फागुण २४ काठमाडौं । आज ११२ आँै अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । महिलामाथि हुने विभेद र अन्यायको बिरुद्ध लक्षित रहेर यो दिवस मनाईदै आएको छ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश दिंँदेै महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं विकृत प्रथालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्दै शुभकामना समेत राष्ट्रपतिले व्यक्त गरेकी छन् ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ‘सामाजिक न्याय र लैङ्गिक समानता र दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना सन्देश दिएका छन् ।
प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा बिना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।
नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको देउवाले स्मरण गरेका छन् ।