‘श्रम ऐनले प्रत्याभूत गरेका अधिकार कार्यान्वयनमा सरकार र राजनीतिक दल संवेदनशील बन्न सकेनन्’

‘श्रम ऐनले प्रत्याभूत गरेका अधिकार कार्यान्वयनमा सरकार र राजनीतिक दल संवेदनशील बन्न सकेनन्’

  • बिहिबार, चैत्र १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, १० चैत ।  नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी)ले नेपाली श्रमिकहरूको बहृत्तर हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ । एनटियुसी र कांग्रेसबीच भएको सात बुँदे समझदारी कार्यान्वयन भए मात्र आमश्रमिकको जीवनस्तर उकास्न सकिने भएकाले सो समझदारीलाई पूर्णरूपमा कार्यान्वयन लैजान आग्रह गरिएको हो ।

एनटियुसीले अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले लिएको श्रमनीति, आइएलओ अभिसन्धि ८७, नेपालको संविधान, श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका अधिकार कार्यान्वयन गराउन समझदारी गरेको थियो । समझदारीपत्रमा श्रमिक वर्गको जीवनस्तर उकास्न निःशुल्क शिक्षा, स्वास्थ्य र अनिवार्य रोजगारीलगायत विषयलाई आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न र राज्यको स्रोत तथा साधनमा श्रमिकका स्वामित्व सुनिश्चित गराउनुपर्ने उल्लेख छ ।

यस्तै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्न, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई निर्वाचनमा मताधिकारका लािग पहल गर्न, कांग्रेसका सबै संरचनामा कम्तीमा एक महिला र एक पुरुष श्रमिक प्रतिनिधित्वका लागि वैधानिक प्रबन्ध मिलाउने समझदारी भएको थियो । यस्तै राज्यको नीति निर्माण र निर्णय प्रक्रियाका सबै तहमा कम्तीमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्न , श्रम क्षेत्रमा देखिएका द्वन्द्व न्यूनीकरण गर्न असल औद्योगिक सम्बन्ध स्थापित गर्दै उद्योगमैत्री वातावरण बनाएर उत्पादकत्व र रोजगारी वृद्धिका लागि उचित पहल गर्ने र यसका लागि सामाजिक संवाद र सामूहिक सौदावाजीको प्रक्रियालाई प्रभावकारी बनाउने समझदारी भएको थियो ।

समझदारीपत्रमा तत्कालीन नेपाल ट्रेड युनियन कांग्रेस–स्वतन्त्र राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मणबहादुर बस्नेत र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले २०७० भदौ ९ गते हस्ताक्षर गर्नुभएको थियो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सीमित सङ्गठित क्षेत्रमा पनि पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको, अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई अझै पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन नसकेको भन्दै एनटियुसीले श्रमिकका उक्त उपलब्धिलाई कार्यान्वयन गर्न आग्रह गरेको हो । संस्थापक अध्यक्ष स्व गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको सन्दर्भ पारेर यही चैत ७ र ८ गते भएको राष्ट्रिय समितिको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकार र राजनीतिक दलहरु श्रमजीवीहरूको भविष्यप्रति संवेदनशील हुन नसकेको आरोप लगाउनुभयो ।

“ट्रेड युनयिनहरूले श्रमिकको पक्षमा वकालत र दबाब दिँदै आएका छन्”, उहाँले भन्नुभयो, “श्रम ऐनले प्रत्याभूत गरेका अधिकार कार्यान्वयनमा सरकार र राजनीतिक दल संवेदनशील बन्न सकेनन् ।” रोजगारदाता इमान्दार नहुँदा सामाजिक सुरक्षा योजनाको कार्यान्वयन प्रभावकारी बन्न नसकेको भन्दै उहाँले यसमा सरकारको इच्छाशक्तिको कमी देखिएको गुनासो गर्नुभयो ।

एनटियुसी बैठकले संविधानदेखि सबै पार्टीका प्रमुख नीति समाजवाद भए पनि कार्यक्रम भने त्यसको विपरीत हुने गरेको निष्कर्ष निकालेको महासचिव योगन्द्रकुमार कुँवरले जानकारी दिनुभयो । “नेपाली कांग्रेससमेत समाजवादको बाटोमा अलमलिएको छ, श्रमिकमैत्री नीति र कार्यक्रमको अभाव छ”, बैठकका निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “कांग्रेसले समेत पछिल्ला दिनमा श्रमिक तथा किसानलाई उपेक्षा गरेको बैठकको ठहर छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ