९ फागुन, भद्रपुर । झपाको भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान ५४ वर्षको उमेरमा निधन भएको छ । ओमसाई हस्पिटलको आइसीयुमा उपचाररत पकुवालको आज विहान ४ बजेर ३५ मिनेटमा निधन भएको उनका पति सञ्जय प्रधानले जानकारी दिएका छन ।
केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा सक्रिय थिइन् ।
एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित डाइलासिस पनि भइरहेको थियो ।
उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् ।
पत्रकार पकुवालका दुई छोरी छन् । एक छोरी घरमै रहेकी छन् भने अर्की छोरी अध्ययनका लागि विदेशमा रहेकी छन् ।
विहान ७ बजेतिर पकुवालको पार्थिक शरीरलाई हस्पिटलबाट निजी निवास लगिएको छ । आजै विहान ११ बजे मेची नदीमा पत्रकार पकुवालको दाहसंस्कार गरिने जनाईएको छ ।