एमसीसी अहिले राजनीतिक दलहरुका लागि घाँटीमा अड्किएको हड्डी जस्तो भएको छ । पारित गरौँ जनस्तरबाट बिरोध थेग्न नसकिने, पारित नगरौँ कसैको सत्ता गुम्ने, गठबन्धन तोडिने आदि आदि ।
यस्तो सकस पैदा हुनुका बीच पनि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा जसरी पनि संसदको यो अधिवेशनमा एमसीसी संसदमा पेश गर्ने मुडमा छन् । यसका लागि आवस्यक परे गठबन्धन तोडेर पनि एमालेको समर्थनमा एमसीसी अनुमोदन गराउने दाउमा देउवा छन् । यसका लागि देउवाले अनौपचारीक रुपमा एमाले अध्यक्ष केपी ओली र अन्य तह मार्फत पनि एमालेसँग सम्पर्क गरीरहेको स्रोतको दाबी छ ।
गठबन्धन तोडिएर एमसीसी यथास्थितिमा पारित गर्न हुँदैन भन्ने माओवादी, एकीकृत समाजवादी , जसपा र जनमोर्चा बाहिरिए भने पनि एमाले आँउदा स्पष्ट बहुमत पुग्ने भएकाले देउवा त्यो दाउमा रहेका छन् ।
ओली पनि सत्ताबाट बाहिरिए देखि नै प्रचण्ड र माधव नेपाललाई जसरी पनि पाखा लगाउने रणनीतिमा छन् । उनले यस अघि नै गठबन्धन तोडेमा एमसीसी अनुमोदन गर्न सहयोग गर्ने आस्वासन काँग्रेसलाई दिएका छन् ।
काँग्रेस र एमाले मिलेको खण्डमा एमसीसी अनुमोदन पनि हुन्छ र चुनावमा प्रचण्ड माधव नेपाललाई पाखा लगाउन पनि सहज हुन्छ । एमाले त्यही मौकाको खोजीमा देखिन्छ ।
यस्तोमा एउटा बाधक सभामुख अग्नी सापकोटा हुने देखिन्छन् । उनी राष्ट्रिय सहमति विना एमसीसी टेवल गर्ने पक्षमा छैनन् । यस्तो स्थितिमा एमाले र काँग्रेस मिल्नासाथ सभामुख हटाउन पनि सहज हुन्छ र त्यो वातावरण तयार हुने खतरा पनि छ ।
यदी काँग्रेस एमाले मिलेर एमसीसी विना संसोधन ल्याउने स्थितिमा माओवादी, एकीकृत समाजवादी लगायतका पार्टी त्यसको विपक्षमा उभिने र त्यसले स्वतः गठबन्धन छाड्नु पर्ने बुझाई माओवादी भित्र तयार हुँदै गएको छ । माओवादी यही स्थितिमा एमसीसी संसदमा पेश नगरौँ भनेर लविङ गरीरहेको छ । यदी जबरजस्त पेस्ने नै स्थिति आए त्यसको विपक्षमा उभिने या मतदानमा भाग नलिने मध्य एक रणनीति माओवादीको हुने एक शीर्ष नेताको दाबी छ ।
एमसीसीको झड्का पछि दलहरु लगत्तै स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनु पर्ने स्थिति छ । संभवत जेठ ४ गते स्थानीय तहको निर्वाचन सरकारले आउने साता तोक्ने छ । त्यस्तो स्थितिमा काँग्रेस र एमालेबीच अघोषित गठबन्धन भएको स्थितिमा माओवादी, एकीकृत समाजवादी लगायतका पार्टीलाई चुनावमा जीत्न कठिन सावित हुनेछ ।
त्यसको सामना गर्न पनि प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले वाम गठबन्धनको अर्को धुरी बनाउन कोशिस गर्ने बताईएको छ । जसमा एमाले बाहेकका सबै बाम घट्टकलाई सामेल गर्ने रणनीतिका बारेमा सोच्न सकिने एकीकृत समाजवादीका एक नेताले दाबी गरे ।