प्रा. राजेन्द्र सुवेदी नेपाली साहित्य र प्राध्यापनका क्षेत्रमा सुपरिचित स्रष्टाको नाउँ हो। उहाँ लेखनमा जति अब्बल हुनुहुन्थ्यो त्यसभन्दा पनि थप अब्बल मानव हुनुहुन्थ्यो । मानवीयता, सदाचारिता, सहिष्णुता, प्रेम, स्नेह जस्ता मानव निस्रित गुणहरू लोप हुँदै गएको वर्तमान नेपाली धराका लागि राजेन्द्रदाइ सर्वप्रिय शिक्षक, स्रष्टा, साथी र पारिवारिकवृत्तका सबै नातासम्बन्धहरूमा समेत उत्तिकै प्रिय भएकाले आदरणीय हुनुहुन्थ्यो । सत्कर्ममा विश्वास गर्ने उहाँ कर्मप्रिय व्यक्तिका रूपमा चिनिनुहुन्थ्यो । जीवनमा सङ्घर्षकै कठिनपथ अङ्गिकार गरेर चुलिन समर्थ हुनुभएका उहाँमा चुनौति र सङ्घर्षसँग डट्नसक्ने साहसी व्यक्तित्व निस्रित थियो ।
विद्वानहरूको विद्वता अहङ्कार र हुँकारले ग्रस्त भयो भने उक्त विद्वान विष र मणिधारी सर्प बन्छ । तर राजेन्द्रदाइ चाहिँ अहङ्कारबाट अछुतो रहेर विद्वताद्वारा अलङ्कृत हुनुहुन्थ्यो । उहाँमा ठूलो भइकन पनि सानो हुनसक्ने, क्लिष्ट हुँदा पनि सरल भइदिने विशेषता थियो ।
वाम साहित्यिक धारामा आस्थावानमात्र नभएर क्रियाशीलसमेत रहेका राजेन्द्र दाइमा आम वाम चरित्र विपरित समग्र साहित्य र साहित्यकारप्रति समभाव थियो । किनभने अधिकांश प्रगतिशील साहित्य र साहित्यकारहरूद्वारा प्रगतिशीलताको लक्ष्मणरेखा तानेर उक्त रेखाभित्र परेका चाहिँ गन्हाउने झारैजस्ता साहित्य र साहित्यकार भए पनि ती उत्कृष्ठ हुने र उक्त रेखा बाहिरका तुलसी र पिपलका बोटजस्ता गुनिला साहित्य र साहित्यकारै पनि त्याज्य गर्ने परिपाटीको उहाँ विरोधी हुनुहुन्थ्यो । त्यसैकारण नै राजेन्द्र सुवेदी सर्वप्रिय समेत हुनुहुन्थ्यो । सधैँ उज्यालोसँग साक्षात्कार गरेर हिँड्ने राजेन्द्र दाइ पछिल्लो समयमा वर्तमान नेपालको क्षयीकृत राजनैतिक पर्यावरणका साथसाथै विसङ्गतिग्रस्त साहित्य र समग्र विश्रिङ्खल समाजप्रति नै पनि आस्थावान हुनुहुन्थेन। वयले हिरकसमय पारगरेता पनि उहाँमा समाहित भएको र जागरूक रहेको युवाउर्जा लोभलाग्दो थियो । त्यसैले पनि वयावस्थाले प्राकृतिक झैँ लाग्न सक्ने उहाँको धरागमन पनि उहाँका निकटतमका लागि सहजै ग्रहणीय हुन सकेको थिएन ।
‘बहिनी, कसैले पनि अतिशय वृद्ध भएर असहाय जीवन बाँच्ने जिजिविषा राख्नु हुँदैन । अबको समय स्वार्थी छ । हिँजोआज आफैँले जन्माएका सन्तान आफ्नै मातापिताको लालनपालनबाट भाग्न चाहान्छन् । त्यसैले वार्धक्यमा यस्तो परिस्थितिको निरीह भएर सामना गर्न कसैले पनि दीर्घ जीवन बाँच्नु नपरोस् ।’ चारवर्षजति अघि पूर्वाञ्चलको भ्रमण सकेर फर्कनुभएका राजेन्द्र दाइले विराटनगरको पाञ्चालीमा उहाँकी सानीआमा (एक्लै जीवन यापन गर्न वाध्य प्रा. डिल्लिराम तिम्सिनापत्नी) दुर्गादेवीलाई भेटेर फर्किएको प्रसङ्गमा मसँग भन्नुभएको थियो । त्यसैले राजेन्द्र दाइले अनायसै निर्वाणप्राप्त गरेको खबर पाउँदा मलाई उहाँले त्यसबेला मसँग अलि अमिलो अनुहारका साथ अभिव्यक्त गर्नुभएका यी वाक्यको पूर्वस्मृति भएको थियो । त्यसैले उहाँको मृत्युलाई मैले उहाँको ईच्छामरणको उपमाले सिँगार्दै मन बुझाएकी थिएँ ।
‘मेरो नयाँ उपन्यास ‘धितो कोख’ आउँदै छ । यसबारेको अन्तर्क्रिया गर्ने विचार गरेको छु । एउटा वक्ताका रूपमा तपाईँले पनि बोल्नुपर्छ है ।’ राजेन्द्रदाइले तीन वर्षअघिको एक भेटमा मसँग भन्नुभएको थियो । तर त्यस लगत्तैजसो विश्वभरिनै कोरोना कोभिड २०१९ को चलखेल शुरु भइदियो । त्यसको चपेटामा राजेन्द्रदाइको योजना पनि पर्यो र ‘धितो कोख’को अन्तर्क्रियाको आयोजना नै हुनसकेन । कोरोनाले ‘धितो कोख’को अन्तर्क्रियामात्र रोकेन कोभिड-१९ले नै हाम्रा सर्वप्रिय स्रष्टा दाइ राजेन्द्र सुवेदीलाई नै पनि यस धर्तीबाट अलपै पारिदियो ।
अन्तर्क्रियामा बोल्ने समय पर्खेर बसेकी मलाई त्यतिबेला ‘धितो कोख’बारेको मैले लेखेको लेख पढेर प्रतीक्रिया व्यक्त गर्नका लागि स्वयम् यस पुस्तकका लेखक राजेन्द्र सुवेदी भने यस धरामा अनुपस्थित हुनुहुने छ । शब्द र अर्थ बुझे पनि हामी विरलैले मात्र जीवनको क्षणभङ्गुरतालाई आत्मसात गर्न सकेका हुन्छौँ । कसको समय कतिबेला सकिन्छ ? कसले भन्न सक्छ र ?
मैले ‘धितो कोख’बारे लेखेको यो लेखोट राजेन्द्र दाइले पढ्न नपाउनु भए पनि मैले आफ्नो बक्यौता कर्म भने सकेकी छु । अर्थात् राजेन्द्र सुवेदीको ‘धितो कोख’ सँग नजिकिएको बेहोरा म यहाँ प्रस्तुत गर्दै छु ‘धितो कोख’ भित्र पस्दा
यो सत्ताको खेल विचित्र छ । सत्ताधारी सत्ताच्यूतमाथि शासन गर्छ । सत्तामा नपुगुञ्जेलको नरम व्यक्ति सत्तामा पुगेपछि गरम भइहाल्छ । पितृसत्ता र मातृसत्ताबारे पनि मैले बुझेको कुरा यत्ति नै हो ।
शक्तिको मदले नर र नारी दुवैलाई नै हिंस्रक बनाउँछ भन्ने उदाहरण हाम्रै समाजमा प्रशस्त देख्न सकिन्छ । अहिले पितृसत्तात्मक युग बितिरहेका कारण यतिबेला समाजमा पुरुषद्वारा महिलामाथि गरिने हिंसाकै वाहुल्य छ । तर जुन समाज वा परिवेश वा परिस्थितिमा पुरुष कमजोर अवस्थामा र नारी शक्तिशालि छन् त्यहाँ अहिले पनि नारीले पुरुषप्रति हिंसा गरिरहेको कथा गोप्यरूपमा भेटिन्छ । पितृसत्तात्मक युग हुनाले आफू नारी हिंसाको सिकार भइरहेको कुरा पुरुषद्वारा बाहिर ओकलिँदा समाजमा लाछी भइन्छ भन्ने त्रास वा लज्जाग्रस्त भएर नारीद्वारा ‘बेडरूम’मा भइरहेको पुरुषमाथिको हिंसा अझै गोप्य छ । हिजोआज एकातिर कतिपय नारीहरू विकृतिको चरम चुलीमा पुगेर पुरुषद्वारा गर्दै नगरिएका हिंसाको पनि प्रचारबाजीमा छन् भने अर्कातिर कतिपय पुरुषहरू आफू नारीद्वारा हिंसामै परेको कुरा पनि अभिव्यक्त गर्न नसकेर कुण्ठाग्राही जीवन व्यतित गर्न वाध्य छन् । यिनै विसङ्गति र विक्रितिको परिणति स्वरूप बलात्कार, हत्या र आत्महत्याका समाचारहरूमा दैनीक वृद्धि भइरहेको छ ।
अपवादका स्थलहरू छोडेर अहिलेको विश्व पितृसत्तात्मक ढाँचामा नै बितिरहेको छ । त्यसैले समाजमा पुरुषद्वारा महिलामाथि गरिने हिंसाकै बोलबाला वा चर्चा परिचर्चा पनि छ । अझ मुसलमान समूदायमा पर्ने कतिपय मुलुकमा त अहिले पनि पुरुषद्वारा महिलामाथि गरिने हिंसा दानवीय नै छ । यी सेरोफेरो भोग्दै आएको हाम्रो विश्वका अधिकांश साहित्यमा पनि पुरूषद्वारा गरिने नारीप्रतिका हिंसा नै लेखिएका छन् ।
पछिल्लो समयमा नेपाली साहित्यकारद्वारा पनि नारीद्वारा पुरुष माथि गरिने हिंसालाई विषयबस्तुका रूपमा लेखिन थालेको देखिन्छ । यसै परिप्रेक्ष्यमा ‘राजेन्द्र सुवेदी’को अौपन्यासिक अनाख्यान ‘धितो कोख’ ले पुरूष पनि महिलाद्वारा गरिने हिंसाले पिडीत भएको गोप्यता उदाङ्गो पार्ने दुस्साहस गरेको छ । मैले पढेका पुस्तकहरूमा पुरुषद्वारा नै पुरुष हिंसाका कथा पनि समेटिएको यो पहिलो कृति हो ।