नेकपा माओवादीका नेताहरू र कामरेड प्रचण्ड अहिले निरन्तर दावी गरिरहनुहुन्छः यो लोकतान्त्रिक गणतन्त्र हाम्रो एजेन्डा हो ! मुलुक हाम्रो एजेन्डामा हिँडिरहेको छ ! मुलुक हाम्रो एजेन्डामा हिँडिरहेको हुँदा नेतृत्व पनि हाम्रै हुनुपर्छ आदि आदि ।
वास्तवमा जनयुद्धका रगतको रोयल्टीले अघाउनु भएका र घाइते र अपाङ्गहरूका आँसु निरन्तर पिएर मैमत्त हुनुभएका नै बढी मात्रामा एजेन्डा र योगदानका बारेमा ख्वाङ्ख्वाङ् खोकी खोकिरहनुहुन्छ । केही दामरेडहरूले भने द्वन्द्वका पीडाको बजारीकरण गरेर निरन्तर नाफा आर्जन गरिरहनु भएकै छ र समृद्धिशिखर चुमिरहनु भएकै छ । त्यतिबेला मुलुकलाई आतङ्क र यतिबेला अस्थिरताको नारकीय यातनाको उपहार पनि दिइरहनुभएकै छ । यहाँहरू सबै भट्याएको भट्यायै हुनुहुन्छः “यी सारा परिवर्तनहरू हाम्रा एजेन्डा हुन् । … त्यसैले यस चुनावमा माओवादीले जित्नु पर्छ” उहाँहरूका यी र यस्ता तमाम पाखण्डी दावी र त्यसको वास्तविक यथार्थ जनसमक्ष पस्कनु जरूरी छ ।
लोकतन्त्रः लोकतन्त्रवादीहरूको मात्र एजेन्डा
के लोकतान्त्रिक गणतन्त्र माओवादीको एजेन्डा हो ! के माओवादीले २०५२ सालमा जनयुद्ध नाम दिएर गरेको सशस्त्र युद्ध र त्यसबेला लाल झन्डाका नाममा गरिएको दाजुभाइ र कुलकुटुम्बहरूमा घृणा र हिंसाको आगो सल्काउने त्यो बीभत्स र भयानक आतङ्क यही लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लक्षमा आधारित थियो ? के मुलुकका ऊर्जाशील र होनहार युवायुवतीहरूलाई यही सुधारिएको संसदीय लोकतन्त्र प्राप्तिका निम्ति हातहातका कलम र कोदाली खोसेर भरुवा बन्दुक भिराइएको थियो ? प्रश्नहरू बग्रेल्ती छन् ।
स्मरण रहोस् कामरेड प्रचण्डले बन्दुकको नालबाट मात्र सर्वहारा वर्गको नौलो जनवादी व्यवस्थाका स्थापनाका लागि सत्ता कब्जा गर्ने भनी २०५२ साल देखि जुन जनयुद्ध नामको एउटा एउटा असफल कोर्स सुरु गर्नु भयो त्यसबेला उहाँको मूल एजेन्डा लोकतान्त्रिक गणतन्त्र प्राप्ति कदापि थिएन नै । त्यो बेला त उहाँको मूल शत्रु र उहाँहरूका बन्दुकको तारो लोकतन्त्र थियो र उहाँका मूल वर्गवैरी लोकतन्त्रवादीहरू नै थिए । लोकतान्त्रिक विचार राख्ने गाउँ घरका सोझासाझा जनतालाई वर्गशत्रु करार गर्दै सफाया गर्ने उहाँहरू स्वयम् नै लिट्टे बन्ने पथमा अग्रसर भएको जब उहाँहरू आफैले अनुभूत गर्नुभयो तब तिनै आफूले वर्गशत्रु घोषणा गरेका लोकतन्त्रवादीहरूसँग घाँटी जोडेर ज्यान जोगाउने जुक्ति फुराउनुभयो । यसो गरेर उहाँले दुर्घटना हुन लागेको जनुद्धनामको हिंस्रक र तेल सकिएको जहाजलाई लोकतन्त्रको धावनमार्गमा अवतरण गराउनु भएको जगजाहेर नै छ । आफूलाई अहिले आएर उहाँहरूले संघीय लोकतान्त्रिक गणतन्त्रका मसिहा ठान्नु र सत्रहजार मुसा सिकार गर्ने बिरालाले मर्नै लागेपछि शाकाहार त मेरो एजेन्डा हो भन्नु उस्तै भएन र ? त्यसैले लोकतान्त्रिक गणतन्त्रको मैदानमा उहाँ वाध्यताले ओर्लनु भएको हुँदा गणतन्त्र उहाँहरूको एजेन्डा नभई जनयुद्ध बिसाउने चौतारो मात्र थियो भन्नु उपयुक्त होला !
माओवादीको “एजेन्डा धमास्” ….अर्धम् त्यजति पण्डितः’ सूत्र
नीतिशास्त्रमा एउटा कथन छः “सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डितः” अर्थात् जब दिग्विजय प्राप्त गर्छु भन्ने भस्मासुरी महत्त्वाकाङ्क्षासाथ कुनै व्यक्ति अघि सर्छ र उसको सर्वनाश हुन थाल्छ त्यतिबेला त्यो पण्डित आधामा चित्त बुझाएर आफ्नो ज्यान जोगाउँछ । कामरेड प्रचण्ड त्यस्तै एक महापण्डित हुनुहुन्छ जसले बन्दुकको नालबाट सत्ता कब्जा गर्ने उहाँको सपना तुहिने मात्र होइन उहाँहरू र नजिकका आसेपासेहरू खरानी हुने र सर्वनाश हुने देखेपछि जुन लोकतन्त्रवादीका विरुद्ध हतियार उठाइयो त्यसै शक्तिसँग हारगुहार गरी फेस सेभिङ् गर्न वाध्यतावश चालिएको कदम थियो भन्ने तथ्यसँग कोही पनि अपरिचित छैनन् । संघीय लोकतान्त्रिक गणतन्त्र त नाकको चालले नाक जोगाउन गरिएको सम्झौता थियो भन्ने कुरा दुनियाँले घामजत्तिकै छर्लङ्ग देखेकै छन् भन्ने कुरालाई त्यसपछिका घटना क्रमहरूले पुष्टि गरिसकेकै छन् ।
एकातिर एमसिसि घोर राष्ट्रघाती हो भन्ने अनि त्यसलाई कुनै हालतमा पास गर्न हुँदैन भन्ने तर त्यस्तो आफैले भनेको राष्ट्रघातलाई यहाँले सत्तागठबन्धन र सभामुखको कुर्सी बचाउन सौदाबाजी गर्नु भएको हैन र ?
माओवादीको राष्ट्रवादको गर्भपतन
कामरेड प्रचन्ड आफूलाई बेलाबेला महान् राष्ट्रवादी दावी गर्ने गर्नुहुन्छ । तर उहाँहरूको निजी फाइदाका अगाडि उहाँहरूका भ्रूणमा रहेको राष्ट्रवादलाई सत्ता र सुविधाका पिल्स आफै चपाएर बेलाबेला गर्भपतन गराइरहनु हुन्छ । पार्टीको महाधिवेशनले संशोधन नगरी एमसिसि पास गर्नै नहुने भनेको, बेलाबेला आफैले एमसिसि संशोधन न भै पासै हुन्न भन्दै गर्जेको र सरकारमा बसेर र सरकारी सम्पत्ति तथा सुरक्षाकर्मीहरूमाथि हमला गर्न उक्साएको र आफैले बलात् धारण गराएको त्यस महान् राष्ट्रवादी(!) भ्रूणलाई आफैले सभामुख र सत्तालोभका दुईओटा पिल्स चपाएर पतन गराएको कान्ड ताजै छ । एकातिर एमसिसि घोर राष्ट्रघाती हो भन्ने अनि त्यसलाई कुनै हालतमा पास गर्न हुँदैन भन्ने तर त्यस्तो आफैले भनेको राष्ट्रघातलाई यहाँले सत्तागठबन्धन र सभामुखको कुर्सी बचाउन सौदाबाजी गर्नु भएको हैन र ? यस्तो कृत्यले त आफ्नो सत्ता बचाउने नाममा राष्ट्र पचाउने कागजमा पनि सहीछाप गर्न यहाँ पछि पर्नु हुँदो रहेनछ भन्ने पुष्टि हुँदैन र ? यी र यस्ता तमाम कुरा यहाँका कथनी र करणीले उजागर गरेकै छन् । भारतीय मेजर जर्नेलका अभिव्यक्ति होउन् वा पूर्वराजदूत राकेश सूदका कथन होऊन् खोज्दै जाँदा यस्ता अनेकौँ तमाम दृष्टान्तहरू भेटिने नै छन् । निष्कर्षमा कामरेड प्रचण्डका दृष्टिमा राष्ट्रवाद भन्ने कुरो उहाँ र ऊहाँको घरधुरी तथा उहाँका, नवहुक्के, नवद्वारे र नवबैठकेहरूको निजी स्थायी राजनीतिक व्यवस्थापन र आजीवन पदको ग्यारेन्टीको विनिमयसँग मात्र सम्बद्ध छ भन्ने स्वतः पुष्टि हुन्छ ।
सुरुङमार्गी राष्ट्रवाद र लम्पसारवाद
कामरेड प्रचन्डको राष्ट्रवादको सारै लाजमर्दो दृष्टान्त एकै समयमा उहाँले चालेको सुरुङ्मार्गी राष्ट्रवाद र लम्पसारवादलाई लिन सकिन्छ । २०६० सालतिर जतिबेला उहाँले सोझा र इमान्दार लडाकूलाई बाँके बर्दियातिर सुरुङ् खन्न लगाउनु भयो ठीक त्यतिबेलै उहाँ नयाँ दिल्लीको सेभेन एन सि आर अर्थात् प्रधानमन्त्री निवासमा पुगेर लम्पसार परेको र राष्ट्रघाती गुप्तवाचा गर्दै र केके जातिमा सहीछाप गरेको कुरो त्यसका एक प्रत्यक्ष साक्षी मेजर जनरलले मिडियामा छरपस्ट पारेकै हुन् । त्यसपछि नेपालका लोकतान्त्रिक दलहरूलाई समेत लगेर बारबुँदेमा ल्याप्चे लगाउन लगाउनु भयो, मुलुकमा नौलो जनवाद ल्याउन भनेर सोझासाझा तर ऊर्जाशील युवायुवतीहरूलाई विद्रोहको बत्तीमा पुतलीझै होम्नसम्म होम्नुभयो अनि बलात् विद्रोह बिसाउन लगाउनुभयो । चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो भनेझै हिजोका ती योग्य लडाकूहरूलाई आज अयोग्य ठहर्याउनु भयो र तिनीहरूको बहादुरीलाई २-३ लाखमा बेचिदिनु भयो । यसरी युवायुवती संवेदनामा खेलेर र तिनीहरूका सपनामाथि बलात्कार गरेर उहाँले सहिदको रगत र घाइते र पीडितका आँसुलाई बेचिदिनु भयो । एकातिर आज ती लडाकूहरू नारकीय जीवन व्यतीत गरिरहेछन् भने अर्कातिर तिनै योद्धाहरूका सहादतको व्याजले उहाँहरूको राजसी रज्जगज्ज, असीम समृद्धिको बखान त हजार टाउका भएका शेषनागले पनि गर्न सक्दैनन् भने अरु नाथेको के कुरो गर्नु !
कामरेडका अभिव्यक्तिको साइक्याट्रिक शल्यक्रिया
कामरेड प्रचन्ड संवेगात्मक अभिव्यक्तिका लागि प्रखर हुनुहुन्छ । उहाँ प्रभावी कथनका चास्नीमा पहिलेपहिले केही माहुरीहरूपनि झुम्मिएका थिए होलान् तर आज उहाँका यी कथनमा सत्ता, शक्ति र वैभवका फोहोरमा भुन्भुनाउने झिँगाहरू मात्र भन्किरहेको देख्न सकिन्छ भन्नेहरू पनि प्रशस्तै छन् । केही समयअघि उहाँले व्यक्त गरेको “ बेलाबेला आत्महत्या गर्न मन लाग्ने” विचारप्रति थुप्रै मनोविद्हरूले प्रतिक्रिया दिँदै उहाँभित्र चरम निराशा हुर्केको र हतास मनोदशा रहेको सङ्केत गरेका र त्यस्ता अभिव्यक्ति नगर्न सुझाएका थिए । वास्तवमा उहाँका कथन, र उहाँको राष्ट्राध्यक्ष हाराहारीको सुरक्षा घेरा हेर्ने हो र उहाँका अभिव्यक्तिको साइक्याट्रिक शल्यक्रिया गर्ने हो भने भने सायद उहाँभित्रको भय, त्रास र वैभवलिप्साका कटकटिएका दागहरू पनि देखा पर्न सक्लान् । विगत केही महिनाभित्र कामरेडले व्यक्त गर्नु भएका विचलनयुक्त र असङ्गत कथनहरूमध्ये यस लेखमा धेरैजसो मितिसहित प्रस्तुत गरेको छु । उहाँका यी कथनको साइक्याट्रिक शल्यक्रिया मनोवैज्ञानिकहरू गरून् भन्ने आशा गर्दछु ।
देशभरिको अवस्था हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना छ; चैत ६ । कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल नहोला भन्न सकिन्न : दाहाल; चैत ३ । आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड; चैत ५ । एमालेसँगको तालमेल कांग्रेसमा भर पर्छ : प्रचण्ड; चैत ३ । केपी ओलीलाई बालकोट मैले पठाएको हुँ; प्रचण्ड । शेरबहादुर देउवालाई बालकोट मैले पठाएको हुँ; प्रचण्ड ।आवश्यक परे म पनि बालकोट जान सक्छु; प्रचण्ड । प्रचण्डले कार्यकर्तालाई भने– गठबन्धनबाट चुनाव जित्ने भ्रममा नरहौँ; चैत २ । तीनै तहको चुनावसम्म गठबन्धन रहन्छ: प्रचण्ड; चैत १ । कांग्रेसका एकजना गुरूङजी छन् नि! के रे.. हात्तीको उसमा चमेरा कि के भन्या छन् एउटा.. त्यस्तै भाषा क्या! बढो सुन्न गाह्रो भाषा बोल्ने, तिनलाई भन्या हो। त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ,’ प्रचण्डले भने; चैत ६ । प्रचण्ड भन्छन्– जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पूरै तयारीसाथ होमिऔँ; चैत ४ । सेटिङ् गरेर चुनाव जित्न कांग्रेस-एमाले नै सिपालु छन्, हामी सक्दैनौँ; चैत ३ । बन्दसत्रमा प्रचण्डले भने, ‘एमसीसी परिमार्जनसहित पारित हुन्छ’; पुस १२ । एमसिसिमा क्रान्तिकारी भइ टोपलेको भए सभामुख र सरकार दुवै जान्थ्यो ! चैत ५ । माओवादीले अझै क्रान्ति छाडेको छैन : प्रचण्ड । गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर गल्ती गरियो ! त्यसो गरेको भए चारवर्ष सरकार चलाउन पाइन्थ्यो ! ११ मार्च । बाबुराम र बादलले दायाँ बायाँ बसेर प्रधानसेनापतिलाई कारवाही गर् भनेर दवाव दिएका थिए । १२ मार्च । डाक्टर र वैद्यले मलाई सताउँथे, पार्टीभित्र असाध्यै दु:खी पात्र बन्न पुगेको छु : प्रचण्ड । २८ फागुन । गठबन्धन टुट्दैन भन्न सक्दिन, जरुरी परे बालकोट जान सक्छु; १२ फेब्रुअरी । जसले माओवादी सिध्याउन खोज्छ ऊ आफै सिद्धिन्छ; १० फेब्रुअरी । हामीलाई आत्मसमर्पणभन्दा मृत्यु स्वीकार्य छ: प्रचण्ड चैत ३ । देशी विदेशीले माओवादीलाई सिध्याउन खोज्दैछन् : प्रचण्ड माघ २५ । गीतदेखि पत्रिकाबाट मलाई गालीगलौज गर्न लाखौं-करोडौं खर्च गरिएको छ : प्रचण्ड चैत ६ । हामी अर्कै जातका मान्छे हौँ, आउने चुनावमा एक नम्बर बन्छौँ; ११ डिसेम्बर ।
वास्तवमा लोकतन्त्रका विरुद्ध हतियार उठाएर गरेको सशस्त्र विद्रोहको यानलाई लोकतन्त्रकै मैदानमा अवतरण गर्नुको औचित्यलाई राम्ररी परिभाषित गर्न नसकेकै कारण बेलाबेला उहाँका कथनमा घोर असङ्गतिहरू झ्याङ्गिएका हुन सक्छन् र “आत्महत्या गर्ने विचार” जस्ता विक्षिप्त वाणी निस्किएका हुन सक्छन् ।
निष्कर्ष
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा कामरेड प्रचन्डको नेतृत्वमा भएको सशस्त्र विद्रोहको आंशिक योगदान छैन भन्न सकिन्न ; तर उहाँले उहाँको मात्र योगदान छ भन्ने जुन दावी गरिरहनु हुन्छ त्यो भ्रमपूर्ण र सरासर गलत छ । वास्तवमा लोकतन्त्रका विरुद्ध हतियार उठाएर गरेको सशस्त्र विद्रोहको यानलाई लोकतन्त्रकै मैदानमा अवतरण गर्नुको औचित्यलाई राम्ररी परिभाषित गर्न नसकेकै कारण बेलाबेला उहाँका कथनमा घोर असङ्गतिहरू झ्याङ्गिएका हुन सक्छन् र “आत्महत्या गर्ने विचार” जस्ता विक्षिप्त वाणी निस्किएका हुन सक्छन् । वास्तवमा उहाँहरू हिँडेको विध्वंशक मार्गबाट उहाँहरूलाई लोकतन्त्रवादी हरूले नै लिकमा ल्याएका हुन् भन्ने कुरो उहाँ र उहाँहरूको मन्डलीले बुझ्नु जरुरी छ ।
अन्त्यमा राजावादीको प्रच्छन्न सहयोग रहुन्जेल ( होलेरीमा आर्मीले प्रमंको आदेश नमानेको सन्दर्भ) लोकतन्त्रवादीहरू माथि धावा बोलिरहेको विद्रोह थियो त्यो । तत्कालीन राजाद्वारा जब विद्रोही माओवादीहरू विरुद्धको मिसन कडा पार्दै लोकतान्त्रिक संस्थाहरूमाथि समेत हमला गरियो त्यसपछि भने माओवादी र लोकतन्त्रवादीहरू एक ठाउँमा आएकै हुन् यद्यपि यो विपरीत रसायन जोड्ने तत्वबारे भविष्यमा अनुसन्धान होला नै । तर जेसुकै भए पनि त्यही रसायनले गर्दा माओवादीले आफ्नो मूल एजेन्डा ( एकदलीय नौलो जनवाद ) छाड्ने हतियार बिसाउने र लोकतन्त्रवादीसँग सहकार्य गर्दै अघि बढ्ने कार्य भएकै हो भन्ने यथार्थको घामलाई कामरेडले हत्केलाले छेक्ने दुस्साहस गर्नु बेकार छ । त्यसैले कामरेडको लोकतन्त्रप्राप्ति प्रतिको एजेन्डादावी दुनियाका आँखामा छारो हाल्ने दुस्प्रयासबाहेक केही होइन भन्ने सबैले बुझ्नु जरुरी छ ।