काठमाण्डौँ चैत्र ५ । अघिल्लो स्थानीय तहको निर्वाचन घोषणा हुँदा ०७५ साल फागुण दोस्रो साता नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव थवागंमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा थिए । नयाँ पार्टी बनेपछिको महाधिवेशन काठमाण्डौँमा उद्घाटन गरेर बन्दशत्र गर्न आफैले निर्माण गरेको सभाहल थवागंमा पुगेका उनले चुनावको घोषणा भएपछि त्यसलाई खारेज गर्ने महाधिवेशनबाट निर्णय गराए ।
सोही निर्णयको आधारमा स्थानीय चुनाव ७४ बैशाख र असारमा भएको चुनावमा उनको पार्टीले बम विष्फोट गर्दै दलाल सत्ताको चुनावबाट केही निकास नआउने भन्दै बहिष्कार गरे ।
त्यसपछि त्यसै बर्ष मंसीरमा भएको चुनावमा ठाँउ ठाँउमा बम पड्काउदा कसैको ज्यानै गयो, कति घाईते भए । हजारौँ पार्टी कार्यकर्ता जेलनेल परे ।
संसदीय चुनावबाट केही नहुने समाजवाद कि पुजीवाद भनेर जनमत संग्रह गर्नु पर्ने भन्दै गत वर्ष फागुण २३ मा तीन बुदे सहमतिपछि शान्तिप्रकृयामा आएका बिप्लवले अहिले फेरी चुनावको मुखमा गृहनगर कपिलबस्तु शिबगढमा पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
सो बैठकमा उनले आसन्न स्थानीय तहको निर्वाचनलाई उपयोग गर्न प्रस्ताव गरेका छन् । ५ वर्ष अघिको दलालहरुको चुनाव भनिएको सोही प्रकृतिको चुनावलाई उपयोग गर्ने विप्लवको प्रस्तावको एमाले लगायतका दलले स्वागत गरेका छन् ।
यसको अर्थ अब बिप्लवले चुनावमा भाग लिएन भने पनि कम्तीमा बम पड्काउदैनन् भन्ने दलका नेताहरुको बुझाई बन्न खोजेको छ । तर अन्तिम निर्णय भईनसकेकाले यही गर्ला भन्ने एकीन नभए पनि पार्टी महासचिव नै चुनावको उपयोगमा जाने मनशायले प्रस्ताव ल्याएपछि संभवत त्यो अनुमोदन हुन्छ भन्ने देखिन्छ ।
सो पार्टीका एक केन्द्रीय सदस्यका अनुसार चुनावलाई उपयोग गरेर एकीकृत जनक्रान्तिको वातावरण बनाउन प्रयास गर्ने दाबी गरे ।
यही व्यवस्था र चुनावमै जाने हो भने पार्टी विभाजन, दर्जन बढी मानिसको ज्यान जाने गरी भएका हिंशाहरुले के उपलव्धि दियो ? अझै पनि दर्जनौँ साथीहरु जेल बसिरहेका छन् । भन्दै केही केन्द्रीय सदस्यले भने आफ्नो तर्क यसरी पेश गर्ने तयारी गरेको स्रातको दाबी छ ।
हिजो चुनावलाई उपयोग गर्ने भन्दै मोहन बैद्यले देशभक्त जनगणतान्त्रिक मोर्चा बनाएर भाग लिएका बैद्यले कतै जित्न नसकेपछि यस पटक पैसाको खोलो बग्ने चुनावमा उपयोगको सान्दर्भिकता नहुने भन्दै बष्किार गर्ने घोषणा गरेका छन् ।
तर हिजो चुनावको काम छैन भन्दै बहिष्कार गरेका विप्लव यस पटक चुनावमा जाने तयारीमा लाग्नुले सो पार्टी भित्र नयाँ संकट पैदा भएको अनुमान कार्यकर्ताहरुको छ ।
त्यसो त पार्टी भित्रकै प्रकाण्ड समुह एमालेसँग सहकार्य गरेर चुनावमा जानु पर्छ भन्ने लाईनमा रहेको यस अघि पनि चर्चा हुँदै आएको थियो । बीचको यस अवधिमा विप्लव प्रकाण्ड र अन्य नेताहरुले काँग्रेस, माओवादी एमाले र अन्य दलका नेताहरुसँग पटक पटक भेटवार्ता गरेका छन् । प्रकाण्डको सो लाईन भए पनि हिजो जनयुद्धबाट आएको माओवादीसँगै सहकार्य वा कार्यगत एकता गर्नु पर्ने पक्ति ठूलै रहेको बताईन्छ । अब सम्पन्न हुने बैठकले कस्तो निर्णय लिन्छ, त्यो हेर्न बाँकी छ ।