बिराटनगर, चैत्र ७ गते । आईतबार साँझ मोरङको लेटाङमा भएको झडपका क्रममा घाँटीमा चक्कु हानेर हत्या गरिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको अन्तिम विदाई गरिएको छ । सो क्रममा उपस्थित सबै भावुक बनेका थिए ।
बिराटनगर स्थित कोशी अस्पताल परिषरमा लेटाङ-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवान श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाएर पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।
उनको हत्या र हिंशात्मक घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अहिले सम्म ८ जनालाई नियन्त्रणमा लिएको छ ।
लेटाङमा अहिले पनि कफ्र्यु जारी छ । एक शिक्षकले बालिका बलात्कार गर्न खोजेको र दोषीलाई पक्राउ नगरिएको भन्दै विद्यालयमा छलफल हुने क्रममा झडप भएको थियो ।

