चैत्र २० काठमाण्डौँ । माधव नेपाल सहित १४ जना सांसद बिरुद्ध एमालेले दिएको निवेदनमाथिको सुनुवाई रोक्न निवेदन परेको छ । आज सुनुवाईका लागि पेशीमा उक्त मुद्धा चढेपछि माधव नेपालले निवेदन दिएका हुन् ।
पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको अवस्थामा माधव नेपाल पक्षले निवेदन दिएको हो।
यसअघि फागुन २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई समेत विपक्षी बनाई रिट हालेका थिए। एमालेले नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेको थियो।
तर सभामुख सापकोटाले कारबाही अघि नबढाई सूचना टाँस्न अस्वीकार गरिदिए। आयोगले पनि नेपाल नेतृत्वको समाजवादीलाई दलको मान्यता दिएपछि अध्यक्ष ओलीले रिट हालेका थिए।
यही विषयलाई लिएर गत भदौ २३ गतेदेखि एमालेले संसदमा निरन्तर नाराबाजी गर्दै अवरोध गरिरहेको छ ।