लक्ष्मीप्रसाद देवकोटा नारीजातिलाई धुमधामैले आदर गर्थे । उनको मनले सधैँ नारीजातिको पूजा गरिरह्यो । उनी पृथ्वीमा सबैभन्दा मनोहर फूल नै नारीलाई देख्थे । उनी सभ्यतालाई नै स्त्रीसँग दाँज्थे । यस विषयमा उनले लेखे पनि— “सभ्यता भन्नु स्त्रीको आदरमा निर्भर छ ।” उनी स्त्रीलाई दुःख दिने मान्छेलाई पशु ठान्थे । त्यति मात्र होइन, उनले यस विषयमा पनि कलम बढाए— “स्त्रीलाई दुःख दिनुभन्दा ठूलो पातक दुनियाँमा अर्को देखिँदैन ।”
देवकोटाले नरनारीका विषयमा पनि धेरै चासो राखे । यसबारे उनले आफ्नो अनुभव पनि लेखे र उनको लेखाइअनुसार “स्त्रीपुरुषको यौनसङ्गति उच्च र उत्तेजित, उपयोगी रहनुभन्दा संसारमा अर्को ठूलो वस्तु छैन ।” वास्तवमा देवकोटाले स्त्रीमा डुबेर पनि धेरै रचनाको सृजना गरे । किनभने उनी पृथ्वीमा स्त्रीजातिदेखि पर केही देख्तैन थिए । उनी भन्थे, “कलाको ज्योति स्त्रीबाटै झुल्केर बलेर आउँछ ।”
..
देवकोटाको बिहे किशोरावस्थामा नै भएको थियो । त्यति बेला उनी सङ्कोच मानीमानी पत्नीप्रेममा हुर्केका थिए । उनकी पत्नी उज्याली थिइन्, कोमलाङ्गी थिइन् र हेर्दा पनि बिछट्टै राम्री थिइन् । उनले मनदेवीलाई बिहे गरेपछि धुमधामैले प्रेम गरे । त्यसैले उनले दाम्पत्यप्रेमको प्रगाढता दर्शाएर ‘मुनामदन’ लेखे । यौनाकाशमा हुर्किरहेको बेला पनि यस संसारमा आफ्नी पत्नीभन्दा असल र सुन्दरी नारी उनी कोही देख्तैनथे । पत्नीविना उनी एक छिन पनि घरमा बस्तैन थिए । कतिसम्म भने उनकी पत्नी मनदेवीले नै उनको कपाल दिनदिनै कोरिदिनुपथ्र्यो र उनलाई दिनदिनै लुगा लगाइदिनुपथ्र्यो । मनदेवीले नै देवकोटाको छालाको जुत्ता पालिस लगाएर टल्काइदिनुपथ्र्यो र मोजाजुत्ता पनि उनैले नै लगाइदिनुपथ्र्यो ।
देवकोटा आफ्नो निवासबाहिर निस्कने वेलामा उनकी पत्नी मनदेवीले उनको बिदाइको साइत गरिदिनुपथ्र्यो । उनी बाहिर निस्कँदा सधैँ उनकी पत्नीले उनका अगिअगि लागेर घरको मूलदैलोबाहिरसम्म निस्कनुपथ्र्यो; अनि मात्रै देवकोटा आफ्नो साइत ठान्थे । हिँड्ने बेलामा उनी पत्नीसँग छुट्टिन मान्दैनथे; भनौँ देवकोटा आफ्नी पत्नी छाड्न चाहँदैन थिए । उनी चेतनामा रहुन्जेल पत्नीका प्रेमकै पुजारी हुन्थे । हरेक दिन घरबाहिर निस्केर पत्नीसँग बिदा हुने बेला देवकोटा आफ्नी पत्नीसँग निक्कै बेरसम्म आँखा जुधाइरहन चाहन्थे । कहिलेकाहीँ त समयले फट्का मारेको पनि उनले बिर्सन्थे । त्यसैले उनकी पत्नीले जबरजस्ती उनलाई बिदा गर्थिन् । वास्तवमा देवकोटा आफ्नी पत्नीको मुख हेरेर कहिल्यै अघाउँदैनथे । यसै विषयमा नित्यराज पाण्डेले लेखेका छन्— “ल जानुहोस्, मैले ढोका बन्द गरेँ” भनेर मनदेवी आफ्नो घरभित्र पसेपछि मात्र देवकोटा लुरुलुरु आफ्नो काममा हिँड्ने गर्थे ।
देवकोटा घरबाट बाहिर जाने बेला मनदेवीलाई अँगालो मार्थे र धीत मरुन्जेल चुम्बन गर्थे । वास्तवमा त्यस घडी मनदेवी उनकी विश्वपे्रम थिइन् । यसै सिलसिलामा देवकोटा दम्पतीकी कान्छी छोरी मुनाले भनिन्, ‘‘मेरा बुबा बाहिर निस्कने बेलामा मेरी आमाको गालामा चुम्बन गरेको मैले धेरै चोटि देखेँ । मेरा बुबा घरमा पस्ता पनि पहिला मेरी आमाका गालामा चुम्बन गर्नुहुन्थ्यो । उहाँहरूको जस्तो प्रेम मैले कसैको देखेकी थिइनँ ।’’
..
देवकोटा स्कुले जीवनदेखि नै कुर्कुरे बैँसले रापिएका थिए । चूडामणि बन्धुका अनुसार त्यसै बेलादेखि उनी आफ्ना साथी फणीन्द्रप्रसाद लोहनीसँग सेक्स र प्रेमका विषयमा कुरा गरेर उत्ताउलिन्थे । तर उनको केटीपट्टिको झुकाव पनि शिष्टताको नमुना नै हुन्थ्यो । त्यस बेलाको उनको उत्ताउलोपनाभित्र पनि कलात्मकता र सौन्दर्य भेटिन्थ्यो ।
देवकोटा पटना विश्वद्यिालय पढेताका त्यस कलेजमा केटीहरू पढ्दैनथे । पटनामा पढ्दा उनी केटीविहीन कलेजमा पढे । वास्तवमा केटी नपढ्ने कलेज उनका लागि नीरस थियो । त्यसपछि तेस्रो वर्षमा बिहारका इन्कमट्याक्स कमिसनरकी छोरी सुरानी चटर्जी त्यस कलेजमा पढ्न थालिन् । उनी मोटरबाट कलेज आउँथिन् र मोटर चढेर नै कलेजबाट बाहिरिन्थिन् । चटर्जीको शारीरिक रूप, रङ्ग, जीउडाल, सौन्दर्य र हिँडाइको देवकोटा आफ्ना साथीहरूसँग वणर्न गर्थे । वास्तवमा उनी प्रकृतिप्रेमी थिए । त्यस बखत उनको मन खोलिने साथीहरूमा शङ्करदेव पन्त र चन्द्रबहादुर श्रेष्ठ थिए । सुश्री चटर्जीको कलेज प्रवेशपछि देवकोटाले विशेष गरी प्रेमविषयक कविता लेखेर साथीहरूलाई देखाउँथे ।
पटना विश्वविद्यालयमा बीएल.पढेताका देवकोटाले आफ्नो बैँसलाई स्वतन्त्र छाडेका थिए । त्यस बखत उनी पटनाको मुजरा सुनाउने वेश्याकोठी पनि पुगे । कोठीभित्र पस्नेबित्तिकै उनलाई “अदाब ए हजुर !” भनेर सर्वप्रथम एउटी बडी सुन्दरीले स्वागत गरिन् । पछि उनले ती सुन्दरीको नाउँ मुमताज भएको थाहा पाए । त्यस वेश्याकोठीमा दस रुपियाँ तिरेर मात्र प्रवेश पाइन्थ्यो । तर त्यस्तो ठाउँमा पस्न उनी पन्ध्र रुपियाँसम्म पनि तिरिदिन्थे । त्यस ठाउँमा यौनरापले झपक्क भएकी पच्चीसवर्षीया मुमताजसँग देवकोटा सुरुकै दिन आकर्षित भए । सुन्दरी मुमताज सौम्य थिइन् र आकर्षक व्यक्तित्वले समेत कुँदिएकी थिइन् । उनी स्वर र नृत्यकी पनि जादुगरनी थिइन् । त्योभन्दा अघि राम्री युवतीले त्यति राम्रो गीत गाएको र नाचेको देवकोटाले देखेका पनि थिएनन् । त्यसैले उनी त्यस बेला मुमताजको आकर्षणमा टिमिक्कै बाँधिएका थिए । त्यति बेला देवकोटालाई मुमताजसँग अँगालो मारेर चुम्बन गर्ने रहर थियो । त्यसैले उनी त्यस ठाउँमा धेरैधेरै पटक धाए । तर पनि धनको अभावका कारणले उनले मुमताजलाई आपूmले चाहेअनुरूप अँगाल्नचाहिँ सकेनन् र म्वाइँसम्म पनि खान पाएनन् ।
देवकोटाले आफ्नो रुचिअनुसार लखनौसम्म पुगेर बुर्कावालीहरू पनि हेरे । उनले त्यसै बखत बनारसमा गएर पनि सुन्दरीहरूको पारख गरे । उनले त्यहाँ कोठीकोठी पुगेर नर्तकीहरूको नाच हेरे । वास्तवमा कतैकतै उनी सुरा र सुन्दरीमा पनि लोभिए । त्यसैले उनले वेश्यावृत्ति र रण्डीकोठीको वणर्नमा पनि कविता लेखे । उनी आपूmले भोगेको, देखेको र सुनेका कुराका आधारमा हार्दिक सहज पारामा आफ्ना अनुभूति लेख्थे ।
..
दार्जिलिङमा सुरुमै देवकोटालाई देवकुमारी सिन्हाले भेटेकी थिइन् । त्यस बखत त्यहाँ नेपालबाट त्रिमूर्ति नै गएका थिए । त्रिमूर्तिमध्ये लेखनाथ पौड्याल र बालकृष्ण समभन्दा देवकोटाको आकर्षक व्यक्तित्व, वाक्शैली र कविताबाट देवकुमारी लठ्ठ परिसकेकी थिइन् । त्यसैले देवकुमारीले उनीहरूका सम्मानमा रात्रिभोजको आयोजना पनि गरिन् । त्यस बेला उनले देवकोटालाई मन पर्ने गरी मासुको परिकार बनाएकी थिइन् । त्यसै प्रसङ्गलाई लिएर देवकुमारीले लेखिन् पनि “देवकोटाज्यूले पहिला कुखुराको रोस्ट हातले टिपेर मर्याकमर्याक चपाएर खानुभयो र भन्नुभयो, ‘आहा बहिनी ! के मीठो सेकुवा बनाउनुभएछ !’ कति सरल र कति स्वाभाविक थिए महाकवि ! म गद्गद भएँ ।”
देवकोटा बराबर दार्जिलिङ जान्थे । त्यसको कारण बुझ्दै जाँदा दार्जिलिङकी परी देवकुमारी नै प्रमुख कारक थिइन् । त्यति बेला देवकोटाले गणेशकवि पं.श्यामदास वैष्णवलाई भन्थे, “श्याम ! मलाई दार्जिलिङमा राम्रो लाग्ने कुरा के हो म तिमीलाई भनौँ ? देवकुमारी भन्ने ठिटी मलाई अत्यन्तै मन परी ।” त्यस बेला अरूले पनि भन्थे देवकोटा देवकुमारीको आकर्षणमा परे । वास्तवमा त्यसै बेला देवकोटाले पनि देवकुमारीको अटोमा लेखेका थिए, “तनकी सुन्दरी, मनकी सुन्दरी, देवकुमारी !” देवकुमारीले पनि देवकोटाको यो अक्षर सधैं प्रदर्शन गरिरहिन् ।
देवकोटाले मन पराएकी विदुषी देवकुमारी देवकोटालाई भेट्ता भुतुक्कै हुन्थिन् । देवकोटा दार्जिलिङ पुगेपछि उनी मख्खै पर्थिन् । त्यसैले उनी पछिसम्म पनि भन्थिन्, “महाकवि साँच्चै मृत्युनिवारण, रोगनिवारण गर्न सक्ने पुरुष थिए ।” देवकुमारीले पछिसम्म नै देवकोटालाई “मेरो किशोरावस्थाको नायक” भनिरहिन् ।

लेखकःनरेन्द्रराज प्रसाई
देवकोटा देवकुमारीबाट प्रफुल्लित थिए । साथै उनले देवकुमारीलाई भित्री हृदयदेखि नै मन पराएका थिए । अनि एक दिन उनले देवकुमारीसामु गएर आफ्नो मन खोले, “बहिनी, म यहीँ बस्छु र यतै अध्ययन गर्छु । उता नेपालमा पढ्ने किताब पाइँदैन; मलाई राख्नुहुन्छ ?” त्यस प्रस्तावको प्रत्युत्तरमा देवकुमारीको मीठो वाक्य देवकोटाका कानमा सिउरिन पुगेको थियो, “त्यो त मेरो सौभाग्य हुनेछ ।”देवकोटा केही वर्षपछि फेरि दार्जिलिङ गए । त्यति बेला उनी आफ्नो छोरो पद्मप्रसादलाई लिएर त्यहाँ गएका थिए । उनका दुई छोराको निधनपछि उनले पद्मप्रसादलाई प्रायः छाड्दैन थिए । त्यसै क्रममा उनी सरासर देवकुमारीका घरमा पुगे । अनि उनले देवकुमारीलाई भनेका थिए “मलाई धेरै ठाउँमा जानु छ, तपाईंको छोरा यहीँ बसोस् है ?” वास्तवमा देवकोटाले दार्जिलिङमा धेरै स्रष्टाका माझ देवकुमारीलाई विश्वास पनि गरेका थिए । साथै उनले आफ्ना काममा देवकुमारीबाट झर्कोफर्को पनि हुँदैन र उनीबाट सघाउपघाउ पनि हुन्छ भन्ने बुझेका थिए ।
देवकुमारी तरुनी भएपछि उनको यौवनावस्थाको वणर्न नगर्ने कोही थिएनन्, किनभने उनी सुन्दरी थिइन् । उनको शरीरको सुन्दरतामा देवकोटा पनि मोहित थिए, सिद्धिचरण पनि भुलेका थिए र भवानी भिक्षु पनि हुरुक्कै भएका थिए । भिक्षुले त देवकुमारीसँग दाम्पत्य जीवन कस्न नै कम्मर कसेका थिए । तर भिक्षुसँग बिहे गर्ने देवकुमारीको इच्छा भएन । देवकोटाले भने देवकुमारीसँग आँखा, मन र मस्तिष्क मात्रै जोडे । उनले प्रेम र विवाहजस्तो विषयको प्रस्ताव राखेर आपूm एक फुटमुनि ओर्लन चाहेनन् । त्यसैले देवकुमारी थापाले पनि जीवनभरि देवकोटाको वन्दना गरिरहिन् र उनलाई महापुरुष मात्र भनिरहिन् ।
..
देवकोटाले नारीजातिलाई विशेष माया गरिरहे । उनी जहाँ जाँदा पनि नारीकै प्रसङ्ग झिक्थे । उनी जे सुन्थे, भोग्थे र गर्थे त्यो पनि लेख्थे । लेख्ने क्रममा उनले रण्डीलाई लास पनि लेखे । उनले ‘रण्डीको नाच हेर’ पनि लेखे । उनको भाषामा ‘रण्डी’ शब्द पनि मुलायम हुन्थ्यो । किनभने उनले नारीजातिलाई होच्याएर रण्डी लेखेनन्; रण्डीलाई उनले केवल प्रतीक र पदको दृष्टिकोणले मात्र लेखे । उनी सुन्दरीप्रति आकर्षित हुन्थे र कसैले फलानीलाई हेर्न जाऊँ भन्नेबित्तिकै पछि पनि लाग्थे । ‘‘स्त्री भनेको यस्तो चीज हो; जसलाई जातिले पूजा गर्नुपर्दछ । जिउन्जेल आदर, प्रेम र संरक्षणका साथ समाजमा उचित स्थान दिएर जातीय दौलतका स्वरूपमा राम्रो कदर गरेर राख्नुपर्दछ’’ भन्ने मान्यता पनि देवकोटाले दिए ।
..
देवकोटा एकपटक सोभियत रूसमा जाँदा त्यहाँका गोरा छालामा पनि चिप्ले भन्ने हल्लाले काठमाडौँको बौद्धिक गिदीलाई छोएको थियो । त्यस बेला देवकोटाले गोरा छालाको स्पर्श गरे भन्ने अड्कल काट्नेमध्ये गणेशकवि पं. श्यामदास वैष्णव पनि एक थिए । त्यसैताका देवकोटाले रूसबाट एउटी सुन्दरीको फोटो ल्याएर आफ्ना भान्जा पद्मनाथ पौड्याललाई पनि देखाउँदै भनेका थिए ‘‘भान्जा ! एउटी रसियन सुन्दरीको फोटो हेर्छौ ? लौ हेर ।’’ वास्तवमा देवकोटा रसिकका पनि एउटा प्रतिनिधि मानिन्थे ।
देवकोटाले लेखेका स्त्रीहरूको बयानभन्दा उनलाई वणर्न गर्ने स्त्रीहरूको पनि पृथ्वीले अस्तित्व बोकेको छ । देवकोटा सोभियत रूसमा जाँदा त्यहाँकी महाप्राज्ञ ल्यूदमिला आगानीनाले उनको सेवा, सत्कार र श्रद्धा गरिन् । आगानीनाले नै उनले लेखेका अङ्ग्रेजी भाषाका रचनाहरूलाई रसियन भाषामा अनुवाद गरिदिन्थिन् । सोभियत सङ्घको कजाकस्थानको स्थानीय भाषामा विद्यावारिधि लिइसकेकी आगानीनाले देवकोटालाई रसियन भाषा पनि सिकाइन् । त्यति मात्र होइन, देवकोटाकै धाराप्रवाह भाषण सुनेर अनि लेखरचना पढेर उनले नेपाली साहित्यमा महाविद्यावारिधि गर्छु भन्ने भीष्मप्रतिज्ञा गरिन् । अनि उनले देवकोटासँग प्रेमपूर्वक आशीर्वाद लिएर ‘आधुनिक नेपाली काव्यमा मानिस, समाज र धर्म’का विषयमा महाविद्यावारिधि गरीकन छाडिन् ।
डा. ल्यूदमिला आगानीनाले बाँचुन्जेल देवकोटालाई साहित्यिक तर्पण दिइरहिन् । उनैका कारण सोभियत रूसका स्रष्टा र बौद्धिक जगत्ले देवकोटाको श्रद्धा, सम्मान र आदर गर्छन् । देवकोटाकै कारणले आगानीनाको जीवनको अधिकांश भाग नेपाली साहित्यको अध्ययनमा नै परिचालित भयो ।
..
देवकोटाको मनलाई वशीभूत पार्ने विषय स्त्रीजाति पनि मानिन्थे भने उनी मनोरञ्जनका लागि पनि नारीछेउ पुग्थे । यसै परिवेशमा कुनै एक दिन देवकोटा सुन्दरी र वेश्या हेर्न बनारसको दालमण्डी बजारमा पनि पुगेका थिए । त्यहाँको वेश्यालयको झ्यालबाट सुन्दरी वेश्याहरूले रुमाल हल्लाईहल्लाई युवकहरूलाई बोलाएको पनि देवकोटाले देखे । त्यो निमन्त्रणा उनका लागि पनि आकर्षक बन्यो । देवकोटाले त्यहाँका सुन्दरी वेश्याहरूको सम्मानमा ‘एक सुन्दरी वेश्याप्रति’ शीर्षक कविता उच्च स्नेहका साथ लेखे ।
..
काठमाडौँ सहरको खिचापोखरीकी विष्णुमाया श्रेष्ठले पनि देवकोटासँग प्रीति गाँसिन् । विष्णुमायालाई घरमा सानीनानी भनिन्थ्यो । देवकोटा सुश्री श्रेष्ठलाई भेट्न प्रायः खिचापोखरी धाउँथे । सुश्रीले चाहिँ देवकोटासँग पैसा थुत्न प्रेमको अभिनय गरिन् भन्ने मान्छे पनि भेटिए । तर देवकोटाले साँच्चै नै विष्णुमाया श्रेष्ठलाई माया गरे । देवकोटाले विष्णुमायालाई समर्पण गरेर एउटा कविता पनि लेखे ।
देवकोटाको स्त्रीमोहका विषयमा धेरै ठाउँमा धेरै कुरा र टीकाटिप्पणीहरू सुनिए । एकपल्ट राति रानीपोखरीतिर उनलाई समाउने पुलिसले समेत ‘रण्डीखानाबाट आइस्’ भन्ने बात लगाएको बयान उनीसँगै समातिएका देवकोटाका भान्जा कोमलनाथ पौड्यालले पनि गरेका थिए ।
देवकोटाको स्त्रीमोहका सन्दर्भमा अर्को प्रसङ्ग पनि छ— ‘‘धोबीधाराको छेउछाउमा मगर्नी हो कि नेवार्नी हो, एउटी परमसुन्दरी षोडशी थिइन् । ती केटीको नाउँ नानीमैयाँ थियो । अनि तिनीसँग सहोदर दाजुभाइ अर्थात् लक्ष्मीप्रसाद र मधुसूदनको तँछाड र मछाडको प्रेमसम्बन्ध थियो । जसको फलस्वरूप दुई दाजुभाइका बीच एक दिन घरैमा निक्कै नराम्रोसित झगडा हुँदा आमा अमरराज्यलक्ष्मीले सम्झाउन नसकी रोइएकी थिइन् । ती केटीसँग देवकोटाको प्रेम थियो । सौन्दर्यकी प्रतिमूर्ति ती केटीलाई सामु राखेर तिनीउपर कवितैकविता लेख्ने देवकोटाको मनसाय थियो ।
देवकोटा एकातिर अर्धनारीश्वरका पुजारी थिए भने अर्कातिर नारीजातिलाई पुरुषका शक्तिका रूपमा मान्थे । पुरुष र नारीको संयोग नै सौन्दर्यसृष्टिको सूत्र र निरन्तरता हो भन्ने सत्यसँग देवकोटाले साक्षात्कार गरेका थिए । नेपाली समाजले नारीजातिलाई उचित मूल्य प्रदान नगरेका कारण पनि उनी पुरुषको भन्दा नारीको महत्ताप्रति सचेत थिए ।
• साभार : देवकोटाको जीवनशैली (२०६६)