अर्ग्यानिक निबन्ध: दिसापिसाब गर्नु भो ? छि~ छि~ के सोधेको ?

अर्ग्यानिक निबन्ध: दिसापिसाब गर्नु भो ? छि~ छि~ के सोधेको ?

  • सोमवार, कार्तिक २९, २०७८
  • इन्दिरा प्रसाई

  • 24.3K
    SHARES

निबन्धको शीर्षक पढ्दै तपाईँको टाउको दुख्यो होला ! ‘दसैँ, तिहार, छठ पर्व सबै प्रमुख चाडबाड भरखरै सकिएको छ । भरखरैमात्र मीठामीठा परिकार खाएर दङ्ग परिरहेको बेला के यस्तो फोहोरी कुरा गरेकी होली ? छ्या कस्तो लाज पनि नभएकी लबस्तरी लेखक रहिछे ! यस्तो लाजमर्दो कुरा किन लेखेकी होली’ पनि लाग्यो कि ? तर आजको मेरो विषय नै यही हो ।

प्रायःजसो चाडपर्व भन्नासाथ नै मीठो खाने र राम्रो लाउने, उल्लास र आनन्दको प्रतीकका रूपमा हामी सम्झन्छौँ । थाकेका बखतमा पनि वाल्यावस्थामा बाआमाका काखमा सुखद् रूपले मनाउन पाएको सो समयको स्मृतिमात्रले पनि पुलकित पार्छ । चाडपर्व शब्दले नै तरोताजा पार्छ हामीलाई ।

‘चाड पर्वका बेला मीठोमीठो खानु भो होला है ?’  ‘राम्रोराम्रो लाउनु भो होला है ?’ मबाट पनि यस्तै खाले प्रश्नको अपेक्षा गर्नु भएको थियो होला ! तर यो त हामी सबैले सुन्दै आएको र जवाफ दिँदै आएको प्रश्न नै हो । मलाई त आज नयाँ र अति सामान्य प्रश्नमात्र गर्नु छ ।

‘दिसापिसाप गर्नु भो ?’

मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण हावा, पानी, खाना, छाना र नाना हो भन्ने कुरा त ध्रुव सत्य हो । यसबारे मैले व्याख्या गर्नु पनि पर्दैन । तर यसै महत्त्वभित्रको खाना अन्तर्गत पर्ने दिसापिसापलाई मैले यस लेखनको विषय बनाएकी छु ।

हामी विरामी परेर डाक्टरसँग जचाउन जाँदा डाक्टरले जिब्रो देखाउन लाउँछन्, त्यसपछि ‘दिसापिसाप ठीक छ ?’ भनेर हलुका तरिकाले प्रश्न गर्छन् । ‘ठीक छ, ठीक छ’ सामान्यत: हामीले पनि हतार हतार नै जवाफ दिन्छौँ । बिरामी परेका बेला डाक्टरले बाहेक अन्य बखतमा कसैले पनि कुनै पनि वयस्क व्यक्तिलाई दिसापिसापका बारेमा प्रश्न गरेको मैले त सुनेकी नै छैन । मलाई नै पनि कसैले सोधेको आजसम्म थाहा छैन। न त मैले नै कसैसँग सोधेकी छु ।

जस्तो कि युवा युवती भुतुक्क भएर एक अर्कासँग प्रेम गर्छौँ । युवा युवतीमात्र होइन पतिपत्नी, माता र सन्तान, पिता र सन्तान,दाजुभाइ र दिदी बहिनी, साथी साथी, इष्टमित्र, आफन्त, नाता गोता सबै नै एक अर्कालाई दर्जा अनुसार र सम्बन्ध अनुरुप अपरम्पार माया गर्छौँ । कतिपय सम्बन्धमा एक अर्का सँगसँगै जिउनेमर्ने वाचा पनि गर्छौँ । मीठो मसिनो खानेकुरा सबैलाई देखाएर वा लुकाएरै भए पनि एकअर्कालाई खुवाउँछौँ । एकअर्काले खाए नखाएको पनि सोधपुछ गर्छौँ । एक अर्कालाई भोक लागेको वा प्यास लागेको पनि हेक्का राख्छौँ । तर दिसापिसाप गरे नगरेको भने पटक्कै सोध्दैनौँ । किनभने यो कुरा सोध्ने नै होइन, लुकेर गर्ने हो भन्ने मात्रै हामीलाई थाहा छ ।

दिसापिसाप भनेको हाम्रो शरीरबाट निस्कने फोहोर हो र एक अर्काका फोहोरका कुरा एकअर्काले सोध्ने होइन,भन्ने पनि होइन, यो त लुकाउनु पर्ने कुरा हो भन्ने टुङ्गोमा हामी पक्का छौँ, विश्वस्त छौँ।

त्यसैले दिसापिसाप बारे कुरा गर्नु पनि सभ्यसमाजका लागि वर्जित विषय हो भन्न मिल्छ ।

यही वर्जित कुरा नै अहिले मेरो यस लेखनको विषय बनेको छ ।

अब अन्यथा नमानी पढ्नुस् है !

हामी सबै नै नवजात शिशु अवस्थामा हुँदा जन्मेकै दिन वा दुईतीनदिनभित्र कालो दिसा गर्छौँ भन्ने त सबैलाई थाहै होला ! आमाको पेटमै आमासँग जोडिएको सालनालका माध्यमले खाएर पचाएको कुराको निकास हरेक शिशुले सामान्य अवस्थामा गर्भबाट बाहिर निस्केपछिमात्र गर्छ । ‘उम्रे गु’ भनिने त्यही दिसा नै मानिसद्वारा गरिने प्रथम दिसा हो । त्यतिबेला नवजात शिशुले गर्ने उक्त कालो दिसा गरेनगरेको बारेमा उसकी आमा वा हजुरआमाले त्यसबेला विशेष चासो लिएका हुन्छन् । किनभने त्यो कर्म धरतीमा पदार्पण गरेपछिको मानिसको महत्त्वपूर्ण कर्म मानिन्छ । त्यसरी शिशुले उम्रे गु निष्कासन गरेपछिमात्रै उसले राम्रोसँग आमाको दूध चुस्छ र शिशुको स्वास्थ्य राम्रो हुन थाल्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो । त्यसपछि पनि शिशु नहुर्किउञ्जेलसम्म उसको दिसापिसापको समय,रङ वा गुणस्तरका विषयमा खुबै चासो राखेर आमाले हेर्नु पर्ने हुन्छ । अबोला हुने शिशुले त्यतिबेला गर्ने दिसा वा पिसाप केलाएर नै आफ्नो शिशुको स्वास्थ्य अवस्थाका बारेमा आमाले टुङ्गोमा पुग्नु पर्ने हुन्छ । तर जसै त्यही शिशु अलिकति हुर्किन्छ अनि बिस्तारै बिस्तारै उक्त बच्चाको दिसापिसापका बारेमा आमाले नै पनि खासै महत्त्व दिएको देखिँदैन । अझ परिवार नियोजन नहुँदाका बेलामा वर्षैपिच्छे बच्चा जन्माउने आमाले त अर्को बच्चा काखमा आउनासाथै ठूला हुँदै गरेका बालबालिकाका दिसापिसापको हिसाब राख्ने कुरै हुँदैन थियो ।

अहिले त जमाना अर्कै आइसक्यो । मानिसहरू एक वा दुईभन्दा बढी सन्तान नजन्माउने भइसके । मुसलमान धर्मावलम्बी बाहेक संसारका सबैजसो मानिसहरू परिवार नियन्त्रणको चपेटामा परिसके । अन्य धर्मावलम्बीका तुलनामा परिवार नियोजनलाई आफ्नो धर्म विपरित मान्ने मुसलमान धर्मावलम्बीको जनसङ्ख्या वृद्धिदर विश्वमै द्रुततर गतिमा बढिरहेको छ । यस्तो परिदृष्यबाट कालान्तरमा संसारमा कतै मुसलमान धर्मावलम्बीकै मात्र बोलवाला त हुने होइन ? धर्मसम्प्रदायको साँघुरो घेरामा आफूलाई राख्न नचाहँदा नचाहँदै पनि मेरा मनमा समेत यस्तो खाले आतङ्कको पूर्वाभासले सताउने गर्छ । यो विषय पनि अर्कैतिर बरालिने भयो । पछि केलाउने गरि अहिले यसलाई यहीँ थाँती राखेर लेखनको मूल विषयतर्फ नै जाँदैछु ।

विषय : दिसापिसाप र प्रसङ्ग : शिशु हुर्किन पाउँदा नपाउँदै उसको दिसापिसापका बारेमा जानकारी राख्न छोडिन्छ भन्ने हो । अहिले चलेको थोरै बच्चा जन्माउने परिपाटीमा किशोरावस्थामा प्रवेश नगरुञ्जेलसम्म फुर्सदिला र चासो राख्ने खालका आमा भए भने सन्तानको दिसापिसापको हिसाब राख्न पनि सक्लान् । तर व्यक्तिको किशोरावस्था समाप्ति सँगसँगैजसो मातापिताको यो चासोको पनि अन्त्य भएको देखिन्छ ।

अर्थात् दिसापिसाप भनेको वर्जित कुरा हुन्छ ।

के हो त त्यस्तो वर्जित मानिने ‘दिसापिसाप’ ?

शब्दकोशमा दिसा भनेको खानेकुरा पचेपछि गुदद्वारबाट बाहिर निस्किने मल, झाडा, विष्ठा, गुहु लेखिएको छ । त्यसैगरि गुहु भनेको पेटमा खानेकुरा पचिसकेपछि गुदद्वारबाट फ्याँकिने मल, विष्ठा, टट्टी, दिसा, आची लेखिएको छ। आचीको अर्थ गुहु वा फोहोर वस्तु, आका लेखिएको छ । त्यस्तै पिसापलाई शब्दकोशले खाएको तरल पदार्थ पेटमा पुगी पचेर प्राणीहरूका जननेन्द्रियबाट निस्कने तरल पदार्थ, पिसाब, मूत्र, मुत, लघुशङ्का भनेर लेखिएको छ । अर्थात् हामीले मुखबाट स्वाद लिएर खाएको खानापिना शरीररूपी मेसिनले बढो मिहेनतका साथ पचाएर आफूलाई काम लाग्ने जति प्रयोग गरिसकेपछि काम नलाग्नेजति (Waste Object) गुदद्वार र मूत्रद्वारबाट शरीर बाहिर निस्काशन गर्छ । हाम्रो शरीरको यस कर्मलाई शरीर स्वस्थ्य राख्नका लागि हाम्रो शारीरिक यन्त्र प्रणालीद्वारा सम्पादन गरिने एकदमै महत्त्वपूर्ण कार्यका रूपमा बुझ्नु अझ वेश हुनेछ ।

मुखले खाने र सो खाएको बस्तु पाचन प्रणालीमा प्रयोग हुने पृथ्वीवासी हरेक प्राणीको शरीर विज्ञान अन्तर्गत सम्पादन हुने कृया हो । अन्य प्राणीले के कसो गर्छन् मेरो अध्ययन, क्षमता र रूचिले पनि त्यता ध्यान पुर्याउन सकेको छैन तर हामी मानिसहरूले हाम्रो शरीरको यति महत्त्वपूर्ण कार्यप्रणालीलाई खासै महत्त्व दिइएको नदेखेर नै मैले यो निबन्ध लेख्ने जमर्को गरेकी हुँ ।

दिसा र पिसापलाई हाम्रा मानसिकतामा किन फोहोर भनेर पञ्छाइयो र यसबारे एक आपसमा कुनै सोधी खोजि नै नगरिने विषय बनाइयो ? सर्वप्रथम त यसैबारे चर्चा गरौँ ।

हाम्रै शरीरले आफ्ना लागि अनावश्यक मानेर बाहिर फालिसकेको बस्तु मान्छेकै शरीरका लागि चाहिँ पुन: प्रयोग गरिनु उपयुक्त कदापि छैन । जस्तो कि मानिसकै दिसा कुकुरले मीठो भोजनका रूपमा ग्रहण गर्छ । काठमाडौँका किसानले पनि प्राचीन समयदेखि खेतमा दिसा गर्ने र तरकारीमा पनि मानिसकै दिसालाई मल बनाएर प्रचुरमात्रामा तरकारी फलाउने गरेको काठमाडौँ बासीलाई राम्ररी नै थाहा छ । मानिसको दिसा र गोबर मिसाएर गोबर ग्यासका रूपमा भान्सामा प्रयोग गरिएको पनि हामी सबैलाई जानकारी भएकै सत्य हो । यी प्रमाणका आधारमा स्वयम् मानिसले पुन: प्रयोग गर्न नहुने तर अन्य प्राणीका लागि र उत्पादनमूलक कार्यमा प्रयोग गरिने उपयोगिता भएकै उर्जावान बस्तुमा मानव दिसा पनि पर्छ भन्ने प्रमाणित भएकै छ ।

हाम्रो शरीरले एकपटक शोषण गरिसकेकाले शरीरले आफूलाई नचाहिएर बाहिर पठाइसकेको उक्त बस्तु मानवीय पुन: प्रयोगका लागि उपयुक्त हुँदैन । तर अवोध अवस्थाको शिशुले हेरविचार गर्ने रखवालाको अभाव भएको अवस्थामा उक्त दिसापिसाप पुन: प्रयोग गर्न सक्ने अर्थात् खाने नै अवस्था हुनसक्छ भनेर नै दिसापिसापलाई हेय बनाइएको हुनुपर्छ भन्ने मलाई लाग्दछ । कतिपय शिशुले रखवालाको आँखा झिमिक्क हुनासाथ दिसा खेलाउने र त्यही हात मुखमा पुर्याएर खाएको पनि देखिन्छ । यस्तो परिस्थिति नहोस् वा नदोहोरियोस् भनेर शिशुलाई निकै प्रबल गरि दिसापिसाप भनेको ‘छि…छि…आची’ हो भनेर फोहोरको भाका सिकाइएको हुन्छ । मानवीय बाल मनोविज्ञानमा त्यही ‘छिछि’ जमेर बसेको हुन्छ । हाम्रो बाल मनोविज्ञानमा परेको छापले हामीलाई जीवन पर्यन्त समातेको हुन्छ । ‘दिसा वा आची’को बाल मनोविज्ञान कै कारणले गर्दा जीवनमा चेतन अवस्था रहँदासम्म मानिस दिसापिसाप भनेको सोही ‘छिछि’मा रहन्छ ।

मानिसको मनमस्तिष्कमा ‘छिछि’ यति प्रगाढ गरि बसेको हुन्छ कि जसले गर्दा कसैले पनि कसैसँग यस ‘छिछि’का बारे कुरा गरे उक्त ‘छिछि’ भन्ने र सुन्ने दुबैका मुखमै पर्ने अनुभूतिले हामी दिग्मिगाउने गर्छौँ । मेरो विचारमा दिसाबारेको चर्चा गर्नै नहुने एउटा कारण यो पनि एउटा हो ।

दिसापिसाप मानिसका लागि ज्यादै महत्वपूर्ण विषय हो भन्ने कुरा आधुनिक चिकित्सा विज्ञानले ‘प्याथोलोजी’ विषयमा अध्ययन अध्यापन गराउनुले पनि पुष्टि गर्छ । आयुर्वेद चिकित्सा प्रणाली र प्राकृतिक चिकित्सा प्रणालीमा एलोपेथी चिकित्सा प्रणालीमा भन्दा बढीमात्रामा पेट सफा नभएको विषयमा चासो राखिन्छ र रोगीलाई पेट सफा राख्ने उपायहरू अवलम्वन गराउने कार्य गरिन्छ । एलोपेथीमा रोगीको रोग निदान गर्न पनि डाक्टरले रगतका साथसाथै दिसापिसापको समेत जाँच गर्न लगाउँछन् । दिसापिसापको हिसाब नहेरि डाक्टरले रोग निदान गर्न सक्तैनन् । यी सबै कुराले पनि आफ्नो दिसा पिसापबारे स्वस्थ्य मानिसले पनि चासो राख्नै पर्छ भन्ने तर्फ अऊल्याउँछ ।

अर्को एउटा कुरा; मानिसहरूद्वारा शिवांबु चिकित्सा भनिने स्वमुत्र चिकित्सा पनि अपनाइने गरिएको छ । २०३४ सालमा भारतका चारौँ प्रधानमन्त्री मोरारजी देसाईले आफू प्रधानमन्त्री भएकै बखतमा आफूले स्वमुत्रपान गर्ने गरेको जानकारी गराएर त्यतिबेलाको संसारलाई नै चकित तुल्याएका थिए । ९९ वर्ष बाँचेका यी स्वमुत्रसेवक देसाईले नै पनि मानवमुत्रको महिमा गाएको प्रमाण पाइएको छ । हाम्रो नेपालमा पनि ९१ वर्षको उमेरमा निर्वाण प्राप्त गरेका डा. स्वामी प्रपन्नाचार्यले पनि स्वमुत्रपानद्वारा आफ्नो कतिपय रोगको उपचार गराएको कुरा सार्वजनिक भएको थियो । यस चिकित्सा प्रणालीका नियमहरूको पालना गरेर आफूलाई स्वस्थ्य र दीर्घजीवी बनाउनेहरूको लामै नामावली हाम्रा सामू हुने थियो । तर मोरारजी देसाई र प्रपन्नाचार्यजस्ता निष्ठावादी परोपकारी, सत्यवादी र आडम्बररहित व्यक्ति हाम्रो समाजमा हत्तपत्त पाइँदैनन् पनि । अर्कोकुरा स्वमुत्र सेवन गरेर स्वउपचारद्वारा आफूलाई स्वस्थ्य बनाएकै व्यक्तिले पनि वर्जित मानिने पिसाप आफूले खाएको कुरा सार्वजनिक गर्दा अरूका दृष्टमा हेय बनिएला भन्ने त्रासका कारण पनि गोप्यता राखेको हुनसक्छ ।

मलाई अर्को एउटा कुरा पनि उल्लेख गर्न मन लागेको छ । सृष्टिको प्रारम्भमा अहिले प्रकृतिमा रहेका प्राणीसरह नै मानिसको शरीर पनि निर्वस्त्र थियो । तर अन्य प्राणीका तुलनामा मानिसमा कल्पनाशीलता, कलाकारिता, अन्तर्चेतना, संवेदना, विवेक र विकासको चेतना प्रबल रूपमा रहने भएकाले मानिसले आफूलाई जाडोबाट बचाउन रूखका बोक्राबाट शरीर ढाक्ने काम प्रारम्भ गरेको हो । त्यसैगरि मानिस जब सभ्य गृहस्थ भएर एकठाउँमा बस्न थाल्यो त्यसपछि कम्मर मुनि अनिवार्य छोप्नुपर्छ भन्ने निष्कर्षमा पुग्यो । किनभने मानिसमा अवस्थित सातचक्रहरू मध्ये मूलाधार चक्र सकारात्मक बनाउन सके मानिसले देवत्व प्राप्त गर्ने र नकारात्मक हुँदा मानिस यौन वा काम वासनामा लिप्त रहने कुरा हाम्रा पूर्वज मध्येकै प्रखर मनुष्यले त्यतिबेलै प्रमाणित गरिसकेको हुनुपर्छ । अधिकांश मानिसहरूको मूलाधार चक्र नकारात्मक हुने भएकाले र मूलाधार चक्रको जागरण गराएर सकारात्मकतातर्फ लैजाने उपाय अवलम्बनको साधना सबैले नगर्ने वा गराउन नसकिने पनि हुनाले मानिसमा अन्य प्राणीका तुलनामा यौनको भावना अत्याधिक हुने जानकारी पनि हाम्रा पूर्वजलाई पक्कै जानकारी थियो । त्यसैले यौन नियन्त्रणका लागि पनि प्राणीहरूमध्ये मानिसकै कम्मर मुनि चाहिँ छोप्नु पर्ने वाध्यता प्रारम्भ गरिएको हुनुपर्छ । यौनाङ्ग छोप्नुपर्ने वाध्यता थियो र यौनाङ्गसँगै जोडिएका मूत्रद्वार र त्यसैको ठीक विपरितमा रहने गुदद्वार पनि छोपिन थालियो । यदि प्रकृतिले यौनाङ्गसँगै नजोडेर मुत्रद्वार र गुदद्वार नाक र मुखकै छेउछाउमा हुने व्यवस्था गरिदिएको भए मानिसका पनि यी गुदद्वार र मुत्रद्वार पक्कै पनि छोपिनु पर्ने अङ्ग हुने थिएनन् भन्ने मलाई लाग्दछ । स्त्री जातिलाई विधर्मी आततायीबाट जोगाउने लक्ष्य अनुरूप मुसलमान धर्मी स्त्रीको मुख छोपिए वाहेक संसारभरिका मानवका अन्य जातजातिले खाने मुख र नाक लाज शरमका लागि छोपेको ( कोरोनाबाट जोगिन प्रयोग गरिने मास्कबाहेक) मलाई त थाहा छैन । जब खाने मुख चाहिँ छोप्नु पर्दैन भने त्यही खाएको खानेकुरा शरीरले पचाएपछि अनावश्यक तत्वका रूपमा बाहिर फालिने काम गर्ने अङ्ग किन छोपिनु पर्ने थियो र ? बरू साँच्चै भन्ने हो भने मुसलमान समूदायका नारीमात्रले नभएर संसार भरिका नारीपुरूष दुवैले नै खाने मुख र सास फेर्ने नाकको प्वाल चाहिँ छोपेर (अहिलेको मास्क लगाएरै भए पनि) बाहिर देखिनु सभ्यता र स्वास्थ्यसँग सम्बद्ध कुरा रहेछ भन्ने मलाई लागेको छ । यसरी जीवन यापन गर्न सके वर्तमान विश्वका धेरै प्रकारका प्रदुषणबाट जोगिन सकिने रहेछ । मास्क प्रयोग गरिँदा स्त्री जाति(ससाना बालिकासमेतले प्रयोग गरेको देखिने)का लागि रोगको प्रमुख कारकको रूपमा रहेको लिपिस्ष्टिक समेतको नियन्त्रण हुने रहेछ । अहिले कोरोनाका कारण लिपिष्टिक नलगाई मास्कको प्रयोग गर्दै दैनिक घरबाहिर निस्किनु पर्ने प्रत्येक स्त्री जातिले वार्षिक रूपमा प्रति व्यक्ति अन्दाजी एक किलो बराबर लिपिस्टिक खानबाट बचेको मैले अनुमान गरेकी छु । निम्न गुणस्तरका मानव स्वास्थ्यका लागि प्रतिकूल हुने ती लिपिष्टिक महिलामा क्यान्सर वृद्धिका कारकका रूपमा देखा परेकै हो । त्यसैले मास्कको प्रयोगले स्त्रीजातिको ज्यानमा रोगबाट र परिवारमा अनावश्यक खर्चबाट पनि जोगाउन सकिने रहेछ भन्ने मलाई लागेको छ । मास्कको प्रयोगले शरीरभित्र नाक वा मुखको माध्यमले प्रवेश गर्ने संभावित प्रदुषणबाट जोगिन सकिन्छ भन्ने कुरा त अहिलेको कोरोना कालमा गरिएको मास्क प्रयोगले नै भनिसकेको छ ।

यस परिप्रेक्ष्यमा शरीरको प्रदुषण बाहिर निस्काशन गर्ने अङ्ग छोप्नुको त कुनै अऊचित्य देख्तिन म । चेतना नहुञ्जेल शिशु, बालक वा अशक्त वृद्धले जताततै विष्ट्याएर फोहोर पार्लान् भनेर थाङ्ना वा डाइपर लगाउनु त उपयुक्त छ । तर चेतना भएपछि भने अन्य प्राणीमा खुल्ला रहने ती मानवीय अङ्गलाई नछोप्दै पनि तिनले केही बिगार गर्दैन थिए जस्तो मलाई लागेको हो ।

पसिना, सिँगान, खकार, कानेगुजी, कचेरा आदि पनि त हाम्रो शरीरले बाहिर निकाल्छ । कानको प्वाल, नाकको प्वाल, मुख वा आँखा त छोपिँदैन । पसिना निस्किने सम्पूर्ण शरीरमा अवस्थित छाला पनि सम्पूर्ण छोपिँदैन । भनेपछि गुदद्वार र मुत्रद्वारमात्र छोपिनुको अर्थ र अऊचित्य पनि यौनाङ्ग छोपेर यौन नियन्त्रण गर्न खोजिएको नै हुनुपर्छ भन्ने मलाई लाग्दछ ।

मलाई लाग्दछ, वास्तवमा हाम्रा पूर्वजको यही सानो भूलको दण्ड अहिलेका स्त्री जातिले भोगिरहेका छन् । किनभने कपडाले यौनाङ्ग नछोपिएका कुनै पनि पशुहरूको यौन जीवन स्वस्थ्य र सुरक्षित पनि छ । अर्कातिर थरिथरिका कपडाले यौनाङ्ग छोप्ने मानिसको यौन हिंसा भने चरमचुलीमा छ । मानिसमा यौनरोग कोरोना कोभिडको महामारी भन्दा डरलाग्दो छ । छोपेको अङ्गप्रतिको मानिसको तीब्र आकर्षणले संसारमै सबैभन्दा ठूलो व्यापार ‘प्रोनोग्राफी’को छ । त्यसैले मलाई लाग्छ त्यतिबेला मानिसलाई सभ्य बनाउन लगाइएको कपडाले गर्दा नै मानिस प्रकृतिका अन्य पशुभन्दा असभ्य, हिँसक र रोगीसमेत भएको छ । यो पनि विषय अर्कै पर्यो र म अन्तै बरालिएँछु । अहिले यसलाई पनि यत्ति मै छोडेर म मेरो अहिलेको विषयमा फर्किन्छु ।

अर्थात् दिसापिसाप गर्नु भो ?

मलाई लाग्दछ यौनाङ्ग छोप्ने क्रममा छोपिएको अङ्गबाट निस्किने मलमुत्र पनि त्यसैकारण गोप्य बनेको हुनु पर्छ । बाल्यावस्थामा आफैँ नखाओस भनेर जोगाउन खोज्दा नै दिसा व्यक्तिका लागि आजीवन घृणाको बस्तु पनि बनेको हुनुपर्छ ।

हाम्रा घरमा कोही पाहुना बोलायौँ अथवा पाउना आएको अवस्थामा हामी ती पाहुनालाई खाना पिनाले नै सत्कार गर्छौँ । अथवा कसैका घरमा पाहुना लागेको अवस्थामा हामीले पनि खानापिनाकै सत्कार पाउछौँ । आफू अतिथि हुँदा वा आतिथेय हुँदा दुवै तर्फ खानापिना मस्त खुवाउने र खाने कार्य हामी गर्छौँ । हाम्रो ‘अतिथि देवो भव:’ पालना गर्न हामी पछि पर्दैनौँ । तर सोही अतिथिलाई हामीले कहिल्यै सोधेका छौँ वा हामीलाई कुनै आतिथेयले सोधेको छ ‘दिसापिसाप गर्नु भो ?’

आफैँ बिचार गर्नुस् न है ! कुनै भाँडामा आज पकाएको मीठो चोखो खानेकुरा खन्याउनु छ भने त्यस भाँडोको सफाई नहेरि अथवा हिजो अस्तिकै बासी खानेकुरो भएकै भाँडामा ताजा खाने कुरा खन्याउँदा त्यो ताजा खानेकुराको के हविगत हुन्छ होला ? हामीले यसबारेमा कहिले विचार गरेका छौँ । त्यसैले हाम्रो शरीरभित्र ताजा खानेकुरा खन्याउनु अघि हाम्रो शरीर रूपि भाँडोमा हिजोअस्तिको बासी खानेकुरो छ कि फालियो भनेर चासो राख्नु पर्छ कि पर्दैन ? आफूले खाएको र फालेको (पचाएर बाहिर निकालेको) त हेक्का राख्नै पर्छ तर अर्कालाई पनि उसले हिजो खाएको कुरा फालेको छ कि छैन भनेर उसलाई खुवाउनु अघि सोध्नु पर्छ भन्ने मेरो मान्यता हो । यदि उसले हिजो खाएको कुरा फालेको छैन भने उसको भाँडो फोहोर छ । उक्त फोहोर भाँडोमा जतिसुकै शुद्ध र चोखो खानपिना हाले पनि सो दुषित हुन्छ भन्ने कुरामा चनाखो हुन सके सबैलाई फाइदा हुने मैले देखेकी छु । किनभने जुनसुकै स्वास्थ्य विज्ञान प्रणालीलाई सोध्नुस् हाम्रा सम्पूर्ण रोगहरूको जड भनेको पेट नै हो । पेट सफा त शरीर सफा ! तर एकपटक दिसा बसेर मेरो पेट सफा छ भन्ने भ्रममा हामी परिराखेका हुन्छौँ । हामीले २४ घण्टामा कति पटक कति मात्रामा खानेकुरा पेटमा पठाएका थियौँ ? त्यसलाई पचाउन कति मिहेनतको आवश्यकता पर्छ र त्यो मिहेनत हामीले कति गर्यौँ ? खाएको कति थियो र कति निष्काशन गर्यौँ ? अर्थात् दिसापिसाप कति गर्यौँ ? यसबारे आफ्नो, आफ्ना परिवारका नजिकका सदस्यको र आफूले माया गरेर वा सत्कार गरेर खुवाउन लागेका हरेकलाई सोध्नु पर्छ भन्ने मेरो आग्रह हो ।

त्यसैले हामीले हाम्रा घरमा आउने जो सुकै अतिथिलाई पनि खान दिनु अघि ‘दिसापिसाप गर्नु भो ?’ भनेर सोध्नै पर्छ । यदि ‘गरेको छैन’ भन्ने जवाफ आएमा पहिले उसलाई कसरी दिसापिसाप गराउने भन्ने कुरामा केन्द्रित हुनुपर्छ । यदि उसको दिसापिसाप समयमा वा दैनिक नहुने गरेको छ भने उसलाई थप खाना खुवाउनु भनेको उसलाई माया गरेको होइन उसलाई रोग थप्न मद्धत गरेको अपराध ठहर्छ भन्ने मेरो धारणा हो । त्यसैले घरमा आउने पाहुनाका लागि खानापिनाको व्यवस्था भन्दा स्वस्थ्यकर चर्पी र पर्याप्त पानीको बन्दोबस्त गर्नु म चाहिँ जरूरी सम्झन्छु । तपाईं यदि कसैलाई माया गरेर खुवाउनु हुन्छ भने उसको स्वास्थ्य राम्रो होस् । ऊ बिरामी नपरोस् भन्ने पक्कै चाहानु हुन्छ ।

तपाईँहरूलाई थाहै होला दिसा चाहिँ नगरी खानामात्र खाएको खाऐ मात्र गर्ने मानिसलाई सर्वप्रथम अजीर्ण रोग लाग्दछ । र मेरो दृष्टिमा कुपोषण मायालाग्दो रोग हो भने अजीर्ण चाहिँ संसारकै सबैभन्दा घिनलाग्दो बिमारी हो । अजीर्णकै कारण मानिसहरू ग्याष्ट्रिक, अल्सर, क्यान्सरादिजस्ता भयानक रोगका चपेटामा पर्ने गर्छन् ।

त्यसैले स्वस्थ्य रहने प्रथम चरणको कार्य दिसापिसाप गर्नुलाई सजगताका साथ प्राथमिकतामा राख्नै पर्छ र अबदेखि कसैलाई भला कुसारी गर्दा ‘चिया खानु भो ?’ ‘खाजा खानु भो ?’ ‘भात खानु भो?’ भनेर सोध्नु अघि ‘दिसापिसाप गर्नु भो ?’ भनेर सोध्ने गर्नुस् । ‘कोरोना काल’मा त अरूका घरमा आतिथि बनिँएन नत आफ्ना घरमा अतिथेय नै बनियो । तर यसपालिको चाडपर्व त हामी नेपालीले कोरोना कोभिड आतङ्क बिर्सिएर धुमधामैले मनायौँ । अर्थात् हाम्रा पेटमा भेटेसम्म र सकेसम्मका परिकार परेका छन् । त्यसैले अब आआफ्ना घर परिवारमा नै भए पनि एक अर्काको ‘दिसापिसाप’का बारेमा खुलेर चर्चा गर्नु होस् । जसले गर्दा परिवारमा कसको स्वास्थ्यको स्थिति के छ भनेर थाहा पाइन्छ । अनि कसले के खान जरूरी छ भन्ने कुरा पनि पत्तो लाग्छ । हाम्रो परिवारमा सबैका लागि एकै खाले खाना पकाउने चलन छ । अझ अधिकांश घरमा अझै पनि महिलाले मात्रै खाना पकाउने प्रचलन छ । सकेसम्म महिलाले घरबाहिर गएर आय आर्जन पनि गरोस् र घरभित्रको काम महिलाले मात्र गरोस् भन्ने गरिब मानसिकताको पितृसत्तात्मक सोचले हामीलाई त्यसभन्दा बाहिर निस्किन दिएको पनि छैन । महिलाहरू राष्ट्रका विविध कार्यक्षेत्रका अधिपति भइसकेको अवस्थामा पनि महिलाले नै मात्र गृह परिचालन गर्नुपर्ने पितृसत्ताको दोषको दोषका कारणले गर्दा पनि अहिले घरपरिवारहरू विच्छिन्न हुन थालेका छन् । बिहे गर्नु अघि डेरामा बसेर आफ्नो भात, भान्सा, लत्ताकपडाआदि सबैको व्यवस्थापन गरिआएको ठिटोले पनि बिहे गर्नासाथ घरभित्रको काममा स्वास्नीकै बाटो हेर्न थाल्छ र दिनदिनै आफूले एक गिलास पानी सारेर खान पनि नसक्ने पङ्गु बन्छ । बरू एकल परिवारमा त लोग्नेले पनि स्वास्नीलाई सघाउने जमर्को गरेको देखिन्छ । तर संयुक्त परिवारमा त छोरोले स्वास्नीलाई काम सघाउन भान्सामा गयो भने पनि छोरोकी आमाले छोरोलाई ‘मेरो छोरो त जोईटिङ्ग्रे भएर बिग्रियो’ भनिदिने गर्छन् । त्यसैले पनि बुहारीले सासू नसहने र सकेसम्मको बुद्धि लगाएर लोग्ने च्यापेर एकल परिवारमा बस्न रूचाउने देखिन्छ । यो पनि छुट्टै विषय हो । कुनै बखतमा यसबारे पनि विषद् चर्चा गरौँला । तर अहिलेको विषय अर्थात् प्रत्येक मानिसको शारीरिक आवश्यकता अनुरूप भोजनमा फरक हुन सक्छ भन्ने कुरामा म पुगेकी थिएँ । त्यसैले अहिले त्यसैबारे केही कुरा गरौँ ।

हरेकले आआफ्नो डाक्टर आफैँ बनेर आफ्नो शरीरले कस्तो खानापिनालाई आफनो पाचन प्रकियाले सहजै पचाउँछ भनेर निदान गर्नु जरूरी छ । सोही स्वनिदानका अनुसार आफ्नो खानाको व्यवस्थापनमा आफूले पनि भान्साघरमा सघाउने बानी बसाल्नु पर्छ । जसले गर्दा हरेक व्यक्तिको स्वास्थ्य गतिलो हुन सकोस्। त्यसैले मानिसले ठूलो घण्ट जोड जोडले बजाएर, ठूलो आवाजमा धेरै मन्त्र पढेर, व्राह्मणलाई दान दक्षिणा गरेर वा लाख बत्ति बालेर धर्म कमाउन सकिँदैन । त्यसो गर्नु भनेको त संस्कारको परिपालन मात्र हो ।

धर्म भनेको चाहिँ आफ्नो शरीरलाई स्वस्थ्य राख्नु हो ।

त्यसै गरि पाप भनेकै उपनिषद्ले ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ भनेर हामीलाई सचेत गराएकै हो । अर्थात् शरीर नै सबै धर्म (कर्त्तव्य) पूरा गर्ने साधन हो । त्यसकारण शरीर स्वस्थ्य राख्नु जरुरी छ । मानिसको पहिलो सुख भनेकै निरोगी काया (शरीर) हो । तर हामी नै धेरै जान्ने र सभ्य भएर अपभ्रंश बुद्धिका भएका छौँ । जसले गर्दा हामी पापी अर्थात् व्याधीधारी भएका छौँ ।

हाम्रो समाजमा यसरी गोप्य राखेर अथवा कसैलाई भन्नै नहुने, भन्दा पनि लाज र शरमले भुतुक्क भइने र कसैले चर्चा गरिहाल्यो भने पनि उक्त व्यक्ति नै निर्लज्ज हुने वर्जितजस्तो विषयलाई नै मैले मेरो लेखनको विषय बनाउनुको अऊचित्य पनि ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ नै हो ।

अहिले हाम्रो शहरमा पनि अस्पतालको सङ्ख्या बढेको बढ्यै छ । मानिसहरू जति रोगी भए अस्पताल चलाउने व्यापारीहरूको धन्धा त्यत्ति नै चल्ने हुनाले मानिस रोगी बनाउने अर्काथरी व्यापारीहरूले किसिम किसिमका प्रदुषित खाद्यकै पनि उद्यम चलाइरहेका छन् । अनि हामी आम मानिसहरू पनि आफ्नो शरीरलाई स्वस्थ्य बनाउने कुरामा भन्दा क्षणिक मनोरञ्जनात्मक खाद्य पदार्थ अथवा एकैछिनको स्वादका पछिल्तिर दौडिरहेका छौँ । यसर्थ हामीले धेरै ठूलाठूला परित्याग गर्न नसके पनि न्युनतम रूपमा आफ्नो शरीरभित्र रहेको हाम्रो भाँडो शुद्ध पारेरमात्र त्यसमा ताजा खाना हाल्ने बानी बसाल्न सकेमात्रै पनि ती अस्पताल चलाउने र अऊषधीको व्यापारमा अरबौँ कुम्ल्याउने अन्तर्राष्ट्रिय र राष्ट्रिय व्यापारीहरूको धन्धामा अलिकति मन्दी ल्याउन सकिने थियो कि भन्ने मेरो आसय हो।

त्यसैले म मेरा सम्पूर्ण पाठक महोदयहरूसँग ‘दिसापिसाप गर्नु भो ?’ भन्ने प्रश्नका साथै अर्को वर्षको चाडपर्वका लागि हाम्रो शरीर शुद्ध बनाऊँ । हामी स्वस्थ्य बनौँ र स्वस्थ्य बन्नका लागि सबैले आआफ्नो भाँडो (पेट) खाली गरेरमात्र फेरि भर्ने कार्य गरौँ भन्ने आग्रह गर्न चाहान्छु ।

आदरणीय पाठक वृन्द ! तपाईँलाई थाहा छ ? दिसापिसापको प्रसङ्ग केवल मानवसँगमात्र सम्बन्धित हुँदैन । सूक्ष्म अर्थमा व्यक्तिसँग सम्बन्धित रहे पनि समग्रमा दिसापिसापको सम्बन्ध मुलुकसँग पनि जोडिएको हुन्छ । जसरी व्यक्तिको दिसापिसापको हिसाब राख्नु पर्छ, त्यसरी नै राष्ट्र कुपोषित छ अथवा राष्ट्रलाइ अजिर्ण भएको छ ? राष्ट्रलाई अजिर्णकै परिणतिमा ग्यास्ट्रिक, अल्सर र क्यान्सरजन्य रोगले ग्रस्त पारेको त छैन ? हरेक नागरिकले राष्ट्रको बारे सोच्नु पर्ने हुन्छ । राष्ट्रले के खाँदै छ ? खाएको कुरा पचाइरहेको छ या छैन ? राष्ट्रका सम्पूर्ण अङ्गहरू स्वस्थ्य हुन सकेका छन् कि छैनन् ? त्यसैले त मेरो विचारमा हामीले हाम्रो राष्ट्रको दिसापिसापको पनि हेक्का राख्न जरूरी छ ।

२०४६ सालको जनआन्दोलनका समयमा कमरेड मनमोहन अधिकारीले उनको एउटा भाषणमा ‘नेपालीलाई विदेशी ऋणले थिचिसक्यो । देशले खाएको ऋण प्रत्येक नेपालीको भागमा वण्डा गर्ने हो भने जन्मना साथका नेपाली शिशुका भागमा ३ करोडको बोझ छ ‘ भनेको सुनेकी थिएँ । अहिले प्रजातन्त्र, लोकतन्त्र हुँदै हाम्रो देश गणतन्त्रमा पनि अन्तिमचरण तिर पुगिसकेको देखिँदै छ । कमरेड अधिकारीले दुईसय सांसदले तलब भत्ता खाँदाको हिसाब छसय एक हुँदै अब त केन्द्रीय सरकारको मात्र नभएर प्रान्तीय सरकारको समेत बोझ नेपालीले नै बोक्ने दिन आएको छ । २०४६ साल पछि विदेशी अनुदानबाट स्थापना भएका उद्योग र कल कारखाना पनि कौडीको मोलमा बेचिएका थिए । भनेपछि अहिले विदेशी ऋणको भार हाम्रा नवजात शिशुको भागमा समेत कति पर्दो हो ? मलाई आँकडा थाहा भएन । देशमा भरमार अर्थवीज्ञहरू छन् । यसको जिम्मा उनीहरूलाई नै दिन्छु ।

अर्थात् देशले पनि खाएको खाऐ देखिन्छ । जसले गर्दा देशको भूँडीमात्रै ठूलो भएको छ । भुँडी अर्थात् नेतृत्व तहमा बसेर राज्यको अर्थ दोहन गर्नेहरूमात्र एकोहोरो मोटाएका छन् । खाएको पचाएमा देशका सबै अङ्ग प्रत्यङ्ग स्वस्थ्य भएर देशको विकास हुने थियो । तर देशको भूडीमात्र बढिरहनाले देशलाई पनि ग्यास्ट्रिक, अल्सर र क्यान्सर नै भइसकेको अनुमान सहजै गर्न सकिन्छ ।

के त देशलाई पनि दिसापिसाप गराउन जरुरी छैन त ?

अब हामीले अजिर्ण भइरहेको देशका बारेमा पनि सोच्नै पर्ने भएको छ ! देशको भूडीमात्र एवम् रीतले बढिमात्र रह्यो भने देशलाई नै खतरा छ । त्यसैले देशले के खाँदैछ ? किन खाँदैछ ? के खानु पर्ने थियो ? देशले किन, कति र कसरी खानुपर्छ भन्ने प्रश्नको लेखाजोखा पनि आम नागरिकसँग हुनुपर्छ । अन्यथा देश सङ्क्रमित र रोगी हुन जान्छ । देशले कति खानुपर्ने हो र कति खाइरहेको छ ? पचाउन सकेर देशका सम्पूर्ण अङ्ग प्रत्यङ्गको स्वस्थ्यकर रूपमा समानुपातिक विकास भइरहेको छ कि छैन ? अथवा दैनिक भूडी ( सरकारी भ्रष्ट तन्त्र) मात्र बढिरहेको त छैन ? अर्थात् देशको पाचन प्रणाली ठीक छ कि छैन ? आम नागरिकले नै हेक्का राख्नु पर्छ । किनभने देश विरामी हुँदा त्यसको प्रत्यक्ष असर आम नागरिकलाई नै पर्ने हो । त्यसैले सोध्ने बेला बित्नै लागेको छ । नसोधे पछुताउनु पर्ने छ । अब हरेक नेपालीले देशलाई पनि सोध्नै पर्छ ‘दिसापिसाप गर्नु भो ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी