पृय अविरल,
असिम सम्झना !
सन्चो विसन्चो को बारेमा त के सोध्नु र है ? यतिका वर्ष वितिसके कहाँ छ्यौ ? कस्ती छ्यौ ? केही जानकारी छैन । सधै तिम्रो सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दछु । तिम्रो जीवन पक्कै पनि एकदम खुशी र आनन्दका साथ वितिरहेको होला भन्ने कुरामा पूर्ण विश्वस्त छु ।
म त राधा र कृष्णको प्रेम कहानी सुनेर बढेको । राजा नल र दमयन्तिको प्रेम कथा पढेर हुर्केको । मधुकर र मधुमालतीको अजम्मरी प्रेम कहानी एकै खेपमा पढिसक्दा पनि तृप्त हुन नसकेको स्मृती बोकेर बाँचेको । लेक, वेसी र वनपाखाहरुमा स्याउला सोत्तर गर्दै, गाइवस्तु चराउदै वल्लो डाँडा देखि पल्लो डाँडा देउडा र दोहरी गीतमा प्रेमका भाका गुनगुनाउँदै हुर्के बढेको । शुरुमा अध्ययन गर्ने रहरले र पछी बाध्यताले शहर भाँसिए । महिनौं कुरेपछी मात्र प्राप्त हुने हस्तलिखित “चिट्ठी” मार्फत बोकेर ल्याउने मायाको व्यग्र प्रतिक्षामा जीवनको महत्वपूर्ण समय खर्च गरे । प्रेमपत्र लेख्न सुगन्धित मसी र सुन्दर कापीका पाना खोज्दै यौवनका कैयौं दिनहरु आर्किड ग्यालेरीमा विताए ।
तर अविरल तिमिलाई थाहा छ ? आज समय निकै फेरिएको छ नि । पत्र लेख्ने कुरा लोप नै भइसक्यो । पत्रहरु लोपभए संगै मानिसको धैर्यता पनि लगभग लोप हुने क्रममा छ । अहिले धैर्यताको स्थान “भाइरलता” ले लिएको छ । अर्थात अजम्मरीको स्थान एकदम क्षणिकताले लिएको छ । प्रेम पनि भाइरल हुने जमाना आएको छ । आज छ भोली छैन । तुरुन्तै “टेक्स्ट म्यासेज” पठाउन मिल्ने प्रविधी र भिडियो सहित लाइभ कुराकानी गर्न मिल्ने भएको छ । महिनौ कुरेपछी प्राप्त हुने पत्रले बोकेर ल्याउने अजम्मरी प्रेम, सानिध्यता र प्रतिक्षाको अन्त भएको छ । संगै बसेका प्रेमी र प्रेमिकाहरुले पनि प्रेमका शुभकामना सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नुपर्ने चलन बढेको छ । अर्थात प्रेम तिम्रो मेरो पालाको जस्तो पत्रका खामहरुभित्र लुकेर होइन, ‘म तिमिलाई माया गर्छु’ भन्न नसक्ने गरी अव्यक्त रुपमा होइन विश्वव्यापीरुपमा सार्वजनिक भएर प्रकट हुने गरेको छ । या अझ भनु सार्वजनिक गर्नुपरेको छ । प्रेमलाई “प्रेम दिवश” अर्थात ‘भ्यालेन्टाइन डे’ को रुपमा मनाइन थालिएको छ । शहरमा युवा युवतीहरु एक हप्ता सम्म यो दिवश मनाउछन् । प्रेम भनेकै प्रदर्शन गर्नको लागि हो झै गरी उनीहरु खुलेयाम आफ्नो ‘प्रेम’ प्रदर्शन गर्छन् । तिम्रो मेरो समयको जस्तो हृदयमा मात्र लुकेर बस्ने प्रेम रहेन अब । यो छताछुल्ल प्रदर्शन गर्न मिल्ने भएको छ । यहि मौका पारेर मैले पनि वर्षौदेखिको तिमीलाई व्यक्त गर्न नसकेको तर हृदयमा सँगालेर राखेको अव्यक्त प्रेम व्यक्त गर्न खोजेको छु यो ‘डिजिटल’ पत्र मार्फत । भूल भए माफ गर ल ।
पृय अविरल, सपना पनि त्यही मिठा हुँदा रहेछन् जुन कहिल्यै पुरा हुँदैनन् । पुरा हुने सपनाहरु त समयसंगै धुमील हुँदै जाने रहेछन् । यतिका वर्ष वितिसक्दा पनि यो मनले तिमिलाई त्यही चन्चले स्वभाव र भर्भराउँदो यौवनमा देखिरहेको हुन्छ । अनि त्यही पारीलो घाम, डाडाँको पिपल र टलपल टलपल शितका थोपा झै भइराख्ने आँशुका ढिक्काहरु । त्यही कोइलीको कुहु कुहु अनि ऐसेलु र काफलका पोकाहरु । लाग्छ समय हाम्रो पहिलो भेट भएको दिनदेखि नै टक्क अडिएको छ । संधै उही पुराना स्मृतिहरु ताजा बनेर पलपल मानसपटलमा छचल्किरहन्छन् ।
विज्ञान ‘टाइम मेसिन’ बनाउन सकिने कुरामा विश्वस्त छ । यो हाम्रो पालासम्म सम्भव होला नहोला भन्न सकिन्न तर ‘मेरो टाइम ट्राभल’ भने एकान्त चिसो रातमा देखिने मिठा सपनाहरुले नै सम्भव बनाइरहेका छन् । सपना भन्ने कुरा नहुँदो हो त जीवन मरुभूमी जस्तै उजाड र निराश मात्रै हुन्थ्यो होला । पुरा नहुँने नै सही कमसेकम रातीमा सपना देखिन्छन् र मानिस तिनै सपनाको खोजीमा विपनामा आफ्नो यात्रा जारी राख्न तयार हुन्छ । तिमीलाई पनि मैले देखेको जस्तै सपना दोहरियोस् भन्दै मैले कयौं रात सपना देखिएपछी खुट्टातिर सिरानी राखेर सुतेको छु । तर थाहा छैन त्यही सपना तिमिलाई पनि दोहरियो वा दोहरिएन । सपनै भएन पनि होला । तर म भने आज मेरो तिमीप्रतिको वर्षौदेखिको अव्यक्त प्रेम व्यक्त गर्दै यी मेरा अन्तहीन सपनाहरुलाई विश्राम दिन चाहन्छु । पृय अविरल, “म तिमिलाई औधी प्रेम गर्छु है” । “आइ लव यू” अविरल ।
उही
“स्वप्नदर्शी”
-वीर सिंह धामी