वीरगंज २० फागुन । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनको पुरै प्यानल विजयी भएको छ । कांग्रेसको अधिवेशनबाट बिहिबार भएको मतदानको शुक्रबार विहान आएको अन्तिम मतगणनाको नतिजा अनुसार संस्थापन पक्षका उम्मेदवार क्षेत्री ४ सय ६५ मतको अन्तरले विजयी भएका हुन् ।
क्षेत्रीले एक हजार एक सय १० मत प्राप्त गरेका छन् भने उनको संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत पाएका छन् । सभापतिमा निर्वाचित क्षेत्री तत्कालिन जिल्ला विकास समिति पर्साका पूर्व सभापति हुन् ।
उप सभापतिमा क्षेत्री प्यानल कै रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् । कुर्मीले एक हजार २ सय ३५ मत र गुप्ताले एक हजार एक सय २ मत प्राप्त गरेका छन् भने उप सभापतिका पटेल प्यानका उम्मेदवार डा। कृपा सिन्धु चौधरीले ५ सय ८५ मत र राजु कुमार गुप्ताले ४ सय ८२ मत पाएका छन् ।
सचिवमा क्षेत्री प्यानल कै इम्तियाज आलम र दिनेश कुमार चौधरी विजयी भएका छन् । आलमले एक हजार एक सय ७ मत र चौधरीले एक हजार एक सय ५९ मत प्राप्त गरेर विजयी भएका छन् भने पटेल प्यानलका विश्वराज घिमिरे ४ सउ ६५ मत र विरेन्द्र यादवले ५ सय ९७ मत पाएका छन् ।
सह सचिवमा क्षेत्री प्यान कै नविन कुमार सिंह र मदन राउत अहिर विजयी भएका छन् । सिंहले सब भन्दा बढी एक हजार २ सय ५३ मत र अहिरले एक हजार एक सय ११ मत प्राप्त गरेका छन् भने पटेल प्यानका लुकमान अन्सारीले ४ सय ५१ र दिलिप राज कार्कीले ५ सय ८२ मत पाएका छन् ।
क्षेत्री प्यानललाई संस्थापन पक्षका नेता पार्टीका केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, नेता अनिल रुगंटा लगायतका नेताको समर्थन रहेको थियो भने पटेल प्यानललाई संस्थापन इतर पक्षका नेता निर्वतमान जिल्ला सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर अमात्य लगायतका नेताहरुको समर्थन रहेको थियो ।