११ फागुन, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहान निधन भएको छ । लामाको आज बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।
लामा लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए।
२०२७ सालबाट लोकगीत गाउन शुरू गरेका उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।