चैत्र ४ काठमाण्डौँ । एमालेबाट बिद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेताहरुको दौडधुप अत्याधिक छ । सात महिनादेखिको दौडधुपमा माधव नेपाल , झलनाथ खनाल सबै नेता निरन्तर खटिरहेका छन् । पार्टी राम्रोसँग नबन्दै चुनावमा गईहाल्नु पर्ने अवस्था आएकाले उनीहरु अलि बढी संकटमा देखिन्छन् । २३ जना संघीय सांसद, केही प्रदेश सरकार र दर्जनौ स्थानीय तहका प्रमुखहरु एमाले छाडेर समाजवादीमा सनाखत गरेर आएका थिए ।
अब बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरसक अहिलेको सत्तारुढ गठबन्धन कायम रहोस् भन्ने चाहना माधव नेपालको छ । त्यो भएन भने पनि वामपन्थी गठबन्धन भए पनि कायम राख्ने सोँचमा माधव नेपाल छन् । वाम गठबन्धन भए माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाबीच तालमेल हुनेछ ।
यो चुनावको तयारीका लागि अब शीर्ष नेताहरुलाई फिल्डमा खटाउन सात वटै प्रदेशमा खटाउदैछ । १५ दिन सम्म केन्द्रीय पदाधीकारीहरुले सबै प्रदेश मातहत जिल्ला र पालिकाको बैठक बसाएर तथ्यांक लिएर आएपछि पार्टीले कति सिट आफै जित्छ , कति सिटमा तालमेल गर्ने वा कसरी जाने भन्ने ? विषयमा मुल्याकंन हुने समाजवादीका नेता गंगालाल तुलाधरले बताए ।
यस अघि एमाले छाड्दा १५०१ जना जनप्रतिनिधि सनाखत गरेरै समाजवादीमा आएका छन् । त्यसपछि पनि केही जनप्रनिनिधि आएको नेता तुलाधरले बताए ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले भूगोलमा गएर वास्तविक अवस्था पहिचान गर्न नेताहरुलाई पालिकै सम्म पठाउने निर्णय भएको थियो ।
निर्वाचनका लागि ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’ भन्ने मूल चुनावी नारा बनाईएको छ ।
बैठकले गण्डकीमा उपाध्यक्ष जयन्ती राई, कर्णालीमा महासचिव बेदुराम भुसाल, प्रदेश नं १ मा उपमहासचिव प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधार, लुम्बिनीमा उपमहासचिव विजय पौडेल र सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी तोकेको छ।
अनुगमनमा खटिने नेताहरुले सात वटै प्रदेश, वडा, गाउँ र पालिकासम्म पार्टीको वास्तविक अवस्थाको अध्ययनपछि आगामी दिनमा आवश्यक रणनीति बनाइने छ।
यो सबै रिपोर्टीगं पछि मात्रै पार्टीले जीत्न सक्ने पालिकाको संख्या टुंगो लाग्ने तुलाधरले बताए । बैठकमा माधव कुमार नेपालले स्थानीय चुनावमा पार्टीलाई जनताले राम्रो सहयोग गर्ने विस्वास व्यक्त गरेका छन् ।
एकीकृत समाजवादी जति बलियो भयो उति नै एमाले कमजोर हुने भएकाले एमाले पनि समाजवादीमा गएका नेताहरु फकाउन लागि परिरहेको उच्च स्रोतको दावी छ । यस्तोमा अन्तरविरोध बढेर पार्टीलाई क्षति नपुग्ने रणनीति बनाएर अघि बढ्ने माधव नेपालको तयारी देखिन्छ ।
५४ सालमा वामदेव गौतमले एमाले विभाजन गर्दा एक सिट पनि जित्न नसकेको भन्दै अहिले माधव नेपाल पनि त्यही स्थितिमा पुग्ने एमालेका नेताहरुको दाबी रहँदै आएको छ ।