म पोख्तैछु आज तिनै कर्मले हारेकी, जीवनले खारेकी, अनि भाग्यले कोपरेकी शङ्खरनी दिदीको कथा ,कथा निकै अगाडिको हो ,अनि मेरै आँखाको सेरोफेरो भित्र रुमलिएको कथा हो । जति वेला म मात्र १०-१२ वर्षकी थिए ,त्यति बेला जव तिहार सकिन्थ्यो हाम्रो गाउँघरमा धान पाक्न सुरुहुन्थ्यो र काट्न पथ्र्यो ।म धान पाक्न थालेपछि ८-१० वटा हँसिया बोकेर धार लगाउन भन्दै सङ्खरे दाईकोमा जान्थे ।शङ्खरे दाई दुब्ला,पातला र अग्ला अनि निकै काला थिए । खै कुन उमेरमा उनलाई क्षयरोग लागेको थियो थाहा भएन तर त्यति धेरै उमेर नकाटे पनि उनी बुढो मान्छे जस्तै देखिन्थे र घ्वाङ्ग घ्वाङ्ग खोकिरहन्थे । म सधै उनलाई भाटी तान्दै ,फलाम पिट्तै ,हतियारमा रसायन हाल्दै गरेको अवस्थामा भेट्थे । शङ्खरे दाइको आरन अाँगनको पल्लोछेउमा थियो । सानु टहरो भित्र उनको एउटा सानु खरले छाएको ,सुन्टिले बारेको ,माटाको घर थियो ।घरको मुनिपट्टी १।२ वटा बाख्रा ,२।४ वटा कुखुरा अनि कम्वरमा डोरीले बाँधेको सुगुरको छाउरो हुन्थ्यो । शङ्खरेदाइका ६ जना छोराछोरी थिए । कपडा र जुत्ता पनि हुदा लगाउँथे ,नभए आफ्नै ढंङ्गले उनीहरुको गुजारा गरेका थिए । शङ्खनी दिदी प्राय चुरोटको सर्को तान्दै गरेकी हुन्थीन् ।म पनि प्राय उनीहरुकामा गइरहन्थे खेताला बोलाउन । दिदी खुशी हुदै आउथिन् । कहिलेकाँही शङ्खरे दाई पनि धान झार्न आउथे । धानको भात र खाजा खान पाउनेआशामा उनी निक्कै रमाउथे तर राई गाउँमा जस्तो बाहुनको घरमा उनको खुराक (रक्सी) पुग्दैन थियो ।
मंसिरमा मात्र हैन ,हामीलाई खेताला असारको महिनामा पनि उत्तिकै चाहिन्थ्यो । हामी धान रोप्न बोलाउथ्यौं र शंङ्खरनी दिदी आउथिन र घान रोप्तै गीत गाउँथिन
“पानी प¥यो ए लै लै,काँ प¥यो गैरी गाउँ
अभागीको ए लै लै काँ छर जाँने ठाउँ
भ्यामै चौतारी, मायाँलाउँ भने छैन दौतरी ”
त्यो आवाज मेरो मानसपटलमा अझै सङ्लो छ ।कहिले उनी घान रोप्ता रोप्तै कथा भन्थिन उनले जाने सुनेका । खै कसले उनलाई सुनाएछ अवत यो देशमा बहुदल आउँछरे अनि सबै जनताका छोराछोरीलाई सरकारले नै पडाई दिन्छरे निशुल्क । बिद्यालय पोषाक पनि दिन्छरे भन्दै खुशी व्यक्त गर्थिन । त्यतिबेला सम्म उनले कुनै छोराछोरीलाई स्कुल पढाएकी थिइनन् ।ठूली छोरी आफ्नै साथमा खेताला लैजान्थिन् ।माईली घरमा खाना बनाउने ।बाँकी अरु सबै खोलामा माछा मार्थे । यस्तै थियो उनको दिनचर्या ।
कुनै एक दिन ,अचानक बुबाले मलाई खुकुरी र हँसिया लिएर अर्जाप्न लैजा भन्दै पठाउनु भयो । म गएँ हसिया र खुकुरी बोकेर अर्जाप्नलाई ,मलाई पनि शङ्खरदाईको घर जान रमाईलो लाग्थ्यो । ,म त्यहाँ गएर भाटी तान्थे , भाटी तान्दा आगो ह्वार् ह्वार भएको देख्दा निकै रमाउथे र बुबालाई नभनिदिनु है भन्थे ।तर त्यस पटक मैले कल्पनै नगरेको दृश्य देख्नु प¥यो ।
पिढीमा शङ्खरेदाई पल्टिरहेका थिए ।शायदै हुन सक्छ रक्सी धेरै पिएहोला ।शङ्खरेनी दिदी दाईको शिरतिर बसेकी थिईन् र एउटा हातले पंखा हल्लाइ रहेकी थिइन् । अर्को हातले आँशु पुछ्तै थिइन् ,छोराछोरी पनि छेउछाउ बसेररुदै थिए ।“ उठ न वाउ उठ” भन्दै थिए । होहल्ला भयो सबै भेला भए ,रुवाबासी चल्यो जे नहुनु थियो भैसक्यो र शङ्खरेदाईको अन्तिम विदाई देख्नु रछ मैले देखें अनि फर्किए ।
समय आफ्नै क्रममा बग्यो ।मैले पनि त्यति ख्याल राखिन क्यारे ।सुनेकी थिएँ शङ्खरनी दिदीले आफ्नो नाकको बुलाकी वेचेर लोग्नेको काजकृया गरीन् अरे ।केही वर्ष पछि अचानक हामी हिड्ने बाटोको छेउमा,खोलाको धारमा उनको घर सारिएछ जहाँ कुनै बोटबीरुवा थिएनन्।विकट डाँडो थियो ,खाने पानी थिएन त्यस्तो ठाउँमा एउटा गोठ जस्तो छाप्रो बनाएर उनको परिवारलाई राखेको देखें ।अनौठो लाग्यो सोधें किन यता सरेको भन्दै ,त्यो पहिला बसेको जग्गा आफ्नो थिएर रे अनि यता सट्टा गरेको रे ।मैले सबै बुझेकी थिइन ।
दिदी उमेरले ३० काटेकी थिइनन् तर उनकी ठूली छोरीको अलि परको गाउँमा विहे भैसकेको थियो ।उनको नाति पनि भैसकेको थियो ।बनीबुतो गरेर जीवन चलाउने उनको वद्यता पनि कत्ति जटिल । म देखिरहन्थे उनी ३६५ दिनमा प्राय विरामी हुदा वाहेक अरुसबै दिनमा अरुकै घरखेतमा हुन्थिन । उनका हातले बिघौबिघा धान रोप्थिन तर कस्तो बिढम्बना उनका घरमा कहिल्यै अत्र हुदैन ,काममा जान नसक्ता छोराछोरी भोकै हन्थे ।कहिले काहीं हाम्रोमा आउदा अरुको आँखा छलेर १ मानाको ठाउँमा २,३ माना सम्म पनि म दिन्थे ,त्यसैले होला मलाई कान्छि सानी भनेर माया गर्थिन शङ्खरनी दिदी ।
आजम तिनै दिदीको पिडाको क्यानभासमा बसेर, बेदनाको मसी पोख्तै लेख्तैछु तिनका भाग्य भोगाईहरु जो मेरो मानस पटलमा अटल बनेर बसेकाछन् ।कुनै समय क्रममा , उनको सुन्दर जवानी ,विवश जीवनी देखेर कुनै गिद्धेपुरुषले आँखा लाएछ क्यारे ।फकाएछ उनलाई ।मायाँ गर्छु भनेछ ।दुखमा परेको बेला नारी कोमल ह्ृदय चाँडै पग्लिएछ । विश्वार गरिन उनले ।उनको घरको छानु चुहिने भैसकेको थियो ,सुन्टिको बेराबारा खुस्केको थियो ।गाग्रो कुच्चिएको थियो । नाङ्लो फाटेको थियो ।नजिकै खोला भए पनि जीन्दगीलाई खोलामा विसाउन मिल्दैन थियो ।त्यहि विवश र लाचार जीवन भित्र पनि आमाको मन थियो ,ममता थियो ,सम्बेदना र चेतना सबै थियो ।त्यो दुष्ट पुरुषले ति दिदीको घर छाइदियो । गाग्रो र नाङ्लो किनिदियो । अनि छोराछोरीलाई नयाँ लुगा पनि पो किनीदियो रे । एक बोरा चामल किनिदियो रे । ऐले त खायो भरे के खाने ?आज त खायो भोलि के खाने जस्ता समस्यामा जुधेकी दिदीलाई “म तिमीलाई र तिम्रो छोराछोरीलाई पुग्ने गरी खान दिन्छु” भनेपछि खुशी नै भइन् क्यारे ।उनले दोस्रो विवाह गरिन् । अव मेरै घर जाने भनेछ त्यसपछि माइली छोरीलाई यताको घर जिम्मा लगाएर उनी सौता लाग्न गइन् ।उता सौताले टिक्नै नदिए पछि उनी फर्केर आइन् ।उनी फर्केर आउदा गाउँले सबै मिलेर उनलार्इृ गालि ,ब्येजेती गरे ,कत्तिले पिटे ,कतिले थुके । उताकी सौता आयेर समाज बटुली ,उनलाई सामाजिक व्येजेत गरियो । उनको विवशता माथि बोल्ने भन्दा उनको खोईरो खत्रेको मात्र बाहुल्यता बढ्यो । उनले माफी मागिन ,रोइन कराइन् तर उनी दुखी माथि झन दुखी बनीन् । कठै त्यो हाम्रो समाज अनि सामाजिक मूल्य मान्यता र त्यहि मुल्यमान्यताले दिने महिलाको पीडा…..खै के बयान गरौ ।