प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै, लिम्पियाधुरा, कालापानी र लिपुलेक मुद्धा उठाउलान् ?

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै, लिम्पियाधुरा, कालापानी र लिपुलेक मुद्धा उठाउलान् ?

  • शुक्रबार, चैत्र १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

चैत्र १८ काठमाण्डौँ । भारतसँग अनगिन्तिी समस्या बढीरहेका बेला प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्र्रमणका रुपमा भारत जान लागेका छन् । यो भ्रमणपनि सद्भावना भ्रमणको रुपमा मात्रै व्याख्या गरिएकाले दुबै देशबीच रहेको सीमा समस्याका बिषयमा चर्चा हुने नहुने निश्चित छैन ।
७२ साल असोजमा नेपालले संविधान जारी गर्दा असन्तुष्ट बनेको भारतले भूकम्पको महामारीपछि नाकाबन्दी गरेर थप दुखः दिएको थियो । सात महिना लामो नाकाबन्दी पछि नेपालमा भारत विरोधी भावना ह्वात्तै बढेको थियो ।
यसपछि भारतले ७६ सालमा लिपुलेकमा नेपाली भूमिमा चीनको मानसरोबर जाने बाटो बनाएपछि भारतको तीव्र बिरोध भएको थियो । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा परिमार्जन गर्दै संसदबाटै पारित गरेको थियो ।
त्यो बेला पनि झन असन्तुष्ट भारतले नेपालले कुटनीतिक रुपमा सीमा समस्या समाधानका लागि गरेको आग्रह अस्वीकार गर्दै आएको थियो । अहिले पनि नेपाली भूमिमा भारतले बाटो निर्माण गरीरहेको छ । महाकालीमा एसएसबीले तुईन काटेर दार्चुलाका एक युवाको मृत्यु भएको घटना पनि समाधान हुन सकेको छैन ।
यही बेला नेपालका प्रधानमन्त्रीले तीन दिने भारत भ्रमण गर्न लागेका छन् ।
देउवाले मोदीसँगको भेटमा नेपालका यी समस्या उठाउनु पर्ने दबाब रहे पनि द्धिपक्षीय समाधान वार्ताबाट गर्न जोड मात्र गर्ने संभावना बढी देखिएको उच्च स्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा शनिबार चार परियोजनाको उद्घाटन र हस्तान्तरणको तयारी गरिएको छ । जनकपुर–जयनगर खण्डमा रेल सेवा र सोलु करिडोर विद्युत् प्रसारण लाइन उद्घाटन गरिने भएको हो । भारतको सहयोगमा साना परियोजना कार्यक्रमअन्तर्गत निर्माण भएका १ सय ३२ वटा स्वास्थ्य चौकीका भवन हस्तान्तरण गरिनेछ । भारत सरकारले चलनमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ गर्ने तयारी पनि छ ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा चारवटै परियोजना उद्घाटन र हस्तान्तरण गर्ने तयारी दुवै पक्षबाट भइरहेको स्रोतले जनाएको छ । जनकपुर–जयनगर–बिजलपुरा–बर्दिबास ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्यसमध्ये जनकपुर–जयनगर खण्डको निर्माण दुई वर्षअघि नै सम्पन्न भइसकेको छ । नेपाल सरकारले त्यहाँ चलाउन रेल खरिद गरेको पनि डेढ वर्ष भइसकेको छ । दुवै देशका प्रधानमन्त्रीले शनिबार भर्चुअल रूपमा रेल सेवा उद्घाटन गर्नेछन् । सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको सोलु करिडोर विद्युत् प्रसारण लाइन उद्घाटन दुवै प्रधानमन्त्रीको उपस्थितिमा भर्चुअल रूपमा नै हुनेछ । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो । देउवाको भ्रमणका क्रममा साना परियोजना सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको सहयोग रहेको स्वास्थ्य चौकी भवन निर्माणसम्बन्धी परियोजनाको प्रगति समीक्षा गर्नुका साथै बनिसकेका भवन हस्तान्तरण गर्न लागिएको छ ।

दुई जना प्रधानमन्त्रीको उपस्थितिमा भारत सरकारले प्रयोगमा ल्याएको ‘रुपे’ कार्डलाई नेपालमा पनि लागू गर्ने कार्यको शुभारम्भ पनि गरिनेछ । भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया ९एनपीसीआई०’ मा आबद्ध भएको ‘रुपे’ भारत आफैंले विकास गरेको हो । ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई नेपालको बैंकसँग पनि जोड्न लागिएको हो । अब ‘रुपे’ कार्डबाट नेपालमा भुक्तानीको सुविधा पाइनेछ । भारतबाट नेपालले मल खरिद गर्ने सम्झौता भइसकेकाले त्यसको व्यावहारिक र सांकेतिक कार्यान्वयन पनि यही भ्रमणका दौरान हुने सम्भावना देखिएको छ ।

काठमाण्डौदेखि दिल्लीसम्म देउवाको कार्यतालिका यस्तो छ

प्रधानमन्त्री शेरबहादुर देउवा चार मन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै शुक्रबार अपराह्न ३ बजेपछिदिल्लीमा अवतरण गर्नेछन् । त्यसपछि उनी चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुग्नेछन् । त्यहाँ साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुनेछ । त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नेछन् । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिलाई पनि उक्त कार्यक्रममा बोलाएको छ ।

दोस्रो दिन शनिबार बिहान १०ः४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन् । त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । खानापछि संयुक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ । देउवाले अपराह्न साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भारतका राष्ट्रपति रामनाथ कोविन्द पूर्वनिर्धारित कार्यक्रमअनुसार अप्रिल १ देखि ७ तारिखसम्म विदेश यात्रामा रहने भएकाले उपराष्ट्रपतिसँग देउवाको भेट हुने भएको हो । त्यही साँझ होटलमा भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्रीसहितको टोली बिहानै बनारसका लागि प्रस्थान गर्नेछ । भारत सरकारले विशेष विमानबाट बनारस लाने–ल्याउने व्यवस्था मिलाएको छ । त्यही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित विमानबाट प्रधानमन्त्री काठमाडौं फर्किनेछन् ।

अमेरीका, चीन र भारत तीन शक्तिसँगको सम्बन्ध सुधार्ने देउवाको महिना दिनको सक्रियता
नेपालमा एमसीसी अनुमोदन नहुँदा अमेरीका चिन्तित थियो । अक्सर कम बोल्ने देउवाले गठबन्धन दल र एमालेसँग सन्तुलन र त्रासको माहौल सृजना गरेर भए पनि गठबन्धनलाई ब्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गराई छाडे । फागुण १२ मा एमसीसी अनुमोदन पछि अमेरीकाले सरकारलाई धन्यवाद दियो । यसले देउवा सरकारको अमेरीकासँगको सम्बन्ध सुदृढ भएको निष्कर्ष छ ।

त्यस लगत्तै चैत्र १२ गतेदेखि तीन दिने भ्रमणमा चीनीया विदेशमन्त्री वागं यी नेपाल आए । उनले पनि उच्च स्तरीय भेटवार्ता गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको, नेपाली भूमि चीन बिरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएर पठाए । चीनसँग पनि केही समझदारी भए पनि बिआरआईमा सम्झौता गर्न नसक्नु देउवाको कमजोरीको रुपमा देखिन्छ । यही बेला चीनीया विदेशमन्त्रीलाई एमाले र माओवादीका शीर्ष नेताहरुले बिआरआई कार्यन्वयनमा जोड दिएर पठाए । जे भए पनि यो औपचारीक भ्रमणले देउवा सरकारले चीनलाई पनि सन्तुलनमा राख्न सकेको देखिन्छ ।

यस लगत्तै भारत भ्रमणमा देउवाले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको सीमा समस्या, बिजुली आयात निर्यातको समस्या, व्यापार घाटाको समस्या समाधान गर्न नसके पनि द्धिपक्षीय सम्बन्ध सुधार्न भने सफल हुने अनुमान गरिएको छ ।
वितेको एक महिना भित्रको यो तीव्र कुटनीतिक पहलकदमी र दौडधुपको फाईदा देउवाले आँउदो निर्वाचनमा लिन खोज्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी