एमाले महाधिवेशनः कमरेडहरुको गाँस बासमा मात्रै एक करोड ६० लाख बढी खर्च हुने, सौराहामा १० करोड बढीको कारोबार हुने अनुमान !

एमाले महाधिवेशनः कमरेडहरुको गाँस बासमा मात्रै एक करोड ६० लाख बढी खर्च हुने, सौराहामा १० करोड बढीको कारोबार हुने अनुमान !

  • सोमवार, मंसिर ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

चितवन, ६ मंसिर । वुटवल छाडेर चितवनमा हुन लागेको एमालेको १० औँ महाधिवेशन निकै महंगो हुने देखिएको छ । मञ्च व्यवस्थापनदेखि सौराहाका महंगो होटलको बसाई खुवाई मात्रै हैन अध्यक्ष ओलीले दिने रात्री भोज जस्ता कार्यहरुले यो महाधिवेशन खर्चिलो हुने लगभग पक्का पक्की छ । हुनत ः कम्युनिष्ट पार्टी सर्वहारा बर्गको पार्टी भनिन्छ तर कम्युनिष्ट पार्टी एमालेको १० औँ महाधिवेशनको खर्च हेर्दा यो कर्पोरेट स्तरमा खर्च गर्न सक्ने हैसियतको पार्टीको रुपमा देखा परेको भन्दै कतिपय बामपन्थी शुभचिन्तकहरु आलोचना गर्दछन् ।
सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका यहाँ होटल व्यवसायी यतिबेला उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् ।

सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू ‘घुमौँ सौराहा’ अभियान लिएर देश दौडाहा जाँदा पनि सोचे जति पर्यटक आएका थिएनन् । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द सत्र सौराहामा गर्ने भएपछि भने व्यवसायीहरू उत्साहित भएका छन् ।

एमालेको बन्द सत्रका बेला सौराहामा इतिहासमा पहिलो पटक सबैभन्दा बढीको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । एमालेको बन्द सत्र ११ र १२ मंसिरमा सौराहाको सेभेन स्टारमा हुँदै छ । ११ मंसिरको बिहान बेलुका र १२ मंसिरको बिहानको खाना प्रतिनिधिले होटल सेभेन स्टारमा खाने छन् । १० र १२ मंसिर बेलुकीको खाना भने प्रतिनिधि बसेकै होटलले व्यवस्थापन गर्ने छ ।

९–१३ मंसिरसम्मको अवधिमा सौराहामा १० करोडको हाराहारीमा कारोबार हुन अनुमान गरिएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराई बताउँछन् । सौराहा वाइल्डलाइफ पर्यटनका रूपमा परिचित छ । यहाँको लागि मंसिर महिना सिजनको रूपमा रहे पनि कोरोना महामारीका कारण विदेशी पर्यटकहरू अझै आएका छैनन् ।

‘बन्दसत्रमा देशभरबाट आउनुहुन्छ । बस्नुहुन्छ, खानुहुन्छ । त्यहीअनुसार गतिविधि बढ्छ । हामीकहाँ जिप, हात्ती सफारी छन् । यी सबैलाई हेर्दा मोटामोटी १० करोडको कारोबार हुन्छ कि भन्ने आंकलन गरेका छौँ’, उनले भने । एमालेको कार्यक्रमपछि सौराहाको पर्यटन गतिविधि दीर्घकालिन रूपमा वृृद्धि हुँदै जाने व्यवसायीहरूको अपेक्षा छ ।

सौराहाको इतिहासमा अहिले जसरी सबै होटलहरू बुक भएको अवस्था सायदै नरहेको उनी बताउँछन् । ‘होटलहरूको एउटा पनि कोठा खाली नरहेर भरिएको यो पहिलो पटक हो’, उनी भन्छन्, ‘यसअघि ८० देखि ९० प्रतिशतसम्म सौराहा भरिएको भन्ने गथ्र्यौँ । अहिले त एउटा पनि रुम छैन ।’

सौराहामा अहिले भारतीय पर्यटकहरू दैनिक २०० भन्दा बढी आए पनि तेस्रो मुलुकका पर्यटकको आगमन एकदमै न्यून रहेको उनी बताउँछन् । महाधिवेशनको बन्द सत्रमा सहभागी हुने महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि भनेर ३५ सय बेड बुकिङ गरिएको छ ।

पाँच छाक खाना र बस्नका लागि भनेर एमालेले सौराहामा एक करोड ६० लाख खर्चिएको छ । जसमा व्यवसायीहरूले ८० लाख रुपैयाँ अग्रिम लिइसकेका छन् ।

‘सौराहामा ६५ सय बेड छ । महाधिवेशनका लागि भनेर ३५ सय बेड बुक गर्नुभएको छ’, उनले भने, ‘एमालेले महाधिवेशन यहाँ गर्ने भयो भनेर हल्ला भएपछि १५ सय बेड जति त पहिल्यै बुक भइसकेका रहेछन् ।’ पछिल्ला दिनहरूमा व्यक्तिगत रूपमा फोन र प्रत्यक्ष भेटेर पनि कोठा बुक गर्ने काम भइरहेकाले अब कोठा पाउन मुस्किल रहेको उनले बताए ।

९–१३ मंसिरसम्म एमालेको महाधिवेशनबाहेक अन्य गतिविधिका लागि कोठा उपलब्ध नरहेको उनी बताउँछन् । सौराहामा क्षेत्रीय होटल व्यवसायी संघ र रेस्टुरेन्ट एण्ड बार एसोसियसनमा आबद्ध १२० वटा होटल छन् । ती संस्थामा आबद्ध नभएका ६० भन्दा बढी होटल पनि सौराहामा छन् । महाधिवेशनको बन्द सत्रमा सहभागी हुने सबैको व्यवस्थापनका लागि सौराहाका सबै होटललाई समेटिएको उनले बताए ।

तोकिएको शुल्क भन्दा बढी कोठा भाडा नलिन आग्रह

सौराहाका होटलहरूलाई स्तरअनुसार ठूलो, मझौला र सानो गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । ठूलो वर्गका होटलमा स्टार लेभलका स्विमिङ पुलसहितका ५० देखि ६० वटा कोठा भएका होटल पर्छन् । त्यसैगरी २५ देखि ३० वटा कोठा भएका होटललाई मझौला वर्गमा राखिएको छ भने १० देखि १५ वटा कोठा भएका होटललाई सानो ग्रेडमा राखिएको छ ।

महाधिवेशनमा सहभागीलाई होटलहरूले स्तर अनुसार २० देखि ५० प्रतिशतसम्म छुट दिएका छन् । साना होटलका कोठालाई २५ सय, मझौला होटलका कोठालाई ३५ सय र ठूला होटलका कोठालाई चार हजारमा खानासहित उपलब्ध गराइएको उनले बताए ।

‘हामीले प्रचारप्रसारका लागि विशेष छुट दिएका हौँ । एमालेले हाम्रो निःशुल्क प्रचार गरेको जस्तो भएकाले हामीले पनि अवसरका रूपमा लिएका छौँ’, उनले भने ।

यसअघि विभिन्न दलहरूले सौराहामा कार्यक्रम आयोजना गर्ने र सम्झौताअनुसारको पैसा पनि नदिएर झुलाएर राख्ने गरेकोमा एमालेले अग्रिम पैसा दिएकोमा उनले खुसी व्यक्त गरे । पर्यटन प्रवद्र्धनमा राम्रो कडी बन्न सक्छ भन्ने विश्वासले छुटको व्यवस्था गरिएको उनले बताए ।

‘कोठा सहजै पाउन मुश्किल भएको हुँदा कसैले बढी पैसा दिन्छु कोठा राखिदिनु भनेर फोन आएको छ भन्ने पनि सुनिएको छ । तर, हामीले तय गरेकोभन्दा बढी पैसा कसैले पनि लिनुहुन्न । गुनासो आएछ भने हामी एक्सनमा जान्छौँ’, उनले भने ।

एमाले महाधिवेशनको बन्द सत्रबाट सौराहामा ठूला कार्यक्रम गर्न र सहभागीलाई खानपानको उचित बन्दोबस्त गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए ।

२५ प्रतिशतले हात्ती चढ्ने विश्वास

एमालेले महाधिवेशन चितवनमै गर्नु व्यवसायीको लागि सौभाग्य भएको युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष एवम् इको एड्भेन्चर रिसोर्टका सञ्चालक ऋषी तिवारी बताउँछन् । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई सौराहाले राम्रो आतिथ्यता दिएर देशभर राम्रो सन्देश प्रवाह गर्ने तयारी छ ।

‘घुमौँ सौराहा अभियानपछि पनि सोचेँजति पर्यटक नआएको अवस्थामा एमालेले महाधिवेशन यही गर्नु हामी व्यवसायीका लागि सौभाग्यको कुरा हो । हामीले यहाँ आउने प्रतिनिधि मार्फत यहाँको राम्रो सन्देश देशभर जाने गरी सेवासुविधा उपलब्ध गराउछौँ’, उनले भने ।

महाधिवेशनको बन्द सत्रमा सहभागीमध्ये करिब २५ प्रतिशत सहभागीले सफारी गर्ने व्यवसायीहरूको अनुमान छ । एक घण्टाको हात्ती सफारी हुने गरेकोमा महाधिवेशनलाई लक्षित गरेर दुई घण्टा गरिएको छ । अहिले सौराहाका ७५ प्रतिशत हात्तीहरू दैनिक सफारीमा जाने गरेका छन् ।

एउटा हात्तीले बिहान र बेलुका दुई÷दुई पटक सफारी गर्ने उनले बताए । एउटा हात्तीमा चार जनासम्म चढ्न सक्छन् । त्यस हिसाबले एउट हात्तीले दिनमा १६ जना पर्यटकलाई सफारी गराउन सक्छ । हात्ती सफारी गर्ने विदेशी पर्यटकले २५ सय रुपैयाँ तिर्छन् भने आन्तरिक पर्यटकले १५ सय रुपैयाँ तिरे पुग्छ ।

१०१ शेयर सदस्य रहेको सहकारीमा ३३ वटा हात्ती छन् । एउटा हात्तीमा तीन÷चार जनासम्म व्यवसायीको पनि लगानी हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने जिप सफारीका लागि सौराहामा ४० वटा जिप छन् ।

सामुदायिक वनमा हुने जिप सफारीका लागि ९० वटा जिप छन् । निकुञ्जभित्र एक पटकमा चार घण्टा र सामुदायिक वनमा एक पटकमा साढे दुई घण्टासम्म जिप सफारी हुन्छ । निकुञ्जमा सफारी गर्दा प्रतिव्यक्ति करसहित एक हजार ६५० रुपैयाँ र सामुदायिक वनमा सफारी गर्दा प्रतिव्यक्ति करसहित ६५० रुपैयाँ शुल्क लाग्छ ।

उनको २२ कोठा भएको मझौला स्तरको रिसोर्ट पनि छ । रिसोर्टमा १७ जना कर्मचारी कार्यरत थिए । महाधिवेशनलाई लक्षित गरेर १३ जना कर्मचारी थप गरिसकिएको उनले बताए । बाह्य पर्यटकलाई आकर्षण गरेर राजस्व बृद्धिका लागि सरकारले नै पहल गर्नुपर्ने उनी बताउँछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी