काठमाडौं, २८ माघ । एघार महिना बढी राष्ट्रिय किताबखाना (निजामती)को महानिर्देशकका रुपमा नेतृत्व सम्हालेका नेत्र प्रसाद सुवेदी बाग्मति प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिवमा सरुवा भएका छन् । शुक्रवार किताबखानामा आयोजित एक कार्यक्रममा सुवेदीलाई बिदाई गरियो । सुवेदीले एघार महिना एघार दिन कितावखानाको महानिर्देकको जिम्मेवारी रहदा पुराना अभिलेखलाई व्यवस्थित भण्डारण लगायत थुप्रै सुधारात्कम काम गरेका छन् ।
सुवेदीको कार्यकालमा पुराना अभिलेख व्यवस्थापनमा जोड दिँदै क्षतिग्रस्त भवनबाट उद्दार भएका सम्पत्ति विवरणहरुको व्यवस्थापन सम्पन्न भएको छ भने उपदान लगायतका पुराना अभिलेखलाई व्यवस्थित भण्डारण भैरहेको छ । कितावखानामा राणाकालीन दस्तावेजदेखि निजामती थमौती, सैनिक कमान्डरीसम्बन्धी मिसल, सेनासम्बन्धी पुराना इस्तिहारलगायतका सामग्री छ । २०७२ सालको भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई सुरक्षित राख्न नसक्दा कतिपय दस्तावेज धुजाधुजा हुनुको साथै ओसले गर्दा कतिपयमा लेखिएका अक्षर मेटिन थालिसकेकोले यसको संरक्षणमा जोड दिईएको हो ।
केही वर्षअघि तिनलाई राष्ट्रिय अभिलेखालयमा ल्याउने लगभग तयारी भइसकेको अवस्थामा किताबखानाका तत्कालीन महानिर्देशकको सरुवा भएपछि सो योजना अगाडि बढ्न सकेको थिएन । तर सुवेदी महानिर्देशक भएर गएपछि अभिलेख संरक्षणको कामलाई प्राथमिकताका साथ अगाडि बढाईएको थियो ।

यस्तै अनिर्णित अवस्थामा रहेको पिआइएस रिइन्जिनियरिङको फाइल टुंगो लगाई पिआइयससम्वन्धी सबै कार्यको कार्यप्रकृयासँग आवद्ध गर्ने काम अन्तिम चरणमा पुगेको छ । यहि फागुन महिनामा नयाँ सिस्टम सन्चालन हुने तयारीमा रहेको छ । जसका कारण नयाँ प्रणालीबाट काम हुँदा धेरै विषयहरु अपग्रेड हुने
विश्वास लिइएको छ ।
प्रदेश तथा स्थानीय तहमा कार्यरत रहने कर्मचारी एवम् स्थानीय तहको अन्य सेवामा कार्यरत कर्मचारीको अभिलेख राख्ने प्रणालीलाई पनि अन्तिम चरणमा पुर्याइएको छ । पिएलजिएसपिको वजेट स्रोतमा प्रणाली तयार भएको र अव तालिम तथा अन्य प्रशासनिक तयारी पछि प्रणालीमा प्रयोगमा आउने छ ।
यस्तै २०७८ असोजदेखि मंसिर मसान्त सम्म व्यक्तिगत विवरण अद्यावधिक गर्ने अभियान सञ्चालन गरेकोमा केही कार्यालय र १४७०८ जना कर्मचारीको विवरण अद्यावधिकको कार्य सम्पन्न भएको किताबखानाले जनाएको छ । महानिर्देशक सुवेदीले कर्मचारीहरुको सहभागीतामा २०७८ फागुनदेखि नै कार्यालय परिसर सरसफाई, हरियाली प्रवर्द्धन र अन्य विन्यासका कामहरु साप्ताहिकरुपमा सन्चालन गर्दै आएका थिए । उनी स्वयम उक्त कार्यक्रममा सहभागी हुने गरेका थिए । अहिले कार्यालय परिसरमा रहेको तलाउमा माछापालन गरिएको छ ।

हरेक ४ महिनामा कार्यसम्पादन र पहिचानसम्वन्धी सूचना अद्यावधिक गर्नका साथै सरोकारवालाबाट माग भै आएको कार्यालयसम्वन्धी सूचना सम्वन्धित शाखासँगको समन्वयमा सूचना अधिकारीले तत्काल उपलब्ध गराउने गरिएको छ । भने आन्तरिक नियन्त्रण प्रणालीको प्रारम्भिक खाका समेत तयार पारिएको छ । किताबखानामा अहिले मिनी लाइव्रेरी सञ्चालनमा ल्याउनुका साथै माइन्ड म्यानेजमेन्ट वकसप सन्चालन गरिएको छ ।
निवृत्तीभरण व्यवस्थापन कार्यालयसँग राष्ट्रिय किताबखानाको मबतब क्ष्लतभनचबतष्यल अन्तिम चरणमा पुगेको छ भने किताबखानाको एकीकृत वेवसाइट तथा विषयगत किताबखानाहरुको अलग अलग वेवसाइट प्रयोगमा ल्याइ साथै गत २ वर्षको वार्षिक प्रगति प्रतिवेदनको पुस्तिका एकीकृत फर्म्याटमा प्रकाशित भएको छ ।
यस्तै किताबखानाले अहिले साविकदेखि प्रारम्भ भएको र बाँकी व्यक्तिगत फाइलको डिजिटाइजेसनमा जोड दिइएको छ । यस अन्तर्गत नियमित वजेटबाट डिजिटाइजेसन कार्य भैरहेको र प्रदेश तथा स्थानीय तहतर्फका कर्मचारीको किताबखानामा रहेका फाइलहरुको समेत डिजिटाइजेसनका लागि प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रमबाट सूचना प्रकाशित भएको बताइएको छ ।

।
शुक्रवार कार्यलयमा भएको बिदाई कार्यक्रममा सुवेदीले कितावखानामा रहेका ऐतिहासिक महत्वका पूराना अभिलेखको संरक्षणका लागि सम्वद्ध सम्पदाविज्ञको समेत राय सुझाव लिई आगामी कार्यक्रममा स्रोत प्रस्ताव गर्न पुर्वसंभाव्यता अध्ययन भैरहेकोले यसलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए । आधुनिक र सुविधासम्पन्न भवन निर्माण र पूराना र महत्वपूर्ण अभिलेख किताब जोगाउने गरी कार्यक्रम ल्याउनपर्नेमा उनको जोड थियो ।
भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई त्यही परिसरमा प्रिफ्याबको संरचनाभित्र राख्दा चिस्यानले तिनलाई मोड्न प्रयोग गरिएका छाला कुहिन थालेको र धेरैका अक्षर उड्न थालेको अवस्था छ । कतिपय इस्तिहारलाई मुसाले खाएको छ ।
वि.सं.२००२ सम्मको निजामती थमौती (कर्मचारी सिटरोल) राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । त्यसपछिका सिटरोल किताबखानामा राखिएका छन् । राणाकालीन निजामती थमौती राखिएको कोठामा ०१६र१७ सालसम्मका सिटरोल राखिएका छन् । २००२ सालभन्दा अगाडिका कतिपय निजामती थमौतीका ढड्डा पनि किताबखानामा छ ।

सो कोठामा पुराना किताबका साथै स्थान अभावका कारण कर्मचारीहरूको सम्पत्ति विवरणका खाम पनि राखिएका छन् । त्यो बेलाका सैनिकका सिटरोल, सेनासम्बन्धी विभिन्न इस्तिहार, राणाकालीन कर्मचारीहरूका तस्बिर आदि पनि त्यहाँ रहेकाले खोजकर्ताहरूका लागि त्यहाँ भएका दस्तावेज महत्तवपूर्ण स्रोतका रूपमा प्रयोग हुन सक्दछ । यस्ता पुराना दस्तावेजहरुको संरक्षणमा सबैले ध्यान पुर्याउनपर्ने सुबेदीको भनाई छ । साथै सुविधा पाउन हकवालाको देहान्त भएपछि सो अनुसार अभिलेख तामेली गर्ने कामको थालनी गर्नुपर्नेमा उनले जोड दिए ।
सुवेदीले आइतवारदेखि बाग्मति प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिवको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।