वीरगन्ज १३ फागुन। जिल्ला निर्वाचन कार्यालय पर्साले यही फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आह्वान गरेको छ ।
संघन सहरी तथा भवन निर्माण आयोजनाको सभकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्सा जिल्ला निर्वाचन अधिकारी रन्जिता झाले मतदाता नामावलीमा भएका त्रुटिहरुलाई सच्याउनका लागि मतदाता नामावली ऐन २०७३ को दफा १४, १५, १६ र १८ बमोजिम मतदाताहरुले फागुन २० गतेदेखि २६ गतेसम्म ७ दिन निवेदन दर्ता गराउन सकिने जानकारी दिइन् ।
पर्सा जिल्लामा पुरुष १ लाख ९४ हजार ६ सय ९१, महिला १ लाख ५० हजार ९७ तथा तेश्रोलिँगी १६ जना गरि ३ लाख ४४ हजार ८ सय ४ जना मतदाताहरुको संख्या रहेकोमा ति मतदाताहरुको नामावलीमा केही त्रुटि भए, झुठो विवरण पेश गरि मतदाता परिचयपत्र प्राप्त गरेको भए अथवा नागरिकता त्याग गरेको मतदाताहरुले आफ्नो नामावली सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालयमा अनिवार्य रुपमा निवेदन दिनुपर्ने बताइन् ।
उनले दाबी विरोधको लागि ७ दिनको समय निर्वाचन आयोगले दिएपनि विभिन्न शीर्षकमा फरक फरक समय तोकिएको बताइन् । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मतदाताहरुले फागुन २०, २१ र २२ गते तीन दिन मात्रै निवेदन दिन पाउने व्यस्था रहेको छ भने नागरिकता त्याग गरेकाहरुले आफूनो मतदाता नामवालीबाट नाम हटाउनका लागि फागुन २०, २१, २२ र २३ गरि ४ दिनसम्म निवेदन दर्ता गराउन सकिने बताइन् ।
यसैगरि कसैले झुठो विवरण पेश गरि मतदाता परिचयपत्र प्राप्त गरेको छ भने त्यसको लागि प्रमाण सहित मात्रै निवेदन दर्ता गराउनुपर्ने बताइन् । हचुवाको भरमा विना प्रमाण उजुरी दिए कुनै किसिमको कारवाही नहुने भन्दै आफ्नो झुठो विवरणकर्ताको नागरिकता नम्बर, आमा बुवाको नाम, ठेगाना लगायतका प्रमाणहरु पनि पेश गर्नुपर्ने बताइन् ।
यसैगरि मतदाता परिचयपत्र नष्ट भएको वा हराएको अवस्थामा यही फागुन २० गतेसम्म सम्बन्धित वडाको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने भन्दै निर्वाचन अधिकारी झाले मतदान गर्नको लागि मतदाता परिचयपत्र भन्दा पनि नामावली अनिवार्य रहेको बताइन् ।
उनले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएको खण्डमा फोटोसहितको नागरिकता एवं लाइसेन्सको आधारमा मतदान गर्न सकिने तर उम्मेदवारको हकमा मतदाता परिचयपत्र अनिवार्य रहेको बताइन् ।
कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन अधिकारी झाले निर्वाचन जनप्रतिनिधि एवं राजनीतिक दलसँग सम्बन्धित भएको कारण सम्पूर्णको सहयोग आवश्यक रहेको भन्दै यस मतदाता नामावली अधावधिक दाबी विरोधसहितको कार्यक्रमबारे सम्पूर्ण पालिकाका जनप्रतिनिधिहरुले आफ्नो पालिका लगायत सम्पूर्ण वडाहरुमा निर्वाचन कार्यालयले उपलब्ध गराएको सूचना यही फागुन १९ गते अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने बताइन् ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल पाण्डे, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेकमहम्मद अन्सारी, पकहामैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया, जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ, जसपाका नेता रामनरेश यादव, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतलगायत गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।