकर्ताहरुसँग पनि बाक्लो भेट गरिरहेका छन् । वास्तोलाले एक कार्यकर्तासँगको भेटमा विप्लव स्वयं निर्वाचनको पक्षमा देखिएको, बस्न मन नलागे छुटौँ भनेको भन्दै गुनासो गरेका छन् ।
ओली र वास्तोला यो चुनावलाई भण्डाफोर गर्दै भाग लिन नहुने , भाग लिन चाहनेले पार्टीबाट राजीनामा दिनु पर्ने पक्षमा छन् । उनीहरु पार्टीले जबरजस्ती निर्वाचन आयोगमा जाने , दल दर्ता गर्ने र चुनावमा औपचारीक भाग लिने स्थिति बनेमा अलग्गै पार्टी निर्माण गर्ने जानकारी कार्यकर्ताहरुलाई दिन थालेका छन् ।
एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको नाममा विप्लव प्रकाण्डले धोका दिन थालेको भन्दै कार्यकर्ताहरुले पार्टी छाड्ने क्रम पनि चलिरहेको छ ।
हेमन्त ओली र प्रकाण्डले सार्वजनिक रुपमा दिएका अभिव्यक्तिहरुमा एक अर्कालाई आधिकारीक निर्णय र धारणा होईन भन्ने आशय व्यक्त गरिएको छ । त्यसले पनि विवाद स्पष्ट हुन्छ ।
एमसीसी विरोधी देशभक्त स्वतन्त्र उम्मेद्धारलाई चुनावमा सहयोग गर्ने भनिए पनि पार्टीको मुल नेतृत्व नै चुनावप्रति मोहित भएको आरोप ओली वास्तोला पक्षको छ ।
एकीकृत जनक्रान्तिका नाममा साथीहरु, जनता मरेका छन्, जेलमा साथीहरु बसिरहेका छन्, अनि के भनेर भोट माग्न हिँड्ने ? कार्यकर्ताहरुमा ठूलो अन्यौलता बढेको छ , एक केन्द्रीय सदस्यले भने ।
त्यसो त विप्लवले आफ्नो प्रस्तावको विपक्षमा उभिने केन्द्रीय सदस्यहरुलाई लक्षित गर्दै केन्द्रीय सदस्यहरु स्तरीय नभएको र ईलाका सदस्य जस्तो भएको र नेतृत्वको स्पििरिटलाई बुझ्न नसकेको निकटका नेताहरुसँग बताउने गरेको बुझिएको छ ।