अमर प्राज्ञ घटराज भट्टराईबारे पीडादायी प्रसङ्ग

अमर प्राज्ञ घटराज भट्टराईबारे पीडादायी प्रसङ्ग

  • शुक्रबार, मंसिर १०, २०७८
  • नरेन्द्रराज प्रसाई

  • 18K
    SHARES

घटराज भट्टराई स्वर्गीय भएपछि म एक प्रकारले विचलित नै जस्तो भएको थिएँ । वास्तवमा कुनै बखत उनी मेरा एक प्रकारले साहसजस्ता थिए । त्यसैले मैले पनि उनका लागि हर प्रकारका सोच र विचार राखिरहन्थेँ । त्यसै परिवेशको एउटा सन्दर्भले मलाई फेरि च्वास्सै घोचेको छ । मेरो ‘नारीचुली’ अङ्ग्रेजी भाषामा अनुवाद गरेर आफ्ना नाउँमा छाप्ने एक जना (सायद त्यस्तालाई किताब चोर पनि भनिन्छ होला) जगदीशशमशेर राणासँग कुनै समय मेरो अति नै घनिष्ठता थियो । भारतको सिम्ला निवासी ती राणालाई २०६४ साल असार २४ गते मैले घटराज भट्टराईबारे एउटा चिठी लेखेको पनि थिएँ । त्यस चिठीको एउटा दफा यहाँ उल्लेख गर्न मैले सन्दर्भ ठानेको छु—

“यो कप्टी नेपालको अरू के लेखूँ ? जति सम्झ्यो मनै भाँचिएर आउँछ । उदाहरणका लागि भन्ने हो भने मदन पुरस्कारको स्वर्ण वर्षको उपलक्ष्यमा मैले कमल दीक्षितलाई १० वटा स्वर्ण सम्मान दस जनालाई प्रदान गर्ने रायसल्लाह दिएँ । त्यो सम्मानको नामकरण पनि मैले नै गरिदिएँ ‘मदन पुरस्कार स्वर्ण सम्मान’ । अनि त्यो सम्मान पाउने मान्छेको योग्यता पनि मैले नै तोकिदिएँ । त्यस बेला मैले कमल दीक्षितलाई भनेको थिएँ— ‘साधनारत स्रष्टालाई यदि जीवनभरि पनि तपाईं जगदम्बाश्री र मदन पुरस्कार दिनुहुन्न भने ती प्रकृतिका स्रष्टाहरूलाई मात्र यो सम्मान दिनुहोस् ।’

कमल बाबू मेरा कुराले फुरुक्कै पर्ने गर्थे । अनि कमल बाबूबाट जीवनभरि मदन पुरस्कार र जगदम्बाश्री नदिने प्रण गर्नुभएका मान्छेमध्ये छनोट गर्नुपर्ने मेरो कर्तव्य थियो । त्यसैले मैले उनीसँग सोध्थेँ ‘फलानालाई मदन पुरस्कार वा जगदम्बाश्री पुरकार दिनुहुन्छ कमल बाबू ?’ उनले ‘दिन्नँ’ भन्नेबित्तिकै म त्योे नाउँ मदन पुरस्कार स्वर्ण सम्मान पाउने लहरमा टिप्दै जान्थेँ । तीमध्ये निम्नलिखित १० जना आरडी प्रभास चटौत, घटराज भट्टराई, चूडामणि रेग्मी, दिलबहादुर नेवार (भारत), भरतराज पन्त, मणिराज उपाध्याय, रमेश खकुरेल, राधिका राय, श्यामदास वैष्णव, वसन्तकुमार शर्मा गरी जम्मा ७ जनाको नाउँ मैले दिएको थिएँ । दीक्षितले ३ जनाको नाउँ हाले । अर्थात् चटौत, उपाध्याय, खकुरेल उनले नै चयन गरेका नाउँहरू थिए । उनले म्युजिक नेपाल र रत्न पुस्तक भण्डारलाई पनि सम्मान गरौं न भनेँ । अनि मैले भनेको थिएँ, ‘यी नाउँ पनि प्रस्तुत गरेर राम्रो काम गर्नुभयो ।’

‘मदन पुरस्कार स्वर्ण सम्मान’को अर्को पनि सानो प्रसङ्ग छ; ‘मदन पुरस्कार स्वर्ण सम्मान’ झन्डै आधा तोला सुनको असर्फीसहित १२ जनालाई नै बाँड्ने निश्चित भइसकेको थियो । त्यो सम्मान प्रदान गर्ने एक हप्ताअघिदेखि हरेक दिन कमल दीक्षितले मलाई फोन गरेर भन्थे, “घटराज भट्टराईको त्यस्तो के योग्यता छ र त्यत्रो सम्मान दिनु ? उहाँको सट्टा रमेश खकुरेल राख्नुपर्यो ।” मैले पनि उत्तर दिइरहेँ, “कमल बाबू ! यो मदन पुरस्कार स्वर्ण सम्मान मैले घटराज सरका लागि नै आविष्कार गरेको हुँ; उहाँको नाउँ त काट्नै मिल्दैन ।” अनि फेरि दीक्षित मेरो सहमति लिन चाहन्थे । तर म घटराज सरको नाउँ नकाट्ने अडानमा बसिरहेँ । अन्ततः घटराज भट्टराईको नाउँ फाल्न नसकेपछि दीक्षितले फेरि अर्को विकल्प निकाले । त्यसैले हामी दुवैको सहमतिले मैले पेस गरेको हर्षनाथ शर्मा भट्टराईको नाउँ काट्यौं । त्यो नाउँ हटाएपछि खकुरेलको नाउँ समावेश गरिएको थियो । मैले त्यसै बेला चाल पाएँ दीक्षितले घटराज भट्टराईलाई पटक्कै मन पराउँदैनथे । वास्तवमा दीक्षितलाई अनुसन्धानमा सहयोग गर्ने भट्टराई नै थिए । त्यसैले उनले उनको किन दागा धरे मैले चाल पाउन सकिनँ । यता भट्टराई भने दीक्षितको गुनगान गर्न छाड्दैनथे ।
~
मेरा अभिभावक तथा अगुवा दाजु घटराज भट्टराई २०६२ सालको माघमा तीर्थ गए । त्यस बेला उनले ठाउँठाउँबाटै मलाई टेलिफोन गर्थे । त्यही समयमा मैले एउटा सपना देखेँ, ‘स्वर्गीय शरदचन्द्र शर्मा भट्टराई र घटराज भट्टराई एउटै सेतो कपडामा मुर्दाझैं डोरीले बाँधेर टमक्कै कसिएका थिए । अनि उनीहरूलाई एउटा भत्केको मन्दिरअगाडि लडाएर राखिएको थियो ।’

मैले देखेको सपना घटराज सरका घरमा कसैलाई भनिनँ । उनले भारतका विभिन्न तीर्थस्थलबाट फोन गर्दा पनि मैले त्यसबारे उल्लेख गरिनँ । त्यो सपना इन्दिरालाई मात्रै मैले भनेको थिएँ ।

घटराज सर सकुशल काठमाडौं आए । त्यसपछि उनले हामी सपरिवारलाई उनका घरमा बोलाए । त्यति बेला मेरी आमा भागीरथा प्रसाईसहित इन्दिरा, म र नइ प्रकाशनकी परिचारिका सुमी चौधरीसमेत उनको घर कपनको फैंका गयौं । त्यस बेला उनले मेरी आमालाई तुलसीको माला, इन्दिरालाई सारी र मलाई जवाहरकोट ल्याइदिएका रहेछन् । मैले त्यो कोट त्यहीँ लगाएँ । त्यति बेला उनकी पत्नी (प्रभा भट्टराई) अति खुसी भइन् । तर घटराज सर भने मलाई टुलुटुलु मात्रै हेर्ने गर्थे । सधैं उनको र मेरो उत्साहपूर्ण कुराकानी हुन्थ्यो, तर त्यस दिन उनी अल्छीलाग्दो हिसाबमा हामीसँग बोलिरहेका थिए । उनको त्यो बेहोराले म छक्कै परेको थिएँ । यतिका दिनसम्मको यात्राका कारण थाकेर भट्टराई सुस्त भएको हुनुपर्छ भन्ने मैले अनुमान गरेको थिएँ ।

केही समयपछि नै मेरो अनुमान गलत साबित भएको थियो । उनी बेसुरोबेसुरो हुँदाहुँदै कार्यक्रम स्थलमा भाषण गर्ने क्रममै बेहोस भएर ढलेपछि उनको चिकित्सकीय परीक्षण गरिएको थियो । जसको नतिजाले उनलाई माया गर्नेहरूको टाउकोमाथिको आकाश खसेको थियो; अर्थात् घटराज सरलाई त्यस बेलासम्ममा मस्तिष्क क्यान्सर भैसकेको रहेछ । त्यो क्यान्सर पनि चौथो ग्रेडमा पुगेको रहेछ । त्यसको तात्पर्य त्यो बिमार कहिले निको नहुने रहेछ । अनि डा.वसन्त पन्तको सल्लाहले उनको मस्तिष्कको शल्यक्रिया गर्नपट्टि हामी गएनौं । डा. पन्तले भट्टराईको जीवनको जतिको म्याद दिएका थिए; त्यही समयमा भनौं २०६३ साल साउन २२ गते मेरा पूज्य गुरु घटराज भट्टराईको स्वर्गारोहण भयो । उनी शरदचन्द्र शर्मा भट्टराईको झैं व्यथाले गए । त्यसैले मैले उनी तीर्थ गएका बेला त्यस्तो अलच्छिनी सपना देखेको रहेछु ।

मेरो लघुनिबन्धसङ्ग्रह ‘सहोदरी ठुङ’ मैले मेरा आस्था र सम्मानका धरोहर घटराज भट्टराईलाई समर्पण गरेको थिएँ । घटराज सर सिकिस्तै भए ताका प्रकाशित सो पुस्तकको लोकार्पणसमेत मोडेल अस्पतालमा भर्ना भएका भट्टराईकै करकमलबाट गराएर मैले अलिकति आत्मसन्तुष्टि बटुलेको थिएँ ।

घटराज सर स्वर्गीय भएको दुःखद बेहोराको राति १० बजे हामीलाई खबर आयो । त्यस बेला नेपाल राजनैतिक आन्दोलन र नेपाल बन्दका घटनाले आक्रान्त थियो । त्यसैले त्यस रात हामी नइले घट्टेकुलोदेखि कपन फैंकासम्म पुग्ने सवारी साधनका लागि मेरो भतिज एस.एस.पी. भीष्म प्रसाई (उपत्यका ट्राफिक प्रहरीका प्रमुख पछि एआईजीपी)सँग सवारी साधन सहयोग मागेका थियौं ।

राति साढे ११ बजे घटराज सरका आँगनमा पुगेर म पनि डाँको छोडेर रोएको थिएँ ।

भोलिपल्ट घटराज सरको पार्थिव शरीरलाई आर्यघाट लाने क्रममा इन्दिरा र म बिहानै पुनः उनका घरमा पुग्यौं । त्यसपछि उनको पार्थिव शरीरलाई पशुपति क्याम्पसमा ल्यायौं । त्यहाँ श्रद्धाञ्जलि दिनेहरू धेरै थिए । त्यही धेरै समूहमा होमनाथ दाहालका हातमा पनि मैले आलो सयपत्री फूलको माला देखेँ । त्यस मालासँगसँगै त्यस बेला म दाहाल कृषिमन्त्री भएको बेलाको पूर्वस्मृतिमा पुगेछु ।

होमनाथ दाहाल कृषिमन्त्री भएताका साझा प्रकाशनमा अध्यक्षको पद खाली थियो । साथै होमनाथ दाजुसँगै पनि मेरो राम्रै चिनजान थियो । त्यसैले मैले उनीसमक्ष एउटा प्रस्ताव राखेको थिएँ, ‘घटराज भट्टराईलाई साझा प्रकाशनको अध्यक्ष बनाउनुहोस् न !’
मेरो कुरा निख्रेपछि दाहाल बोलेका थिए, “त्यहाँ अध्यक्ष पद खाली रहेछ ?” मैले भनेँ, “खाली छ ।”

केही दिनपछि घटराज भट्टराईले मलाई भनेका थिए, “तपाईंले होमनाथलाई मेरा बारे भन्नुभएछ । उनले त मलाई साझा प्रकाशनको अध्यक्ष पो दिने भए । होमनाथ दाहालका भाइ पुरुषोत्तम दाहालको सौजन्यमा म मन्त्रीको मोटर चढेर मन्त्री निवास गएँ । होमनाथले पर्सि नियुक्ति पत्र लिन आउनू भनेका छन् ।”

घटराज भट्टराईले अत्यन्तै उत्साहित भएर मलाई साझा प्रकाशनको अध्यक्ष हुने भएँ भनेर कुरा गरे । त्यस बेला म पनि सारै रमाएँ । अनि मैले यो कुराबारे कमल दीक्षित, नरहरि आचार्य र साझा प्रकाशनका महाप्रबन्धक नवराज कार्कीलाई पनि सूचना दिएँ । उनीहरू पनि मेरो कुराले खुसी भएका थिए ।

मन्त्रीले भनेको एक हप्तासम्म पनि साझा प्रकाशनको अध्यक्षमा घटराज भट्टराईको नाउँ निक्लेन । त्यसबीचमा घटराज सर पनि दुःखित थिए । त्यस बारे उनी केही झोक्राएको बेहोराले मलाई पनि दुःख लाग्नु स्वाभाविकै थियो ।

“होमनाथ दाहाल र म दुवै जना सँगै काठमाडौं आयौं । हामी दुवैले अर्काको घरमा घरेलु काम गरेर पढेका हौं । हामी कष्टपूर्णको सङ्घर्ष गरेर नै काठमाडौं बसेका थियौं । मेरो जीवनको दुक्ख उनलाई थाहा छ, उनको जीवनको रामकथा पनि मलाई थाहा छ । मप्रति होमनाथले त्यस्तो फट्याइँ त नगर्नु पर्ने हो ।” घटराज सरले मलाई आफ्नो मन खोलेको भोलिपल्टको गोरखापत्रमा खबर छापिएको थियो, ‘वैरागी काइँला अर्थात् तिलविक्रम नेम्बाङ साझा प्रकाशनको अध्यक्ष नियुक्त भए ।’

घटराज भट्टराईले कहिले र कसैसँग केही मागेको मलाई थाहा थिएन । साझा प्रकाशनको त्यो अध्यक्ष पनि मैले नै उनका लागि मागिदिएको थिएँ । तर आफ्ना मित्रबाटै अन्तर्घात हुँदा उनलाई सारै नै चोट लागेको थियो । त्यस बेला मैले उनलाई फुल्याउँदै भनेको थिएँ, “सर ! त्यो साझा प्रकाशनको अध्यक्ष कुन ठूलो पद हो र ! सरले त नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति पो हुनुपर्छ ।” (त्यस बेला कुलपतिको व्यवस्था थिएन) तर पनि उनी होमनाथ दाहालबाट आफू अपमानित भएको महसुस गरिरहन्थे । वास्तवमा घटराज सर र होमनाथ दाहालले काठमाडौंको एउटै घरमा बसेर घरमालिक्नी (नरप्रताप थापाकी श्रीमती) को भान्सा पनि पकाए, भाँडा पनि माझे र लुगा पनि धोइदिने काम गरे । तर विगतका ती दिनलाई दाहालले चटक्कै बिर्सेको बेहोराले घटराज सरले आफ्नो छातीमा बाण लागेको अनुभूति गरेका थिए ।

घटराज भट्टराईको पार्थिव शरीरमा होमनाथ दाहालले माल्यार्पण गरेको बेला मैले त्यही साझा प्रकाशनको अध्यक्ष पद मात्रै सम्झिरहेँ । त्यसैले होमनाथले बोकेको त्यस मालाप्रति मलाई वितृष्णा भइरह्यो ।

मान्छेको मन पनि कति छिटो परिवर्तन हुँदो रहेछ । टन्टलापुर घाममा उभिएका बेला होमनाथका हातको त्यो आलो मालामा मेरा घृणाका दृष्टि मौजुद थिए । तर जब आर्यघाटमा एक जना शालीन व्यक्तित्वका हातमा मैले सयपत्रीको माला देखेँ अनि त्यो मालाप्रति छिनमा नै मेरो भावना परिवर्तन भयो । भनौं त्यस मालाप्रति मेरो मनमा श्रद्धाको बास्ना चलिरह्यो । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टद्वारा घटराज भट्टराईको पार्थिव शरीरमा चढाइएको मालालाई मैले पवित्र देखेँ । वास्तवमा स्वार्थका औपचारिकताभन्दा बिनासर्तको स्नेह नै मर्यादित हुँदो रहेछ भन्ने सजिलो नेपाली पाठ त्यस दिन पनि मैले पढ्न पाएको थिएँ ।
~~
नेपाली भाषासाहित्यका एउटा महान् साधक अर्थात् एउटा अमर प्राज्ञको स्वर्गारोहणले नेपाली भाषा बोल्ने सिङ्गो भूगोल रोयो । त्यस घटनाले मचाहिँ खुत्रुक्कै भएँ । हो, साँच्चै हो; त्यस बेला म उठ्न नसक्ने गरी भिरबाट खसेसरि भएको थिएँ ।
~
(स्रोत: अविश्रान्त साधक : घटराज भट्टराई; नइ प्रकाशन – २०७४)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी