अधिकांश मानिसहरू सम्पत्तिलाई खानदानसँग जोड्ने गर्छन् । जसका पितापुर्खाले पर्याप्त सम्पत्ति आर्जन गरेका थिए र छोराहरूले अङ्शवण्डामा जति धेरै भेटेका थिए तिनै खानदानी मानिने प्रचलनले हाम्रो समाजलाई अहिले झनै गाँजेको छ । जसले गर्दा समाज नै पैसामुखी भएको छ । हरेक व्यक्ति पैसा बाहेक केही नचिन्ने भएको छ । जसको प्रतिफल समाज अधोमूखी हुँदै गएको छ । सामाजिक मूल्य र मान्यताहरू हराउन थालिसकेका छन् ।
समाज यस परिस्थितिमा रुमलिएको बेला विराटनगरका हरिप्रसाद बरालद्वारा लेखिएको ‘पुस्तकहरूको माझैमाझ’ नाउँको कृतिले मलाई निकै प्रेरित गरेको छ । पृष्ठ सङ्ख्या चानचुन ८२ मात्र भएको डिमाई साइजको यो पुस्तक विराट ठेलीका माझमा चेपिएर नदेखिन सक्छ । तर त्यसभित्र लेखकका पूर्खाले १०० वर्षअघि नै अंशवण्डा गर्दा किताबसमेत वण्डा गरिएको प्रसङ्ग रोमाञ्चक र प्रेरक समेत छ ।
विराट विराट महल बनाउने नवधनाड्यहरूले आफ्ना घरमा रक्सीका लागि बार बनाउने संस्कृतिको विकास भइरहेको र उक्त महलमा अध्ययनका कोठा त परै जाओस पुस्तकका लागि एउटा दराज समेत नराखिने प्रचलन भएको वर्तमान प्रदुषित समयमा मलाई यस सानो पुस्तक पुस्तकमात्र नभएर संसार देखाउने आँखाको नानी सरह लाग्यो ।
दुई वर्षअघि लेखक बराल र मेरावीच फोनमा उनका पूर्खाका बारे भएको विमर्श सन्दर्भलाई नै प्रेरणाका रूपमा लिएर पुस्तक प्रकाशित गरिएको इमानी खुलासा प्रस्तुतीको भूमिका पढ्दा म अभिभूत भएँ । बरालमा भएको कृतज्ञताको सग्लो स्वरूपले यस धरामा अझै मानिसको जिउँदो स्वरूप भेटिएको अनुभूतिले मलाई आद्र पनि पार्यो ।
पन्ध्र वर्षको उमेरमामात्र वाक्य फुटेका हरिप्रसादमा निहीत संस्कारजन्य पठन र लेखन अभ्यासले नै उनलाई चेतनाको उपल्लो तहमा पुर्याएको हुनुपर्छ भन्ने मेरो आँकलन रह्यो ।
स्वाध्ययनले खारिएको बरालको भाषा, शैली र प्रस्तुति क्षीतिज यात्रामा लागिसकेको पाउँदा माइती वंशको उत्थान दृष्यले मलाई अभिभूत बनाएको छ ।
पुस्तकमा लिपिवद्ध सुत्रात्मक वाक्य चेतनशील पाठकका मस्तिष्कका लागि निकै पौष्टिक खुराक बनेका छन् । लेखक बरालले अनावश्यक गन्थन गरेर आडम्वरीरूपले पुस्तक मोटो बनाएर पाठकको समय र पैसा बरबाद हुनबाट जोगाएका छन् । पुस्तक पढिसक्दा पनि पाठक पुस्तकमा थप पृष्ठ रिक्तताको अनुभूति गर्न थाल्छ । पुस्तकको यस विशेषताले गर्दा मलाई पुस्तकले दुई पटक पढ्न अह्रायो ।
धराको पर्यावरण प्रदुषित भएकैले हुनुपर्छ साहित्यिक परिशरै पनि प्रदुषणबाट अछुतो नभएको सन्दर्भमा हरिप्रसाद बरालले नेपाली साहित्यको भण्डारमा ओखती पुस्तक भित्र्याएका छन् ।
त्यसो त पुस्तकमा भएका हरेक पङ्ति पढेर क्षमता अनुसार पाठकले उग्राउनै पर्छ । यो पुस्तक अर्काले पढेर व्याख्या गरिदिने किसिमको नभएर आफैँले रसास्वादन गर्दै आनन्द प्राप्त गर्ने किसिमको छ । तर पनि मैले उल्लेखित वाक्यहरू पाठकको भोक जगाउने ध्येयले चाख्नका लागिमात्र प्रस्तुत गरेकी छु :
• ‘पढ्नका लागि पढ्ने मात्रै होइन मात्रै होइन दिमागलाई सूचनाको भण्डार बनाउने मात्रै पनि होइन, आफूले पढेका ज्ञानले जीवनलाई सिँगार्ने कुरा हो, भविष्यमा आइपर्ने समस्या विरूद्ध लडेर विजय प्राप्त गर्ने क्षमतालाई बढाउने कुरा हो,सभ्य र शिष्ट भाषामा चिन्तन गर्ने कुरा हो, आफूभित्र प्रतिभाको विकास गर्ने कुरा हो, जीवनलाई सुन्दर ढङ्गले बिताउने कुरामा पुस्तकपठनको ठूलो महत्त्व हुने हुँदा म यसप्रति आकर्षित भएँ ।’
• ‘यदि मैले पढ्ने बानीको विकास गरेको थिइन भने विषम परिस्थितिमा आत्मविश्वासका साथ अघि बढ्न सक्ने थिइनँ । जुन बेला म चारैतिरबाट असफलताले घेरिएको हुन्थेँ, आत्महत्याभन्दा अर्को विकल्प त्यहाँ देखिँदैनथ्यो, म रातभरि पढ्थेँ । त्यहाँ मैलेभन्दा धेरै दुक्ख पाएका पात्रहरू मसित भेट गर्न आउँथे । आत्मविश्वास जगाएर मसित विदा हुन्थे ।’
• ‘यदि कसैले आफूमाथि अत्याचार गर्यो भने उसलाई दिमागबाट पखाल्न त पुरस्तकहरू नै शक्तिशाली हतियार हुँदा रहेछन् ।’
• ‘छिर्के दाउले लडाएर आफू दौडमा पहिला हुने बानी परिसकेको प्रवृत्ति विरूद्ध के गर्न सकिन्छ र ?’
•’ … आफ्नो घरमा महाभारत, रामायण, भागवत, वेद, पुराण आदि ग्रन्थको उपस्थिति हुनु भनेको पूर्वीय संस्कार, दर्शन, अध्यात्म, साहित्य आदि कुराको फूलबारी आफ्नो घर हुनु हो ।’
• ‘… लेखक साहित्यकारले कम्तीमा जहाँ गए पनि, जे गरे पनि स्वाभपमानको गजुर फुकाल्नु हुँदैन …।’
• ‘…जे छ,जस्तो छ, म आफैँ जस्तो छु, मलाई चिन्नेहरूले अर्काको कुरा जोडेर चिन्दैनन्, हरिप्रसाद बराल भनेर चिन्छन् । यो नै मेरो सम्पदा बनेको छ ।’
• ‘संस्कारलाई गोडमेल कसरी गर्न सकिन्छ भन्ने कुरा पनि आम चासोको विषय हो । … संस्कार नहुने मान्छेले एउटा पनि राम्रो काम गर्न सक्दैन ।’
•’वाल्यकालमा जति आँसु बगाएँ, आज संवेदना बोकेर त्यो आँसु फर्केको छ । लाग्छ, अँध्यारो भयो भनेर डराउनुको अर्थ छैन किनकि अँध्यारो भएको त उज्यालो ल्याउनलाई हो ।’
• ‘पिताजी भन्नुहुन्थ्यो, ‘गलत मान्छेको सङ्गतले बुद्धि बिग्रन्छ ।’
• ‘आज पनि अलिकति बुद्धि घुमेन भने खलनायकहरूको भीडमा निस्सासिन पुगिन्छ । खलनायकहरूको भीडमा हराउनुभन्दा चिन्तनको चौतारीमा एक्लै बस्नु कैयौँ गुणा राम्रो कुरा हो ।’
•’ व्यवहारविनाको ज्ञानले पानी सकिएको बादललाई सम्झाउँदो रहेछ । ‘
• ‘जीवनमा कति पात्र यस्ता हुँदा रहेछन्, साहित्यिक पात्र यस्ता हुँदा रहेछन्, …जसलाई नाम तोकेर गाली गर्नुभन्दा साहित्यिक पात्र बनाएर जीवनका फोहोरमैला बढार्नुमा नै उपयोग गर्नुपर्दो रहेछ ।’
•’ … मेरा जीवनमा देखिने पात्रपात्राहरू जति नै तल्लो स्तरका भए पनि ममा उत्तेजना दिन सफल हुन्थे ।’
•’मान्छेहरू… म एउटा यस्तो पात्र भएँ, जसले यस्ता कुरालाई सानैदेखि प्यूँदै आयो, पचाउँदै आयो, सिर्जनामा ढाल्दै आयो, त्यसलाई पिकेट इँट्टा बनाएर साहित्यिक घरको जग तयार गर्यो ।’
अध्ययन र लेखन तपस्विका रूपमा साधनारत लेखक हरिप्रसाद बराल दल विशेषका झण्डामा नबेरिएका, जाति विशेषका खाँबामा नबाँधिएका र पैसाको चलखेलले नचुलिएका स्रष्टा हुनाले उनको आफ्नै लगानीमा प्रकाशित पुस्तकले मुलुकै भरि छरिने अवसर पनि पाएको छैन । न त प्रस्तुत पुस्तकले ठूलाठूला पन्नामा छापिने अखबारमा नै सिँगारिने अवसर नै पाएको छ । हुन त हाम्रोजस्तो राष्ट्रियरूपले नै हरेक तह र तप्कामा सङ्क्रमण भोग्न वाध्य मुलुकमा यतिबेला कुझारहरू मौलाउनु र ओखती वृक्षहरू निमिट्यान्न हुनु अनौठो पनि होइन ।
समग्रमा भन्नूपर्दा हरि भाइले मलाई ‘पुस्तकहरूको माझैमाझ’ मेरो हातमा हालिदिँदा यसपटकको मेरो विराटनगर यात्रा सार्थक भएको छ । हरिभाइ आगामी दिनमा पनि स्वान्तसुखायका लागि लेखन र प्रकाशन कार्यबाट पछि हट्ने त छैनन् तर उनलाई दिगदिगन्तसम्म चिनाउन यही एउटा किताब काफी छ । विराटनगरमा भेटेको यस विराट किताबका लागि म हरिभाईप्रति गौरव गर्छु ।